गठबन्धनको भविष्यः के भनिरहेका छन् कांग्रेस र माओवादी नेताले ?

अमेरिकी सहयोग परियोजना संसदबाट अनुमोदन गर्ने विषयमा खटपट देखिएर विघटनको डिलमा पुगेको सत्तारुढ गठबन्धनमा फेरि किचलो देखिएको छ । एमसिसीमा अन्तिम समयमा सत्तारुढ दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि पक्षमा मत हालेका थिए । त्यति बेला यी दुई दलले पहिले एमसिसीको विपक्षमा जाने अडान लिए पछि सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले गठबन्धन फुटाएर भए पनि आफूले अगाडि बढ्ने संकेत गरेको थियो । 

स्थानीय निर्वाचनको माहोला तातिरहँदा फेरि यो सत्तारुढ गठबन्धनमा फुट हुनसक्ने सम्भावना बढ्दै गएको हो । पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमा गरेका सम्बोधनहरुमा आफूहरु गठबन्धन फुटेको सन्दर्भमा पनि बलियो भएर अगाडि बढ्नु पर्ने अभिव्यक्ति दिइरहेका छन् ।

बिहीबार लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पुगेका दाहालले अहिले कांग्रेसका केही नेताहरु अतिवादी भएको बताएका थिए । उनले यस्तो परिस्थितिमा गठबन्धन कायम नहुन सक्ने र चुनावी तालमेल अर्को पार्टी नेकपा एमालेसँग पनि हुनसक्ने बताएका थिए ।

‘एमालेसँग तत्काल कुनै छलफल भएको छैन तर कांग्रेसमा केही अतिवादी नेता छन्,’ उनले भनेका थिए, ‘उनीहरुकैै कारणले कांग्रेसले लखेट्न खोज्यो भने के हुन्छ भन्न सकिँदैन ।’ उनले राजनीतिमा केही पनि असम्भव नभएको प्रतिक्रियासमेत दिएका थिए ।

कांग्रेसमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाबाहेकका नेताहरुले स्थानीय तहमा गठबन्धन गरेर जाँदा कांग्रेसलाई बेफाइदा हुने अभिव्यक्ति दिइरहेका छन् । तर, कांग्रेस सभापति देउवाले चाहिँ आगामि तीनै तहका निर्वाचनमा गठबन्धन कायम रहने आश्वासन प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई दिएका छन् ।

देउवाले २९ फागुनबाट सुरु भएको कांग्रेसको चुनावी अभियान सकिएपछि यस विषयमा पार्टीमा छलफल गरेर निर्र्णय लिने प्रचण्ड र नेपाललाई बताएका हुन् । तर, कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापा, उपाध्यक्ष धनराज गुरुङ, कांग्रेस नेताहरु शेखर कोइराला, मिनेन्द्र रिजाल, प्रदीप पौडेललगायतले अबका निर्वाचनमा कांग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्न नहुने बताउँदै आएका छन् ।



कांग्रेसमा प्रधानमन्त्री देउवाका विश्वास पात्र मानिने दुई मन्त्री गृहमन्त्री बालकृष्ण खाँण र सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने गठबन्धन कायम रहने बताउँदै आएका छन् । यसका लागि उनीहरुले प्रदेश र संघमा प्रतिशतकै आधारमा तालमेल भए पनि स्थानीय तहमा आवश्यकताका आधारमा गठबन्धन हुने बताउँदै आएका छन् । 

उता, कांग्रेसमा शेखर कोइराला पक्षधर नेताहरुले दिएको अभिव्यक्तिलाई लिएर नेकपा माओवादी केन्द्रका नेताहरुले असन्तुष्टि जनाइरहेका छन् । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले कांग्रेसका नेताहरुले पछिल्लो समय माओवादी केन्द्रलाई हेपिरहेको संज्ञा गर्दै यस्तो नगर्न चेतावनीसमेत दिएका छन् । 



उनले पाँच वर्षका लागि सडकमा पछारिएको कांग्रेसलाई आफूहरुले सत्तामा पु¥याएको टिप्पणी मात्र गरेका छैनन्, कांग्रेसका केही नेतामा सत्तामा पुगेपछि उन्माद देखिएको समेत बताउँदै आक्रोश पोखेका छन् ।

उनले सार्वजनिक टिप्पणीमा हेप्न र अपमान नगर्न चेतावनीसमेत दिएका छन् । 

यो परिस्थितिले पछिल्लो समय फेरि गठबन्धनमा खटपट सुरु भएको संकेत गर्ने नेपाली कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् । ‘स्थानीय तहको निर्वाचनको विषयलाई लिएर पछिल्लो समय फेरि गठबन्धनमा मतहरु बाझिन थालेका छन्,’ उनले फरकधारसँग भने, ‘यस्तै अवस्था रहने हो भने स्थानीय तह मात्र होइन कुनै पनि निर्वाचनमा गठबन्धनअनुसार अगाडि नबढ्न सकिन्छ ।’ उनले यो गठबन्धन निर्वाचनको सुनिश्चितता र प्रतिनिधिसभाको पूर्ण कार्यकालका लागि बनेकाले चुनावमा गठबन्धन गर्नै पर्ने सर्तहरु अगाडि नआउने पनि बताएका छन् ।

‘स्थानीय तहमा आवश्यकताका आधारमा एमालेसँग पनि कांग्रेसको तालमेल हुनसक्छ,’ उनले भने, ‘यसको अर्थ कांग्रेसले अब एमालेसँग गठबन्धन नै गर्छ भन्ने चाहिँ होइन ।’

कांग्रेस नेताहरुबाट यस्ता अभिव्यक्ति आइरहँदा पछिल्लो समय के माओवादी केन्द्र र नेकपा एमालेको तालमेल हुनसक्ने सम्भावना बढेको हो त ? हामीले यही प्रश्न नेकपा एमालेका एक स्थायी कमिटी सदस्यलाई गर्यौँ । उनले भने, ‘यो सम्भव नै देखिँदैन, हामी निर्वाचनमा एक्लै जान चाहन्छौँ, एक्लै गएर जनताको विश्वास जित्न चाहन्छौँ ।’

  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार १०:५५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया