विश्वकप लिग-२ मा युएईको सामना गर्दै नेपाल, सुध्रिएला ब्याटिङ ?

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज युएईको सामना गर्दैछ । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ ।

आज युएईलाई हराउँदै नेपाल सिरिजमा दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई २ विकेटले हराएको नेपाल दोस्रो खेलमा युएईसँग ४८ रनले पराजित हुन पुग्यो । 

जारी सिरिजमा नेपालले ब्याटिङमा सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । सिरिजमा रोहितकुमार पौडेलबाहेक अन्य नेपाली ब्याटरले अर्धशतकीय पारी खेल्न सकेका छैनन् । 

तेस्रो खेलमा युएईलाई हराउने हो भने नेपालको ब्याटिङ चल्न आवश्यक छ । हुन त युएईका ब्याटर पनि जारी सिरिजमा चम्किँन चुकिरहेका छन् । उसका लागि रोहन मुस्तफाबाहेक अन्य ब्याटरले सन्तोषजनक प्रदर्शन गर्न सकिरहेका छैनन् ।

खराब लयमा रहेका युएईका ब्याटरलाई सस्तैमा आउट गर्दै नेपाललाई जित निकाल्ने मौका पनि छ । गत शुक्रबार भएको खेलमा पनि नेपालले बलिङमा शानदार प्रदर्शन गरेको थियो । आज युएईलाई हराउने हो भने बलिङमा नेपालले सोही लय कायम राख्न आवश्यक छ ।  

सिरिजमा आफ्नो अन्तिम खेल खेल्न लागेको युएई तेस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा पिएनजीलाई ७ विकेट तथा दोस्रो खेलमा नेपाललाई ४८ रनले हराएको युएई तेस्रो खेलमा भने पिएनजीसँग ६ विकेटले पराजित भयो । 



नेपाल र युएई एकदिवसीय अन्तर्राष्ट्रियमा पाँचपटक आमनेसामने भएका छन् । जसमा नेपालले युएईलाई २ खेलमा हराएको छ । लिग–२ मा ७ टोली सहभागी छन् । १० खेलमा १० अंक जोडेको नेपाल छैटौं स्थानमा रहँदा युएई १७ खेलमा २० अंकका साथ दोस्रो स्थानमा छ ।  

तेस्रो खेलमा नेपालले प्लेइङ–११ मा केही परिवर्तन गर्ने सम्भावना छ । आज नेपालले सागर ढकाल र कमलसिंह ऐरीलाई विश्राम दिएर भीम सार्की र पवन सर्राफलाई अवसर दिन सक्छ । सागरले दुईमा खेलमा सन्तोषजक प्रदर्शन गर्न सकेनन् । 



साथै, कमलले पनि पछिल्लो खेलमा लय भेटाउन सकेनन् । तेस्रो खेलमा कोच र कप्तानले उनीहरूलाई बेन्चमा राखेर भीम र पवनलाई प्लेइङ–११ मा समावेश गर्न सक्छन् । यदि आज भीमले मौका पाए अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने छन् । उनी र पवन पार्टटाइम बलिङ पनि गर्न सक्छन् । 

युएईविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकीपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ शेख, भीम सार्की, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान) र पवन सर्राफ । 

  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार ७:५९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया