युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल आगामी १ जुनमा इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने भएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए)ले इटाली र अर्जेन्टिनाबीचको ‘फाइनलिसमा’ खेल स्थानीय समय अनुसार राति पौने ८ बजे वेम्बलीमा हुने जानकारी दिएको हो ।
युइएफए र दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल)को सम्झौता अनुसार यो खेल हुन लागेको हो ।
खेलको निर्धारित ९० मिनेट बराबरी भए सिधै टाइब्रेकरमार्फत् खेलको निर्णय लिइनेछ । फुटबल विकासका लागि फरक देश, महादेश र संस्कृतिलाई एक स्थानमा ल्याउने जमर्को गर्दै २९ वर्षपछि पुनः खेल गर्न लागिएको युइएफएले जनाइएको छ ।
पछिल्लोपटक सन् १९९३ मा भएको खेलमा अर्जेन्टिनाले डेनमार्कलाई पेनाल्टीमा हराएको थियो । त्यसअघि सन् १९८५ मा फ्रान्सले उरुग्वेलाई पराजित गरेको थियो ।
इटालीले इंग्ल्यान्डलाई हराएर युरो २०२० को उपाधि उचालेको हो । वेम्बलीमा भएको फाइनलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएको थियो ।
ब्राजिलमा भएको कोपा अमेरिकामा अर्जेन्टिनाले घरेलु टोलीलाई १-० ले हराएर उपाधि जितेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।