कांग्रेसभित्र यसरी पकड जमाउँदै छन् गगन थापा
फाइल तस्वीर

कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीसमेत रहेका पार्टीका युवा नेता गगन थापालाई निकै महत्वपूर्ण जिम्मेवारी सुम्पिएका छन् । 

स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक जस्तो महत्वपूर्ण जिम्मा दिएर थापालाई अगाडि बढाएका हुन् । 

पार्टीको १४ औँ महाधिवेशनबाट थापा महामन्त्री बनेपछि प्रधानमन्त्रीसमेत रहेका देउवाले उनलाई पार्टी र सरकारका महत्वपूर्ण बैठकहरूमा सहभागी गराउँदै आएका छन् । 

युवा नेतालाई अगाडि बढाएपछि जनताले पनि विकास र समृद्धिको अपेक्षा गरेका छन् भने राजनीतिमा आफ्नो प्रतिनिधि निर्णायक बन्न पाएपछि उत्साह थपिएको युवा नेताहरू बताउँछन् । 

देउवाले थापालाई अगाडि बढाउने क्रममा अहिले पार्टीको अत्यन्तै महत्वपूर्ण जिम्मेवारी सुम्पिएका छन् । 

स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्रमा पार्टीको नीति, योजना र कार्यदिशा समेटिने कांग्रेस नेता मीन विश्वकर्माले बताए । 



पार्टीको नीति योजना र कार्यदिशा नै थापाले बनाउने जिम्मा पाउनु भनेको पार्टी नेतृत्व हाँकेसरह नै हुन्छ । 

थापा संयोजक रहेको समिति गठनबारे आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल हुने नेता विश्वकर्माले बताए । 



करिब २० जनासम्म सदस्य संख्या रहनेगरी थापाले समिति गठन गर्ने कांग्रेसले जनाएको छ । 

जनताको माझमा दिन खोजेको सन्देश, अहिलेसम्म गरेका कामहरू, विकासका आधार र कार्यक्रम, मुलुकको समृद्धि र जनताको आवश्यकता, समस्या र पार्टीले जनतासमक्ष गर्ने प्रतिबद्धता समेटेर साझा घोषणापत्र तयार गर्ने कांग्रेसले जनाएको छ । 

यसरी तयार गरेको घोषणापत्र केन्द्रबाट जारी हुने र यसैको आधारमा स्थानीय उम्मेदवारले प्रतिबद्धता व्यक्त गर्ने नेता विश्वकर्माको भनाइ छ । 

केही समयअघि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको कारण पेचिलो बनेको मुलुकको राजनीतिक परिस्थितिमा पनि थापाले निर्णायक भूमिका खेलेको कांग्रेस नेताहरूको बुझाइ छ । 

यस्तै सत्ता गठबन्धनको विषयमा पनि थापाले विभिन्न अभिव्यक्ति दिँदै आएका छन् ।  नेता थापालाई नजिकबाट चिन्ने नेताहरूले थापा कांग्रेस महामन्त्रीसँगै प्रतिनिधिसभा सदस्य पनि भएकाले देउवाले शीर्ष तहको छलफलमा सहभागी गराएको र अगाडि बढ्न सहयोग गरेको तर्क गर्छन् । 

पार्टीको १४ औँ महाधिवेशनमार्फत महामन्त्री बनेलगत्तै थापा सर्वदलीय बैठकमा पनि सहभागी भएका थिए । उच्चस्तरीय छलफलमा सहभागी भएको हिसावले पार्टी सभापति देउवाले महामन्त्री थापालाई विश्वास पात्रको रुपमा लिएको बुझ्न सकिन्छ । 

सभापति बनेलगत्तै देउवाले नयाँ पुस्तासँग कसरी सहकार्य गर्लान् भन्ने धेरैको चासो थियो । १४ औं महाधिवेशनमा नेता शेखर कोइराला नेतृत्वको समूहबाट चुनावमा होमिएका थापा भारी मतले महामन्त्री बनेका हुन् । थापा आफ्नै प्रतिस्पर्धी समूहबाट चुनावमा उठेर पार्टीमा महामन्त्री बने पनि देउवाले साथ दिन थालेका हुन् । 

सान्दर्भिक विषयवस्तुलाई आकर्षक ढंगले उठान र प्रस्तुत गर्ने कलाले पनि थापा राजनीतिक वृत्तमा चर्चित छन् । २०५७ सालमा नेविसंघको उपाध्यक्ष बनेका थापा त्यसको दुई वर्षपछि नेविसंघको महामन्त्री पद सम्हालेका थिए । 

२०६२/६३ सालको जनआन्दोलनमा गणतन्त्रको मुद्दा अघि सारेपछि चर्चित बनेका थापा पहिलो संविधानसभाको समानुपातिक तर्फबाट सदस्य बन्न सफल भएका थिए । २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । 

  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार १५:३५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया