कांग्रेसमा देउवाको दबदबा

आसन्न स्थानीय तहको निर्वाचनमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेको छ । चार दिन बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले यस्तो निर्णय गरेको हो । 

बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बहुसंख्याक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई व्यापक बनाउन गठबन्धन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सघन र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,’ प्रवक्ता महतले भने, ‘स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरुप अगाडि बढाइने छ ।’

तर, उसले हाल कायम रहेको सत्ता गठबन्धनसँग मात्रै तालमेल गर्नेबारे भने मूर्त रुपमा केही निर्णय गरेको छैन । तर, सत्ता गठबन्धन कायम रहेको अवस्थामा गठबन्धनमा रहेका दलहरुबीच तालमेल गरेर अघि बढ्ने स्पष्ट सन्देश कांग्रेसले दिएको छ । वामपन्थी पार्टीमा आएको विभाजनका कारण कांग्रेस बलियो अवस्थामा रहेको आकलनबीच उसले तालमेलको नीति लिएको हो । 

कांग्रेस बैठक सुरु भएदेखि नै गठबन्धनको बारेमा सर्वाधिक चासो रहेको थियो । नेता शेखर कोइराला समूहले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताउँदै आएका थिए भने देउवा पक्षकै कतिपय नेताहरुले गठबन्धनको विरोध गरिरहेका थिए । सातमध्ये कांग्रेसका पाँच प्रदेश प्रमुखले समेत गठबन्धनको विपक्षमा भनाइ रहेका थिए । त्यसका बाबजुद पनि मंगलबार बिहानदेखिको छलफलपछि कांग्रेसले गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेको हो ।  

उसो त वर्तमान सत्ता गठबन्धनमा रहेका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीले चुनावी गठबन्धन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । 



देउवा दबदबा

कांग्रेसको महाधिवेशनबाट दोस्रोपटक सभापतिमा विजयी भएका देउवा प्रतिनिधि सभामा पार्टीको कमजोर उपस्थितिका बाबजुद पनि प्रधानमन्त्री बनेका थिए । तत्कालीन नेकपामा आएको फुट र केपी शर्मा ओलीले दुईपटक गरेको संसद विघटनपछि विकास भएको राजनीतिक घटनाक्रमले गर्दा उनी प्रधानमन्त्री बन्न सफल भएका थिए । प्रधानमन्त्री भएसँगै पार्टीमा देउवा थप शक्तिशाली देखिएका हुन् । 



महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा रहँदा आफू पराजित भए कांग्रेसबाट प्रधानमन्त्री हट्ने भन्दै कार्यकर्तालाई कन्भिन्स गराएका देउवाले मंगलबार सकिएको केन्द्रीय समिति बैठकमा पनि नेताहरुलाई कन्भिन्स गराउन सफल भए । उनी पक्षीय नेताहरुले गठबन्धनको वकालत गरिरहँदा देउवाले गठबन्धनको विपक्षमा बोल्नेहरुलाई ुहप्काउनु समेत पछि परेनन् । उनले गठबन्धन नगरी चुनाव जितेर देखाउन चुनौती नै दिए । उनले अहिले गठबन्धन गर्ने निर्णय नगर्ने हो भने वामपन्थी पार्टीहरु मिल्ने खतरालाई जोड दिए । 

कांग्रेसका केन्द्रीय नेताहरुलाई यदि त्यस्तो भयो भने फेरि पाँच वर्ष स्थानीय सत्ता आफ्नो हातबाट गुम्ने भयमा पार्न देउवा सफल भए । आफू अनुकूलको निर्णय गराउनका लागि देउवाले कोइराला पक्षमा रहेका महामन्त्री गगन थापालाई घोषणापत्र लेख्न जिम्मेवारी दिए र गठबन्धनको पक्षमा माहोल बनाउन दबाब दिएका थिए । 

शक्तिकेन्द्रको त्रास

देउवाले आफूलाई प्रधानमन्त्री बनाएको गुन तिर्न खोजेको कतिपय कांग्रेस नेताहरुको भनाइलाई सही मान्ने हो भने देउवा जसरी पनि गठबन्धन गरेर अघि बढ्ने पक्षमा थिए । त्यसका लागि उनले सबैखालका अस्त्रहरुको प्रयोग गरे । 

गठबन्धनबाट प्रधानमन्त्री हुने बेलैमा चुनावी तालमेलबारे निर्णय भइसकेकोले अहिले विवाद गर्नुको अर्थ नरहेको देउवाले स्पष्ट पार्न लगाए । साथै अन्तर्राष्ट्रिय शक्ति केन्द्रले वामपन्थी दललाई मिलाउन खोजिरहेको सूचना पाएको भन्दै देशका गृहमन्त्रीबाट धारणा सार्वजनिक भएसँगै कांग्रेस नेताहरुलाई तालमेलको पक्षमा लाग्न बल मिल्यो । 

जतिसुकै विरोध भए पनि देउवाले आफू अनुकुलको निर्णय लागू गर्न सक्छन् भन्ने देउवाको पछिल्लो कदमले देखिएको छ ।

  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार २१:१०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया