सहिद परिवारलाई उपराष्ट्रपति पुनले गरे सम्मान

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने काम अझै बाँकी रहेको र त्यो चाँडै गठन हुने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् ।

उपराष्ट्रपति पुनले सहिदको सपना साकार पार्ने अभियानअन्तर्गत देशले जनताको संविधान पाएको उल्लेख गरे । शहादत प्राप्त गर्ने सबै सहिदको सपना उच्च र निःस्वार्थ रहेको उनको भनाइ छ । 

सशस्त्र द्वन्द्वमा मृत्यु भएका र विभिन्न घटनामा मृत्यु भई सरकारले सहिद घोषणा गरेका व्यक्तिका परिवारलाई सम्मान तथा राहत हस्तान्तरण गर्न सर्लाही आएका उपराष्ट्रपति पुनले देशमा आमूल परिवर्तन ल्याउन सहिदले खेलेको भूमिका सदैव अमर रहने र पूरा नभएका सपना साकार पार्न सधैँ लागि रहने बताए ।

मधेस प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय मातहत रहेको मधेसी सहिद प्रतिष्ठानको आयोजनामा सहिदका परिवारलाई राहत प्रदान र सम्मान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले सर्लाहीका ६० सहिद परिवारलाई सम्मान गरे ।

मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहका अनुसार सहादत प्राप्त ६० जनाको परिवारलाई उपराष्ट्रपति पुनले जनही एक लाख नगद र कदर पत्रबाट सम्मान गरे । बरहथवा नगरपालिका–२, हजरियास्थित सामुदायिक भवनमा सहिद परिवारलाई सम्मान र राहत वितरण गरिएको थियो । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकी, नगर प्रमुख देवानन्द महतोलगायतले आफ्नो धारणा राखेका थिए । 





  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार २१:०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया