फिफा विश्पकपको ‘ड्र’ आज हुँदै

यसै वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकपको ‘ड्र’ आज हुँदैछ । 

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) का अनुसार विश्वकपको ‘ड्र’ दोहामा स्थानीय समयअनुसार ४ बजेपछि सुरु हुनेछ ।

कतार आयोजक राष्ट्रका रूपमा शीर्ष वरीयताका सातौंसम्मको टोली रहने पट १ मा हुनेछन् । आठौंदेखि १५ औं वरीयतासम्मका टोली पट २ मा हुनेछन् । 

१६ औंदेखि २३ औं वरीयतासम्म टोली पट ३ तथा २४ देखि २८ सम्मका टोली पट चारमा हुनेछ । यो पटमा अन्तरमहादेशीय छनोट र युइएफएका प्लेअफका टोली पनि रहनेछन् 

पट १ मा आयोजक कतारसहित बेल्जियम, ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, स्पेन र पोर्चुगल रहेका छन् । पट २ मा डेनमार्क, नेदरल्यान्ड्स, जर्मनी, मेक्सिको, अमेरिका, स्विट्जरल्यान्ड, क्रोएसिया र उरुग्वे छन् ।

पट ३ मा सेनेगल, इरान, जापान, मोरोक्को, सर्विया, पोल्यान्ड, दक्षिण कोरिया र ट्युनिसिया रहँदा पट ४ मा साउदी अरेबिया, इक्वेडर, घाना, क्यामरुन र क्यानडाका साथै अन्तर महादेशीय प्ले अफबाट आउने टोली रहनेछन् । 



विश्वकपमा अफ्रिकाबाट ५, एसियाबाट ४ र (प्लेअफबाट थप १ ), युरोपबाट १३, कोन्काफबाट ३ (प्लेअफबाट थप १ ), ओसियानाबाट (प्लेअफबाट एक १ ) र कन्मेवलबाट ४ (प्लेअफबाट थप १) छनोट हुने प्रावधान रहेको छ ।

यसपटकको विश्वकप सन् २०२२ को २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुनेछ । विश्वकपको इतिहासमै पहिलोपटक खेल समरमा नभई विन्टरमा हुन लागेको हो ।



कतार विश्वककपमा हालसम्म ३२ मध्ये २९ टोलीले आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । 

अब वेल्सविरुद्ध स्कटल्यान्ड वा युक्रेन (जुनमा प्ले अफ), अष्ट्रेलिया र युएईबीचकाे विजेता विरुद्ध पेरु (जुनमा अन्तर्राष्ट्रिय प्ले अफ) र कोस्टा रिकाविरुद्ध न्युजिल्यान्ड (जुनमा अन्तर्राष्ट्रिय प्ले अफ) बाट तीन टोलीले विश्वकपमा स्थान बनाउनेछ । 

यी हुन् कतार विश्वकपमा स्थान सुरक्षित गरेका राष्ट्र

युरोप

युरोपबाट सर्वाधिक १३ राष्ट्रले विश्वकपमा सहभागिता जनाउन पाउने छन् । युरोपबाट अहिलेसम्म १२ राष्ट्रले कतारको यात्रा तय गरिसकेका छन् । 

अब एक टोलीको टुंगो लाग्न बाँकी छ । प्ले अफको फाइनलमा वेल्स पुगिसकेको छ ।

वेल्सले प्ले अफको सेमिफाइनलमा रहेका स्कटल्यान्ड र युक्रेनबीचको विजेतासँग खेल्नेछ । 

स्कटल्यान्ड र युक्रेनबीचको खेल रसियाले युक्रेनमा आक्रमण गरेका कारण स्थगित छ । अब युरोपबाट वेल्स वा स्कटल्यान्ड र युक्रेनमध्ये एक टिम विश्वकपमा पुग्नेछन्। 

युरोपबाट जर्मनी, डेनमार्क, साविक विजेता फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्याण्ड, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड्स, पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट भए ।
 
रुस-युक्रेन युद्धका कारण स्कटल्यान्ड र युक्रेनबीच हुनुपर्ने प्लेअफको सेमिफाइनल खेल जुन महिनाका लागि सारिएको हो । पोर्चुगल र पोल्याण्डले प्ले अफबाट विश्वकपमा स्थान बनाएका हुन् ।

दक्षिण अमेरिका

दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर छनोटमा शीर्ष चारमा रहँदै सिधै विश्वकपमा छनोट भएका छन् । 

पाँचौ भएको पेरुले अब एसिया क्षेत्रको प्ले अफका टोली अष्ट्रेलिया र संयुक्त अरब इमिरेट्स (युएई) बीचको विजेतासँग खेल्नेछ । 

उत्तर तथा मध्य अमेरिका (कोन्काफ)

कोन्काफ क्षेत्रमा आठ टोलीको सहभागिता रहेकोमा छनोटबाट शीर्ष तीन टोली सीधै विश्वकपमा छानिएका छन् । 
 
क्यानडा, अमेरिका र मेक्सिको छनोट भएको हुन् । क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट भयो । 

छनोटमा चौथो स्थानको कोस्टारिकाले प्ले अफमा ओसियाना क्षेत्रको स्थान न्युजिल्यान्डसँग खेल्नेछ ।

अफ्रिका

अफ्रिकाबाट विश्वकप खेल्ने पाँचै टोलीको छिनोफानो भइसकेको छ । अफ्रिकाबाट यसपल्ट होम एन्ड अवेको आधारमा दुई लेगको प्ले अफमार्फत् विश्वकप खेल्ने टोलीको टुंगो लगाइएको हो । 

यहाँबाट घाना, सेनेगल, ट्युनिसया, मोरोक्को र क्यामरुनले विश्वकप खेल्ने छन् । 

एसिया

यो क्षेत्रबाट आयोजक कतारले सिधै विश्वकपमा स्थान बनाउँदा अन्य ४ टोलीले छनोट चरण पार गर्दै आफ्नो स्थान सुरक्षित गरे ।

यसपटक इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबियाले छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाए ।

त्यस्तै, प्ले अफमा अस्ट्रेलिया र युएईले ७ जुनमा प्रतिस्पर्धा गर्नेछन् । यो खेलको विजेताले अन्तरमादेशिय प्ले अफमा दक्षिण अमेरिकी छनोटको पाँचौ स्थानमा रहेको पेरुको सामना गर्नेछ । 

ओसियाना

ओसियाना क्षेत्रबाट कुनै पनि राष्ट्रले सिधै विश्वकपमा छनोट हुन पाउँदैनन् । यहाँबाट एक टोलीलाई अन्तरमहादेशीय प्लेअफबाट विश्वकपमा छनोटको हुने बाटो हुनेछ ।

यसपटक न्युजिल्याण्डले प्ले अफमा स्थान सुरक्षित गरेको छ । उसले विश्वकप छनोटका लागि कोन्काफ क्षेत्रबाट चौथो स्थान हासिल गर्ने काेस्टारिकाको सामना गर्नेछ।


 
 

  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार १२:८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया