logo-img

[स्थानीय निर्वाचन] खप्तड छेडेदह गाउँपालिका अध्यक्षका लागि कांग्रेसबाट ११ जना आकांक्षी

बाजुराको खप्तड छेडेदह गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसबाट ठूलो संख्यामा आकांक्षी देखिएका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षका लागि ११ जनाले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

साथै, गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसबाट ६ जना आकांक्षी देखिएका छन् । कांग्रेस गाउँ कार्य समितिले जिल्ला समितिलाई सिफारिस गरेको सूचीमा ११ जना अध्यक्ष र ६ जना उपाध्यक्षको नाम रहेको छ ।  

कार्य समितिमा आएका सबै आकांक्षीको नाम सिफारिस गरी पठाएको खप्तड छेडेदह गाउँ कार्य समितिले जनाएको छ । कार्यसमितिका अनुसार वर्तमान पालिका अध्यक्ष, उपाध्यक्षसहित शिक्षक कर्मचारीसम्मले आकांक्षा देखाएका हुन् । 

गाउँपालिकाको अध्यक्षमा दाबी गर्नेमा अहिलेका गाउँपालिका अध्यक्ष नरबहादुर रावतको नाम शीर्ष स्थानमा छ । त्यस्तै, नरबहादुर शाही, कुम्भ नाथ योगी, धनबहादुर रावत, भीमबहादुर नेपाली, खडकबहादुर बुढा, मीनबहादुर धामी, तालबहादुर रावत, तेजबहादुर कठायत, परे नाथ र गजेन्द्र बहादुर सिंहले पनि अध्यक्षमा दाबी गरेका छन् ।

अध्यक्षमा इच्छा देखाएका कुम्भ नाथ हाल ६ नम्बर वडाका अध्यक्ष पनि । भीमबहादुर कार्यपालिका सदस्य हुन् । यस्तै खडकबहादुर बुढाले स्थायी शिक्षकबाट राजीनामा दिएर उम्मेदवारी घोषणा गरेका हुन् । पालिकाको अध्यक्षमा उम्मेदवारी घोषणा गर्नेको संख्या धेरै भएका कारण टिकटको टुंगो लगाउन कांग्रेसलाई कठिन हुने देखिन्छ ।

त्यस्तै, उपाध्यक्षमा वर्तमान गाउँपालिकाका उपाध्यक्ष कुन्ती बुढा साउँदले दोहोरिने बताइसकेकी छन् । बिसु देवी नाथ, सत्यकुमारी रोकाया, धर्मा बुढा कठायत, कोपिला शाह, स्मृति कुमारी पण्डितले पनि पालिकाको उपाध्यक्षमा दाबी गरेकी छन् ।



धेरैले आकांक्षा देखाएपछि पुरानै अनुहारलाई दोहोर्‍याउने कि नयाँलाई अवसर दिने भनेर छलफल भइरहेको कांग्रेस बाजुराले जनाएको छ । 



  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार ११:१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया