ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दिनमा सिँचाइका आयोजना पहाडी र हिमाली भेगमा बनाउनुपर्ने बताएकी छन् ।
शुक्रबार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भुसालले आगामी दिनमा सिँचाइका आयोजना देशको पहाडी र हिमाली भागमा केन्द्रीत गर्नुपर्ने बताएकी हुन् ।
राष्ट्रिय गौरवका आयोजना तराईकेन्द्रीत भएको उल्लेख गर्दै उनले खेतीयोग्य जमिन पहाड र हिमालमा पनि भएकाले सो भेगमा सिँचाइ सुविधा पुर्याउने गरी आगामी दिनमा नीति तथा योजना तर्जुमा गर्नुपर्ने बताइन् । पहाडी र हिमाली भेगमा सिँचाइ पुर्याउन सके खाद्यान्न उत्पादनमा वृद्धि भएर आत्मनिर्भर हुन सकिने उनले बताइन् ।
मन्त्री भुसालले देशमा आर्थिक तरलताको स्थिति भएपनि आर्थिक संकट भने नरहेको बताइन् । उनले श्रीलंकाको अवस्था जस्तो हुने हो कि भनेर अतिरञ्जित गरिएको बताइन् । उनले आयातित वस्तुलाई प्रयोग नगरेर आफ्नै देशमा उत्पादित वस्तुको प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।
'अहिले देशमा अलिकति आर्थिक तरलताको स्थिति कतै संकट हो कि, कतै श्रीलंका हो कि भनेर अलि अतिरञ्जित गर्ने पनि छ । हिजो पनि हामीले क्याबिनेटमा छलफल गरेको थियौँ । त्यत्तिको त छैन मान्छेले चर्चा गरेजस्तो' उनले भनिन् । उनले कृषिमा आत्मनिर्भर, पर्यटन र जलविद्युतको विकास भएमात्र देशमा आर्थिक समृद्धि हुने बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।