बझाङमा एकीकृत समाजवादीमा प्रवेश गरेका जनप्रतिनिधिलाई साेही पालिकामा उम्मेदवार बनाइने

सत्ता साझेदार पाँच दलको बैठकले नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका जनप्रतिनिधिलाई सोही पालिकामा उम्मेदवार बनाउने  निर्णय गरेपछि बझाङमा पनि उसले पाउने पालिका र वडा लगभग तय भएका छन् ।

एकीकृत समाजवादीले एमाले छाडेर आफ्नो पार्टीमा आएका जिल्लाभरिका जनप्रतिनिधिहरूको विवरण संकलन गरिरहेको छ । 

बझाङ जिल्ला कमिटी उपसचिव गणेश बोहरा नेतृत्वको टोलीले एमालेबाट आएका जनप्रतिनिधिको नामावली तयार पारिरहेको हो ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य समेत गरी करिब ४४ जनाभन्दा बढी जनप्रतिनिधि आफ्नो पार्टीमा खुलेको जिल्ला कमिटी उपसचिव बोहराले दाबी गरेका छन् । 

उनले भने, ‘खुल्ने क्रम जारी छ । अहिलेसम्म सबै पालिकाको अन्तिम विवरण जिल्लामा आइसकेको छैन ।’ 

तर, एमालेले जितेका १ नगरपालिका र ७ वटा गाउँपालिका गरी ८ स्थानीय तहका प्रमुख/उपप्रमुख मध्ये २ जना मात्रै एकीकृत समाजवादीमा खुलेका छन् । 



बझाङका १२ वटै पालिकाका एकीकृत समाजवादीका नेताहरूका अनुसार केदारस्युँ गाउँपालिका र छविसपाथिभेरा गाउँपालिकाका प्रमुख/उपप्रमुख एमालेबाट समाजवादीतर्फ खुलेका हुन् ।

अन्य पालिकाका जनप्रतिनिधि भने एकीकृत समाजवादीमा खुलेका छैनन् । केदारस्युँ गाउँपालिकामा ४ र थलारा गाउँपालिकामा १ जना वडा अध्यक्ष समाजवादीमा खुलेका छन् । 



यस हिसाबले मंगलबार भएको केन्द्रको सहमति पालना भएमा बझाङमा २ स्थानीय तह एकीकृत समाजवादीको भागमा पर्ने पक्का भएको छ । 

अन्य स्थानको हकमा संगठन र अहिलेको अवस्थालाई हेरेर गठबन्धनले बाँडफाँट गर्ने भएकाे छ । 

जिल्लामा सोही सहमति पालना गरेर अगाडि बढ्न दलहरू लागि परे पनि केदारस्युँ गाउँपालिकामा एकीकृत समाजवादीको उम्मेदवार उठाएर छविसपाथिभेरा गाउँपालिकामा आफ्नो पार्टीको उम्मेदवार उठाउनुपर्ने नेकपा माओवादी केन्द्रले अडान लिएको छ ।

केदारस्युँ गाउँपालिकाका जनप्रतिनिधिले पार्टी विभाजनको बेला एकीकृत समाजवादीमा सनाखत गरे पनि छविसपाथिभेरा गाउँपालिकाका जनप्रतिनिधिले सनाखत नगरेको र पछिल्लो समयमा समाजवादीमा देखिएकाले उक्त पालिका आफूले पाउनुपर्ने माओवादी केन्द्रको धारणा छ ।

  • प्रकाशित मिति : वैशाख २, २०७९ शुक्रबार १७:२६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया