सुनसरीमा पनि भाँडियो सत्ता गठबन्धनः कांग्रेसबाहेकका दलले मात्र तालमेल गर्ने, कसको शक्ति कति ?

आसन्न स्थानीय निर्वाचनका लागि सत्ता गठबन्धनका पाँच दलबीच सुनसरी जिल्लामा पनि तालमेल नहुने भएको छ । गठबन्धनमा आवद्ध दलहरुले आआफ्ना अडान कायम राख्दा सुनसरीमा गठबन्धन ‘भाँडिएको’ हो ।

केन्द्रले लगाएको भागवण्डामा चित्त नबुझाएका स्थानीय नेताहरुले सुनसरीमा केन्द्रले दिएको निर्देशन मानेनन् । बरु गठबन्धनका पाँच दलका नेताहरु एकअर्कालाई आरोपप्रत्यारोपमा उत्रिएका छन् ।

गठबन्धनका अन्य दलले सुनसरीका सबै स्थानीय तहको नेतृत्व नेपाली कांग्रेसले लिन खोजेको आरोप लगाएका हुन् । अर्कोतिर, कांग्रेसका नेताहरुले गठबन्धनका अन्य दलले आफ्नो हैसियत बिर्सिएर बढी माग गरेको आरोप लगाउन थालेका छन् । दुवै तर्फका नेताहरुले अब सुनसरीमा तालमेलको सम्भावना सकिएको अभिव्यक्रि दिन थालेका छन् ।

नेपाली कांग्रेस सुनसरीका सचिव विरेन्द्र साहले सत्ता गठबन्धनका अन्य दलले दलीय हैसियतभन्दा बढी भाग खोजेकाले आफूहरु चुनावी तालमेल नगर्ने पक्षमा पुगेको बताए ।

‘जति वडा छ त्योभन्दा बढी कांग्रेस बाहेकका दललाई नै चाहियो भन्ने माग छ । १२ वटा प्रमुख १२ उपप्रमुखमा भएकोमा १८ वटा त अरु दलले नै मागिरहेका छन् । गठबन्धन गरेरै जानुपर्छ भन्ने पक्षमा हामी छौँ तर, जितेको ठाउँमा पनि मागिरहेका छन् अनि कसरी हुन्छ ?’ उनले फरकधारसँग भने, ‘सुनसरीमा गठबन्धन नै नहुने स्थितिमा पुगियो, हामी एक्लै लड्ने तयारीमा जुट्न थालिसकेका छौँ ।’

नेकपा माओवादी केन्द्र सुनसरीका अध्यक्ष योगेन्द्र मण्डल चाहिँ फेरि कांग्रेसले सबै सिट आफैंमात्र लिन खोजेकाले गठबन्धनको चुनावी तालमेलको सम्भावना सकिएको बताउँछन् । कांग्रेसले अन्य दललाई उपेक्षा गरेकाले अब गठबन्धनका अन्य दलबीच तालमेल गरेर अगाडि बढ्ने योजनामा आफूहरु लागेको पनि उनले बताए ।



‘कांग्रेसको दम्भले सीमा नाघेको छ,’ उनले भने, ‘हामी अब तीन दल मिलेर अगाडि बढ्न खोजिरहेका छौँ ।’ सुनसरीमा गठबन्धनको एक दल राष्ट्रिय जनमोर्चाको उपस्थिति नभएकाले अन्य तीन दलको सहमतिअनुसार अगाडि बढ्ने योजनामा आफूहरु भएको मण्डलले फरकधारलाई बताए ।

नेकपा एकीकृत समाजवादीका सुनसरी अध्यक्ष गोविन्द निरौलाले पनि सुनसरीमा गठबन्धन टुटेको बताए । ‘जसपाले दक्षिण नछाड्ने, कांग्रेसले अडान नछाड्ने, माओवादीले दाबी नछाड्ने स्थिति छ,’ आफू भर्खर एउटा बैठकबाट निस्किएको जानकारी दिँदै निरौलाले फरकधारसँग भने, ‘सुनसरीमा अब गठबन्धनको सम्भावना सकिएको छ ।’



सत्ता गठबन्धनकै अर्को दल जनता समाजवादी पार्टी (जसपा) सुनसरीका अध्यक्ष भगिरथ खत्वेले पनि कांग्रेसले घमण्ड गरेका आरोप लगाएका छन् ।

‘ठुलो पार्टी भनेर कांग्रेसले घमण्ड गरिरहेको छ । त्यसैले अब कांग्रेसहितको गठबन्धन नहुने भयो,’ उनले फरकधारसँग भने, ‘गठबन्धनका हामी तीन दल मात्र मिलेर जाने निष्कर्षमा पुगेका छौँ ।’ उनले सुनसरीमा कांग्रेसलाई बाहिर राखेर गठबन्धनका अरु दलहरुले एकअर्कासँग चुनावी तालमेल गर्ने बताए ।

स्थानीय तहका प्रमुख/उपप्रमुख जितेको आधारमा २०७४ सालको निर्वाचनमा सुनसरीमा कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो, विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) तेस्रो, उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी चौथो र माओवादी केन्द्र पाँचौ शक्ति बनेका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा १२ वटा स्थानीय तह रहेको सुनसरीमा नेपाली कांग्रेसले ६, एमालेले तीन, तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)ले दुई र संघीय समाजवादी फोरमले एक स्थानीय तहको प्रमुख जितेका थिए । 

त्यस्तै नेपाली कांग्रेसले पाँच पालिकामा उपप्रमुख, एमालेले चार, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) ले दुई र संघीय समाजवादी फोरमले एउटा स्थानीयतहको उपप्रमुख जितेको थियो । वडामा जितको आधारलाई लिँदा चाहिँ नेकपा एमाले पहिलो पार्टी बनेको थियो ।

सुनसरीका कुल १२४ वडा मध्ये एमालेले ५५ वडा जित्दा कांग्रेसले ४६, मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) ले १२, संघीय समाजवादी फोरमले ८, माओवादी केन्द्रले २ र एकजना स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका थिए । 

यसलाई आधार मान्ने हो भने सुनसरीमा गठबन्धन नगर्दा पनि सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस बलियो अवस्थामा देखिन्छ । 

नेपाली कांग्रेसबाहेक गठबन्धनमा आबद्ध सबै दल विभाजित र टुटफुटको अवस्थामा छन् । अन्य दल नेपाली कांग्रेसको सहयोगबिना एक्लै लड्न सक्ने अवस्थामा छैनन् । सबैभन्दा बढी कांग्रेस बाहेकका अन्य सत्ता गठबन्धनमा आवद्ध दललाई चुनावी तालमेलको आवश्यकता छ । एमालेसमेत विभाजित भएको अवस्थाका कारण २०७४ सालको निर्वाचन भन्दा यतिबेला नेपाली कांग्रेस थप बलियो अवस्थामा छ । 

त्यस्तै सो निर्वाचनमा सुनसरीमा तेस्रो शक्ति बनेको तत्कालिन विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) अहिले नेपाली कांग्रेसमै समाहित भएका कारण यसपटक कांग्रेस थप बलियो भएको अनुमान छ, नेताहरुको दाबी छ ।

एमाले विभाजित भए पनि अन्य पार्टीबाट नेताहरु आफ्नो पार्टीमा आएकाले एमाले थप बलियो बनेको नेकपा एमालेका नेताहरुको दाबी पनि आफ्नै ठाउँमा छ । 

२०७४ सालको स्थानीय निर्वाचनको परिणामलाई आधार बनाउने हो भने नेकपा माओवादी केन्द्र सुनसरीमा निकै कमजोर देखिन्छ । एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीको अवस्थाबारे अहिले अनुमान गर्न सकिने अवस्था छैन । सत्ता गठबन्धनमै आवद्ध जनता समाजवादी पार्टीको जिल्लाका दक्षिणी क्षेत्रमा पकड बलियो देखिन्छ ।

सत्ता गठबनबीच चुनावी तालमेल हुने सम्भावना न्यून हुँदै गएकाले यसले प्रत्यक्ष रुपमा एमालेलाई फाइदा पुग्ने अनुमान गर्न सकिन्छ । 

एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारी गत निर्वाचनभन्दा एमाले अझ बलियो अवस्थामा रहेको दाबी गर्छन् । त्यसैले पनि आफूहरुलाई पाँचै दलको गठबन्धन रहँदा पनि कुनै असर नपर्ने उनले बताएका छन् । 

‘हाम्रो मूल प्रतिस्पर्धी कांग्रेस हो,’ फरकधारसँग शुक्रबार टेलिफोन कुराकानीमा उनले भने, ‘गठबन्धनका अरु शक्ति निकै कमजोर अवस्थामा छन् ।’ उनले एमालेले यसपटक सुनसरीमा थप स्थानीय तहमा जित निकाल्ने दाबी गरेका छन् ।

अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रले जिल्लाभर दुई वटा वडा मात्र जितेको थियो । एउटा पनि प्रमुख, उपप्रमुख नजितेको माओवादी केन्द्रले यसपटक पनि केही वडामा जित दर्ज गर्ने अनुमान गरेको छ ।

२०७४ सालको निर्वाचनपछि चौथो शक्ति बनेका तत्कालीन संघीय समाजवादी फोरमसँग डा. बाबुराम भट्टाराई नेतृत्वको नयाँ शक्ति पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) एकता भएर जनता समाजवादी पार्टी बनेको थियो । हाल डा. भट्टाई जसपामै छन् भने महन्थ ठाकुर पक्ष विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भइसकेको छ । 
पार्टी विभाजित हुँदा पनि २०७४ सालभन्दा यसपटक जसपा थप बलियो भएको दाबी छन् । तर, उसलाई पनि एक्लै जित दर्ज गर्न हम्मेहम्मे पर्ने देखिन्छ ।

सुनसरीमा अघिल्लो निर्वाचनमा छैठौँ शक्ति बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यतिबेला आक्रमक ढंगले संगठन विस्तार गरिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरीका अध्यक्ष दुर्गा बस्नेत आफ्नो पार्टीमा जनलहर ह्वात्तै बढेको दावी गर्छन् । उनले आगामी निर्वाचनमा एमालेसँग तालमेलको सम्भावना रहेको बताए ।

‘हाम्रो पार्टीमा अहिले जनलहर बढेको छ । अहिले एक्लै पनि जित्ने पोजिसनमा आइपुगेका छौँ,’ उनले फरकधारसँग भने, ‘तालमेल हुँदा एमालेसँगको सम्भावना बढी छ ।’

 

२०७४ मा यस्तो थियो निर्वाचन परिणाम 

१. इनरुवा नगरपालिका
२०७४ सालको स्थानीय तह निर्वाचनमा सुनसरीको इनरुवा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजन मेहता ११७४ मतान्तर (१०९८७) ले विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का पोष्टकुमार नेपालले ९८१३ मत ल्याउँदा माओवादी केन्द्रका नरेन्द्रबहादुर कटुवालले ९७१ मत प्राप्त गर्दै चौथो स्थानमा चित्त बुझाएका थिए । तत्कालिन विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का मनोजकुमार मेहताले २६१५ ल्याएका थिए । 

अहिले गच्छदार नेतृत्वको फोरम नेपाली कांग्रेसमै समाहित भएपछि तुलनात्मकरुपमा यस नगरपालिकामा नेपाली कांग्रेस बलियो देखिन्छ । उपप्रमुखमा नेपाली कांग्रेसकै जमुनादेवी गौतम (पोखरेल) १०९०६ मतसहित विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी कवितादेवी यादवले ९१४९ मत प्राप्त गर्दा उपप्रमुखमा मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) की कुमारी मीरा पोखरेल (अधिकारी) ले २७६२ मत ल्याएकी थिइन् । माओवादी केन्द्रकी तोयादेवी गिरीले १०७५ मत प्राप्त गरेकी थिइन् । 

इनरुवा नगरपालिकामा नेकपा (एमाले) ले वडा नम्बर ३, ४, ५, ६, ९ र १० नम्बर वडा जितेको थियो । नेपाली कांग्रेसले १, २, ७ र ८ नम्बर वडा जित्दा माओवादी केन्द्रसहितका अन्य दलले आफ्नो अस्तित्व बचाउन सकेका थिएनन् । 

 

२. इटहरी उपमहनगरपालिका

त्यस्तै इटहरी उपमहनगरपालिकाको प्रमुखमा एमालेका द्वारिकलाल चौधरी २२६९८ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रोहित प्रसाद प्रसाईँले १९९८५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका रोहित बहादुर कार्कीले ३७१५ र माओवादी केन्द्रकी उम्मेदवार हरिमायाँ जिमिले ३३६४ मत प्राप्त गरेकी थिइन् । 

उपप्रमुखमा एमालेकै लक्ष्मीकुमारी गौतम २१८४२ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी विमला शिवाकोटीले १८३५२ मत प्राप्त गरेकी थिइन् । माओवादी केन्द्रका भीमप्रसाद सुवेदीले ४८३१ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी माया रायमाझीले ३९१९ मत प्राप्त गरेका थिए । 

इटहरीमा एमालेले वडा नम्बर २, ४, ५, ९, १३, १४, १८ र १९ नम्बर वडा जितेको थियो । त्यस्तै नेपाली कांग्रेसले वडा नम्बर १, ३, ६, ७, ८, ११, १२, १५, १६, १७, २० र विजय गच्दार नेतृत्वको तत्कालिन फोरम लोकतान्त्रिकले १० नम्बर वडा जितेको थियो । 

 

३. कोशी गाउँपालिका
कोशी गाउँपालिका अध्यक्षमा नेपाली कांगे्रसका ऐयुव अन्सारी ४०७४ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्न्दी नेकपा (एमाले) का अजयकुमार कुसियतले २७२३ मत ल्याउँदा, तत्कालिन संघीय समाजवादी फोरमका जितेन्द्र खेरबार २७१६ र माओवादी केन्द्रका पञ्चनारायण मण्डलले ६२४ मत मात्र प्राप्त गरेका थिए ।  

उपाध्यक्षमा नेपाली कांग्रेसकै अनितादेखि यादव ३४१२ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) की पार्वतीदेवी उराँवले २७३२, संघीय समाजवादी फोरमकी शिवकुमारी उराँवले २४९९ र माओवादी केन्द्री सुनीतादेवी गोठियाले ७८९ मत मात्र प्राप्त गरेकी थिइन् । सो मतका आधारमा कोशी गाउँपालिकामा माओवादी केन्द्र निकै कमजोर देखिन्छ । 

नेपाली कांग्रेसले सो पालिकाका वडा नम्बर २, ३ जित्दा मधेशी जनअवधकार फोरम नेपाल (लोकतान्त्रीक) ले ४, ५, संघीय समाजवादी फोरमले ७, ८, एमालेले ६ र स्वतन्त्र उम्मेदवारले वडा नम्बर १ जितेका थिए । 

यस पालिकामा पनि माओवादी केन्द्रले आफ्नो अस्तित्व जोगाउन सकेको थिएन । 

४. गढी गाउँपालिका

त्यस्तै गढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका श्रीप्रसाद यादव ५०५२ मतसहित विजयी भउका थिए । उनका निकटतम प्रतिद्वन्दी तत्कालिन मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) का वीरनारायण चौधरीले ४०६४ मत ल्याउँदा नेकपा एमालेका भद्रनारायण चौधरीले ३२८८, संघीय समाजवादी फोरमका हरिशंकरकुमार ६६१ र माओवादी केन्द्रका खगेन्द्र नारायण चौधरीले ६१९ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसकी राजकुमारी चौधरी ४८१९ मतसहित विजयी हुँदा उनकी निकटतम् प्रतिद्वन्दी मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) की लालो थरुनीले ३६५५, नेकपा (एमाले) की रिभाकुमारी कर्णले ३३३१, संघीय समाजवादी फोरमकी अम्बिकादेवी यादवले ९१९ र माओवादी केन्द्रकी अनिताकुमारी सरदार ६८४ मत प्राप्त गरेका थिए । 

यस पालिकामा एमालेले वडा नम्बर १ र ३ जितेको थियो । त्यस्तै नेपाली कांग्रेसले वडा नम्बर २, ५, ६ नम्बर वडा जित्दा मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक)ले ४ नम्बर वडामा बाजी मारेको थियो । 

गढी गाउँपालिकामा पनि माओवादी केन्द्रले एउटा पनि वडा जितेको थिएन । 

५. दुहवी नगरपालिका

दुहवी नगरपालिकाको प्रमुखमा तत्कालिन मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) का वेदनाराय गच्छदार ७४२० मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गौरीशंकर रौनियारले ५६१५ मत ल्याउँदा एमालेका विनयकुमार पोखरेलले ५१२५, माओवादी केन्द्रका अर्थलाल चौधरीले २२२६ र तत्कालिन संघीय समाजवादी फोरमका सरोजकुमार सिंहले १६४७ प्राप्त गरेका थिए । उपप्रमुखमा पनि मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) कै सुनीता दाहाल ६६८३ मतसहित विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्दी एमालेकी चन्द्रकलादेवी विश्वासले ५८८१ मत प्राप्त गरेकी थिइन् । नेपाली कांग्रेसकी कल्पना कार्की ५०६० मत प्राप्त गर्दा माओवादी केन्द्रकी रोजिना खातुनले २२१८ र तत्कालिन संघीय समाजवादी फोरमकी श्यामवतीदेवी उराँवनीले १७७० मत ल्याएकी थिइन् । 

दुहवी नगरपालिकामा एमालेले वडा नम्बर १, ३ र ४ नम्बर बडा जितेको थियो । नेपाली कांग्रेसले २, ८ र ९ नम्बर वडा जित्दा मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) ले ५, ७, १०, ११, १२ र तत्कालिन संघीय समाजवादी फोरमले ६ नम्बर वडा आफ्नो पोल्टामा पारेको थियो । 

 

६. देवानगञ्ज गाउँपालिका

त्यसैगरी देवानगञ्ज गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका लालिप्रसाद मेहता ३६३० मतसहित विजयी हुँदा उनका निकटम प्रतिद्वन्दी तत्कालिन संघीय समाजवादी फोरमका बेचनप्रसाद मेहताले ३२७२ प्राप्त गरेका थिए । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का श्यामलाल महतोले ३१३४ मत सहित तेस्रो स्थान हासिल गर्दा एमालेका सन्तोषकुमार भगत २८५७ मतसहित चौथो र माओवादी केन्द्रकी लक्ष्मीदेवी मेहता ६४३ मतसहित पाँचौ भएकी थिइन् । 

उपाध्यक्षमा नेपाली कांग्रेसकै पुनीतादेवी यादव ४३५९ मतसहित विजयी भएकी थिइन् । उनकी निकटम प्रतिद्वन्द्वी मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) महमुदा खातुनले २८९६ मत ल्याउँदा संघीय समाजवादी फोरमकी सुकुनदेवी यादवले २८३५,  एमालेकी जमुनाकुमारी मेहताले २५१४ र माओवादी केन्द्रका बेचन खत्वेले ९६४ मत प्राप्त गरेका थिए । 

देवानगञ्जमा नेपाली कांग्रेसले वडा नम्बर २, ४, ५, ६ र ७ नम्बर वडा जितेको थियो । मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक)ले १ र संघीय समाजवादी फोरम ३ नम्बर वडा आफ्नो पोल्टामा पारेका थिए । उक्त पालिकामा वामपन्थी दुवै दल एमाले र माओवादी केन्द्रले भने आफ्नो अस्तित्व जोगाउन सकेका थिएनन् । 

७. धरान उपमहानगरपालिका 

२०७४ सालनको स्थानीयतह निर्वाचनमा कम्युनिष्टको ‘गढ’ मानिने धरान उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख सहित अधिकांश वडा एमालेले जितेको थियो । उपपमहानगर प्रमुखमा एमालेका उम्मेदवार तारा सुब्बा फराकिलो मतान्तरले विजयी भएका थिए । सुब्बाले २०९७५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका तिलक राईले १६१०२ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका आइन्द्र बिक्रम बेघाले १११८० मत प्राप्त गरेका थिए ।

तर, उपपमहानगर प्रमुख सुब्बाको निधन भएपछि भएको उपनिर्वाचनमा एमालेले आफ्नो अस्तित्व जोगाउन सकेन । १४ मंसिर २०७६ मा भएको उपनिर्वाचनमा  आश्चर्य ढंगबाट नेपाली कांग्रेसका तिलक राई विजयी भएको थिए । 

२०७४ निर्वाचनमा उपप्रमुखमा एमालेकी मञ्जु भण्डारी सुवेदी फराकिलो (६३३९) मतान्तरले विजयी भएकी थिइन् । उनले २१२५६ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी श्यामा रेग्मीले १४९१७ मात्र मत प्राप्त गरेकी थिइन् । संघीय समाजवादी फोरमका पारस राईले ५१८१ मत ल्याएका थिए । फोरमसँग तालमेल गरेका कारण माओवादी केन्द्रले उम्मेदवारी दिएको थिएन । 

धरानमा एमालेले वडा नम्बर ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९, र २० नम्बर बडा जितेको थियो । नेपाली कांग्रेसले वडा नम्बर १, २, ५, १४ र १८ नम्बर वडा जित्दा माओवादी केन्द्रले मुस्किलले १७ नम्बर वडा मात्र जित्न सफल भएको थियो । 

८. बराह नगरपालिका
त्यस्तै बराह नगरपालिकाको प्रमुखमा एमालेका निलम खनाल १४४४६ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बाबुराम विष्टले ११४८९ मत ल्याउँदा माओवादी केन्द्रका कलमबहादुर कटुवालले २७३८ मत प्राप्त गरेका थिए । 

उपप्रमुखमा पनि एमालेकी कमला मगर १४६०९ मतसहित विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी पुजाकुमारी धामीले ११३५९ मत प्राप्त गर्दा माओवादी केन्द्रकी संगीता राईले २८८३ मत ल्याएकी थिइन् । 

बराहमा एमालेले वडा नम्बर ३, ४, ५, ७, ८, ९, १० र ११ नम्बर वडा जितेको थियो । नेपाली कांग्रेसले वडा नम्बर १, २ र ६ नम्बर वडासहित तीनवटा वडा जित्न सफल भएको थियो । 
यस पालिकामा पनि माओवादी केन्द्रले आफ्नो अस्तित्व जोगाउन सकेको थिएन । 

९.बर्जु गाउँपालिका
बर्जु गाउँपालिका अध्यक्षमा तत्कालिन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का रघुनन्दन चौधरी ४७३४ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी एमालेका फनिलाल चौधरीले ३६९२ र नेपाली कांग्रेसका इसराइल अन्सारीले २६९५ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका सुरेन्द्र मेहताले १५३८ मत प्राप्त गर्दा संघीय समाजवादी फोरमका महेशप्रसाद राय आमातले ७०० मात्र मत ल्याएका थिए । 

उपाध्यक्षमा पनि मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) की संगीताकुमारी राय ४६२२ मतसहित विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्दी एमालेकी सोमकुमारी गुरुङ रायले ३६६८ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी खुसरी थरुनीले २८६१, माओवादी केन्द्रकी सुमित्रादेवी गुरुङले १३७० र संघीय समाजवादी फोरमकी मुर्तीदेवी मोचीले ६७४ मत ल्याएकी थिइन् । 

बर्जुमा एमालेले ३ र ६ नम्बर वडा जितेको थियो । नेपाली कांग्रेसले २ नम्बर वडा जित्दा माओवादी केन्द्रले १, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) ले ४ र ५ नम्बर वडा जितेको थियो । 

१०. भोक्राह गाउँपालिका

त्यसैगरी भोक्राह गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका महेन्द्रप्रसाद यादव ३५२८ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अजमल अख्तर मियाँले १९९३ र मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) का शत्रुघनप्रसाद यादवले १५०० मत प्राप्त गरेका थिए । एमालेका मोलिम मियाँले १४९२ मत प्राप्त गर्दा माओवादी केन्द्रका मुनिलाल महतोले ५८२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्र नारायण साहले ५८२ मत ल्याएका थिए ।  

उपाध्यक्षमा पनि संघीय समाजवादी फोरमकी पुनमकुमारी मेहता ३३४३ मतसहित विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी अञ्जुदेवी मेहताले २३०५ मत ल्याउँदा एमालेकी रुक्मणीदेवी मेहताले १६३२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी नुरसत बानोले ७६६ र माओवादी केन्द्रकी बसीरा खातुनले ६०० मत प्राप्त गरेकी थिइन् । 
भोक्राहमा एमालेले वडा नम्बर १, ५ र ८ नम्बर वडा जित्दा नेपाली कांग्रेसले २, ४, संघीय समाजवादी फोरमले ३, ६ र ७ नम्बर वडा जितेको थियो । यस पालिकामा माओवादी केन्द्रले एउटा वडा पनि जित्न सकेको थिएन ।   

११. रामधुनी नगरपालिका
त्यस्तै रामधुनी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका जयप्रकाश चौधरी ९७०६ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का नन्दकुमार बस्नेतले ८८५० मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका दिनेशकुमार चौधरीले  १३६५ मत ल्याउँदा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का केदारप्रसाद गेलाल ३७३ र संघीय समाजवादी फोरमका रामबहादुर खड्काले १५५ मत प्राप्त गरेका थिए । 

उपप्रमुखमा भने एमालेकी सविताकुमारी चौधरी ९७४२ मतसहित विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी विजया कटवालले ७९२६, माओवादी केन्द्रकी श्यामकुमारी साहले १३६७, मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) की देवसरी चौधरीले ६४१, राष्ट्रिय प्रजातन्त्र पार्टीकी मिनाकुमारी कार्कीले ३१३ र संघीय समाजवादी फोरमकी सविना चौधरीले २१५ मत प्राप्त गरेका थिए । 

सो पालिकामा एमालेले वडा नम्बर २, ५, ६, ७, ८ र ९ नम्बर वडा जित्दा नेपाली कांग्रेसले १, ३ र ४ नम्बर वडा जितेको थियो । रामधुनीमा माओवादी केन्द्रसहित अन्य दलले एउटा पनि वडा जितेका थिएनन् । 

१२. हरिनगरा गाउँपालिका
त्यसैगरी हरिनगरा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका गफार अन्सारी मियाँ ५६५२ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी तत्कालिन संघीय समाजवादी फोरमका हेमनारायण मेहताले ३६३५ मत ल्याउँदा एमालेका लस्करी अन्सारीले २७४० र माओवादी केन्द्रका दिल महमद मियाँले ८८९ मात्र मत प्राप्त गरेका थिए । मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) का सुमन मेहता कोइरीले ३१९ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीकी लालसरी उराँव २०९ मतमा चित्त बुझाउन बाध्य भएकी थिइन् ।  

उपाध्यक्षमा नेपाली कांग्रेसकै रिमझिमकुमारी भगत ५०९६ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्दी एमालेकी सुनीतादेवी मेहताले २९७६ ल्याएकी थिइन् । संघीय समाजवादी फोरमकी ममतादेवी मेहताले २८४७, माओवादी केन्द्रकी मुन्नी कुमारी मेहताले १०६२, मधेशी जनअधिकार फोरम (लोकतान्त्रीक) की शान्तीदेवी राम चमारले ४३५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मुर्सिद आलम अन्सारीले २८० मत प्राप्त गरेका थिए । 

हरिनगराका ५ र ६ नम्बर वडा एमालेले जित्दा नेपाली कांग्रेसले वडा नम्बर १, २, ४ र ७ नम्बर वडा जितेको थियो । संघीय समाजवादी फोरमले ३ नम्बर वडा मात्र आफ्नो पक्षमा पार्न सफल भएको थियो । 

  • प्रकाशित मिति : वैशाख ९, २०७९ शुक्रबार २१:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया