बैंग्लोरमाथि हैदराबादको फराकिलो जित, उक्लियो दोस्रो स्थानमा

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) विरुद्ध सनराइजर्स हैदराबाद ९ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा बैंग्लोरले दिएको ६९ रनको लक्ष्य हैदराबादले ८ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि प्रारम्भिक ब्याटर अभिषेक शर्माले २८ बलमा आठ चौका र एक छक्कासहित ४७ रन बनाए । कप्तान केन विलियम्सन १५ रनमा अविजित रहे । राहुल त्रिपाठीले नटआउट सात रनको योगदान दिए ।

बैंग्लोरका लागि हर्षल पटेलले एक विकेट लिए । त्यसअघि मुम्बईस्थित बेर्बोन स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको बैंग्लोर ६८ रनमै अलआउट भयो । आइपिएल इतिहासमा बैंग्लोरको दोस्रो कम स्कोर हो ।

यसअघि ऊ २३ अप्रिल २०१७ मा केकेआरविरुद्ध ४९ रनमा अलआउट भएको थियो । हैदराबादविरुद्ध बैंग्लोरले १६.१ ओभरमा सबै विकेट गुमाएको हो । उसका लागि सुयश प्रभुदेसाईले १५ र ग्लेन म्याक्सवेलले १२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।  

हैदराबादका लागि मार्को जेनसन, टी नटराजले तीन/तीन, जगदीश सूचित र उर्मान मलिकले एक/एक विकेट लिए । यो जितसँगै हैदराबाद अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले सात म्याच खेल्दा पाँचमा जित र दुई खेलमा हार बेहोरेको छ । 

बैंग्लोरले आठमध्ये चारमा जित र चार खेलमा हार बेहोरेको छ । ऊ अंक तालिकाको चौथो स्थानमा छ । 





  • प्रकाशित मिति : वैशाख ११, २०७९ आइतबार ६:२९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया