logo-img

मोरङको रतुवामाइमा कांग्रेस-माओवादी र जसपा-एसको छुट्टाछुट्टै तालमेल, एमाले र राप्रपा ‘एक्लाएक्लै’

मोरङको रतुवामाई नगरपालिकामा सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धनका अन्य दललाई बाइपास गरेपछि छुट्टाछुट्टै चुनावी तालमेल भएको छ । सो नगरपालिकामा कांग्रेस–माओवादी केन्द्र र जसपा–नेकपा(एस) ले अलग–अलग गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा (एमाले) र राप्रापाले एक्ला एक्लै निर्वाचन लड्ने निर्णय गर्दै उम्मेदवारी दर्ता गराएका छन् ।

रतुवामाईमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गर्दा मेयर नेपाली कांग्रेस र उपमेयर माओवादी केन्द्रले लिने सहमति गरेका थिए । सोहीबमोजिम नेपाली कांग्रेसबाट मेयरमा नागेश्वर प्रसाद सिंह गन्गाइले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी माओवादी केन्द्रका सुमन कालिकोटेले उपमेयरमा उम्मेदवारी दिएका छन् । त्यस्तै, कांग्रेस र माओवादीले दम्भ देखाएको भन्दै सत्ता गठबन्धनकै जसपा र नेकपा (एस) ले अलग्गै वडा तहसम्म चुनावी तालमेल गरेका छन् ।

गठबन्धनमा भएको सहमतिबमोजिम एमालेबाट विभाजित भएर बनेको नेकपा (एस) का तर्फबाट मेयरमा विश्नाथ राय अमात र जसपाका खड्ग विक्रम टुङ्खुङले उपमेयर पदमा उम्मेदवारी दिएका छन् ।

नेकपा (एमाले) र राप्रापा एक्लाएक्लै चुनावी मैदानमा छन् । एमालेबाट दुर्गाबहादुर विष्ट मेयरको उम्मेदवार बनेका छन् । सोही पार्टीबाट उपमेयरमा निवर्तमान उपमेयर दयमन्दादेवी चुडाल चुनावी मैदानमा छिन् ।



त्यस्तै, राप्रपाको तर्फबाट मेयरमा गोविन्दबहादुर कट्वालले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी नरहरी निरौलाले फरकधारलाई जानकारी दिए । उनका अनुसार राप्रपाबाट उपमेयरमा विणादेवी सिंह मण्डलको उम्मेदवारी परेको छ ।

त्यस्तै, रतुवामाईको मेयर र उपमेयरमा एक/एक जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । मेयरमा कृष्णप्रसाद बाग्ले र उपमेयरमा टंक ढकालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निरौलाले जानकारी दिए ।



उनका अनुसार मेयर र उपमेयरमा पाँच/पाँच जनाको उम्मेदवारी परेको छ । त्यस्तै, वडाध्यक्षमा १० वडाका वडाध्यक्षमा झण्डै ६ गुणा बढीले उम्मेदवारी दिएका छन् । वडाध्यक्षका लागि ५८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, ४० वडा सदस्य पदका लागि १८१ जनाको उम्मेदवारी दर्ता भएको निरौलाले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर १ मा वडाध्यक्षका लागि ६ जना, २ मा ९, ३ मा ४, ४ मा ८, ५ मा ५, ६ मा ५, ७ मा ८, ८ मा ४, ९ मा ५ र १० नम्बर वडामा ४ जनाले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, २० जना खुला वडा सदस्यका लागि ९८ जना, १० महिला सदस्यका लागि ४४ जना र १० जना दलित महिला सदस्यका लागि ३९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२०७४ मा यस्तो थियो निर्वाचन परिणाम

२०७४ सालमा सम्पन्न निर्वाचनमा एमाले, कांग्रेस र राप्रपा एक्ला एक्लै निर्वाचन लडेका थिए । सांगठनिक रूपमा कमजोर रहेका माओवादी केन्द्र र तत्कालीन संघीय समाजवादी फोरमले चुनावी तालमेल गरेका थिए ।

सो निर्वाचनमा नेपाली कांग्रेसका रविन राई मेयरमा ९८९५ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का टिकेन्द्रबहादुर पोमुले ८१०० मत प्राप्त गरेका थिए ।

माओवादी केन्द्र र संघीय समाजवादी फोरमका सझा उम्मेदवार माओवादी केन्द्रका प्रकाश पौडेलले ३७२८ मात्र मत प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझाएका थिए । राप्रपाकी उर्मीला कुमारी सिंह गन्गाईले ६४८ मत प्राप्त गरेकी थिइन् ।

उपमेयरमा भने एमालेकी दयमन्तादेवी चुडाल ८३७२ मतसहित विजयी भएकी थिइन् । उनकी निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी फुलवतीदेवी गोढीले ८३१३ मत ल्याएकी थिइन् ।

माओवादी केन्द्र र संघीय समाजवादी फोरमका साझा उम्मेदवार संघीय समाजवादीका नारायण ताजपुरियाले ३३५५ मत प्राप्त गरेका थिए । उनी हाल कार्यकर्ताहरुसहित एमालेमा प्रवेश गरिसकेका छन् ।

राप्रपाका दामोदर प्रसाद गौरापिप्लीले ६४४ मत ल्याएका थिए ।

  • प्रकाशित मिति : वैशाख १३, २०७९ मंगलबार १९:२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया