आइपिएल : धोनीको पुनरागमन कप्तानीमा चेन्नईको रोमाञ्चक जित

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई १३ रनले हराएसँगै चेन्नईले लिगमा तेस्रो जित निकालेको हो । उसले नौ म्याच खेल्दा ६ खेलमा भने हारको सामना गरेको छ । 

यता हैदराबादको यो लगातार दोस्रो तथा समग्रमा चौथो हार हो । आफ्नो नवौं खेलमा चेन्नईले दिएको २०३ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो । उसका लागि विकेटकिपर निकोलस पूरनले आक्रामक पारी खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् ।

उनले ३३ बलमा ६ छक्का र तीन चौकाको मद्दतमा अविजित ६४ रन बनाए । त्यस्तै, कप्तान केन विलिम्सन ४७, अभिषेक शर्मा ३९, एडन मार्कम १७ र सशांक सिंह १५ रनमा आउट भए । चेन्नईका लागि मुकेश चौधरी चार ओभरमा ४६ रन दिएर सर्वाधिक चार विकेट हात पारे ।  त्यस्तै, मिचेल सान्टनर र ड्वेन प्रिटोरियसले एक/एक विकेट हात पारे । 

त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०२ रन बनाएको थियो । उसका लागि ऋतुराज गायकवाडले ५७ बलमा ६ चौका र ६ छक्कासहित ९९ रन बनाए । त्यस्तै, डेभन कन्वेले ५५ बलमा आठ चौका र दुई छक्काको सहयोगमा अविजित ८५ रनको योगदान दिए ।  

कप्तान महेन्द्रसिंह धोनी आठमा आउट हुँदा रवीन्द्र जडेजा एक रनमा अविजित रहे । हैदराबादका लागि टी नटराजनले मात्र दुई विकेट लिन सके । हारका बाबजुद पनि हैदराबाद अंक तालिकाको चौथो स्थानमा यथावत रहेको छ । चेन्नई ६ अंकका साथ तालिकाको नवौं स्थानमा छ । शीर्षमा भने गुजरात टाइटन्स छ । उसले ९ म्याचमा १६ अंक जोडिसकेको छ ।   





  • प्रकाशित मिति : वैशाख १९, २०७९ साेमबार ६:३४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया