गठबन्धनका कारण दार्चुलामा एमालेलाई साख जोगाउन सकस

दार्चुलामा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जिल्लाका ९ वटै स्थानीय तहमा वडा तहसम्मै गठबन्धन गरेका छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा तीन स्थानीय तह जितेको एमालेका लागि योपटक पुरानै साख जोगाउन कठिन देखिएको छ । गठबन्धनका कारण कतिपय स्थानमा नेता कार्यकर्ता रुष्ट देखिएका छन् । रुष्ट कार्यकर्ताको भोट तान्न सके मात्रै एमालेलाई लाभ हुने आवाज सुनिन थालेका छन् । 

संघीयता लागू भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा एमालेले दार्चुलामा अपि हिमाल गाउँपालिका, नौगाड गाउँपालिका, लेकम गाउँपालिका जितेको थियो ।

माओवादी केन्द्रले मार्मा गाउँपालिका जितेको हो भने कांग्रेसले महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका, र व्याँस गाउँपालिका जितेको थियो । अहिलेको मत भार हेर्दा गठबन्धन एमालेभन्दा हरेक स्थानीय तहमा एक हजारभन्दा बढीको मतान्तरमा अघि छ ।

नेकपा एमालेले ०७४ को स्थानीय तह जितेको नौगाड गाउँपालिकामा अध्यक्ष प्रेमसिंह धामीले २ हजार २८९ मत ल्याएर जिजयी भएका थिए । त्यहाँ काँग्रेसले १ हजार ८१६ तथा नेकपा माओवादी केन्द्रले १ हजार ५३३ मत ल्याएका थिए । नौगाड गाउँपालिकामा एमालेको भन्दा गठबन्धनको एक हजार मत बढी छ ।

यस्तै, एमालेले जितेको अपिहिमाल गाउँपालिकामा धर्मानन्द मन्यालले १ हजार २४९ मत ल्याएर विजयी भएका थिए । अपि हिमालमा नेपाली कांग्रेसको ९२२ मत तथा नेकपा माओवादी केन्द्रको ९ सय ८८ मत आएको थियो । दुवै पार्टीको मत १ हजार ९१० हुँदा यो पालिकामा ६ सय ६१ मतले गठबन्धन अगाडि छ । यो क्षेत्र पनि एमालेको लागि निकै चुनौतीपूर्ण छ ।

नेकपा एमालेले ०७४ जितेको लेकम गाउँपालिकामा परमानन्द जोशीले २ हजार २३५ मत ल्याएर जितेका थिए । यो पालिकामा कांग्रेसले २ हजार १३५ मत तथा माओवादी केन्द्रले १ हजार ५७ मत ल्याएको हो । अहिले दुवैको मत जोड्दा एमालेको भन्दा ९५७ मत बढी गठबन्धनको हुन जान्छ । यो क्षेत्रमा पनि एमालेलाई साख जोगाउन निकै सकस छ ।



यसैगरी दुहुँमा कांग्रेसका पुलेन्द्रबहादुर कार्कीले २ हजार ३०५ मत ल्याएर चुनाव जितेका थिए । दुहुँमा माओवादीको ५८४ मत छ । एमालेले यो ठाउँमा १ हजार ६९७ मत ल्याएको थियो । दुहुँमा गठबन्धन एमालेभन्दा १ हजार १९२ मतले अघि देखिन्छ ।

व्याँसमा कांग्रेसका दिलीपसिंह बुढाथोकीले १ हजार ९१५ मत ल्याएर विजयी भएको ठाउँमा अहिले गठबन्धनका तर्फबाट माओवादीको ८४३ मत जोडिएको छ । यो पालिकामा गठबन्धन एमालेभन्दा एक हजार ११५ मतले अघि छ । तर, यो स्थानीय तहका माओवादी केन्द्रको पुरानो टिम नेकपा एकता हुँदा एमालेमै समायोजन भएको छ । 



एमालेको लागि सबैभन्दा जटिल मार्मा गाउँपालिका छ । माओवादी केन्द्रका जमनसिंह धामीले २ हजार ३५४ मत ल्याएर विजयी भएको यो पालिकामा नेपाली कांग्रेसको १ हजार ६१७ मत आएको थियो । यहाँ एमालेले १ हजार ८९८ मत ल्याएको थियो । अहिले यो पालिकामा एमाले भन्दा गठबन्धन २ हजार बढी मतले अगाडि छ ।

मालिकार्जुन गाउँपालिकामा कांग्रेसका नरेन्द्रसिंह धामीले ३ हजार ८६ मत ल्याएर विजयी भएको स्थानीय तह हो । अहिले यहाँ माओवादी केन्द्रको ९८४ मत थप भएको छ । एमाले उम्मेदवारले यो स्थानीय तहमा २ हजार ५९२ मत ल्याएको थियो । अहिले गठबन्धन एमालेभन्दा १ हजार ४७८ मतले अगाडि देखिन्छ । दुईवटा नगरपालिकामध्ये शैल्यशखिरमा नेपाली कांग्रेसका अमरसिंह धामीले ३ हजार ९२९ मत ल्याएर विजयी भएको ठाउँमा माओवादी केन्द्रको १ हजार ३६६ मत थप भएको छ । एमाले उम्मेदवारले ३ हजार ४०२ मत ल्याएको ठाउँमा अहिले गठबन्धनको मत १ हजार ८९३ मतले बढी छ । 

जिल्ला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकामा कांग्रेसका हंशराज भट्टले ४ हजार ४३ मत ल्याएर विजयी भएका थिए । यो नगरपालिकामा माओवादी केन्द्रको ३४२ मत छ । एमाले उम्मेदवारले नगरपालिकामा ३ हजार ४७६ मत ल्याएका थिए । अहिले गठबन्धन एमालेभन्दा ९ सय ९ मतले अगाडि देखिन्छ ।
 

  • प्रकाशित मिति : वैशाख २०, २०७९ मंगलबार १८:२०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया