कर्णालीमा पदक भित्र्याउने खेलाडीलाई नगद पुरस्कारले सम्मान गरिने

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले २८ खेलमा भाग लिने भएको छ । आगामी जेष्ठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको पोखरामा सम्पन्न हुने प्रतियोगितामा कर्णाली प्रदेशले २८ खेलमा सहभागिता जनाउने भएको हो ।

प्रतियोगितामा विभिन्न ३८ वटा खेलकुद प्रतियोगिता हुँदै छन् । कर्णालीले एथलेटिक्स, कराँते, तेकाण्दो, बक्सिङ, उसु, भारोतोलन, फुटबल, भलिबल, चेस, रग्वी, बास्केटवल, कुस्ती, कबड्डी, हेण्डबल, ब्याटमिन्टन, पौडी, क्रिकेट, सुटिङलगायत खेलमा सहभागिता जनाउने कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए ।

यसका साथै बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र परिषद्का सदस्य सचिव सञ्ज्यालबीच बजेट व्यवस्थापन र आवश्यक तयारीका विषयमा छलफल समेत भएको छ । प्रदेश सरकारले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट पदक विजेतालाई खेलाडी प्रोत्साहनका लागि पुरस्कार प्रदान गर्ने भएको छ ।

प्रदेश सरकारले स्वर्ण पदक विजेतालाई दुई लाख रुपैयाँ, रजत पदक विजेतालाई एक लाख ५० हजार र कास्य पदक विजेतालाई एक लाख रुपैयाँ खेलाडी प्रोत्साहन पुरुस्कार दिने भएको हो । १०औँ राष्ट्रिय खेलकुल प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेशले गण्डकी प्रदेशबाट झण्डा लिने भएकोले कर्णाली प्रदेशबाट खेलाडी, प्रशिक्षक, व्यवस्थापकलगायत गरी ६ सयजनाको सहभागिता रहने जनाइएको छ ।

हाल कर्णाली प्रदेशमा विभिन्न खेलका खेलाडी छनोटको प्रक्रिया चलिरहेको परिषद्का सदस्य सचिव सञ्ज्यालले जानकारी दिए । छनोट भएका खेलाडीलाई भने आगामी जेष्ठ २ गते देखि बन्द प्रशिक्षणमा राखिनेछ । 

खेलाडीको बन्द प्रशिक्षणका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट व्यवस्थापन गर्ने भएको छ ।





  • प्रकाशित मिति : वैशाख २२, २०७९ बिहीबार १९:०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया