एमसिसीबाट सबैभन्दा बढी लाभ बुटवल, भैरहवा र दाङवासीलाई हुने देउवाको दाबी

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार रोक्न पाँच दलीय गठबन्धन बनेको बताएका छन् । बुटवलमा शनिबार आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ओली सरकारमा हुँदा गरेको अत्याचारका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका हुन् ।

‘एमाले अध्यक्ष ओली सरकारमा हुँदा अरु दल र जनतामाथि अत्याचार गरेका र प्रतिनिधिसभा दुई पटकसम्म विघटन गरेकाले अहिलेको गठबन्धन बनेको हो,’  देउवाले भने । उनले बहुचर्चित अमेरिकी सहायता परियोजना एमसिसीबाट सबैभन्दा बढी लाभ बुटवल, भैरहवा र दाङवासीलाई हुने दाबी पनि गरे । 

‘एमसीसीमा बुटवलदेखि भालुवाङ हुँदै लमहीसम्म अत्यन्त बलिया महत्वपूर्ण चौडा रोड बन्दैछ,’ उनले भने, ‘एमसीसीले सबैभन्दा बढी बुटवल, भैरहवा र दाङ देउखुरीसम्मका जनतालाई फाइदा हुनेवाला छ ।’

उनले कांग्रेस महाधिवेशनले नै गठबन्धन गरेर चुनावमा जाने अनुमति दिएको स्मरण गर्दै सबैले गठबन्धनका उम्मेदवारहरूलाई मत दिन आग्रह गरे ।  उनले गठबन्धनलाई टिकाएर लैजाने घोषणा गर्दै कसैले शंका नगर्न आग्रह गरे ।

प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाअन्तर्गत बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत प्रशारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुने बताएका हुन् ।

बुटवलको मुख्य समस्या बुटवलको समग्र विकास, सुकुम्बासी समस्या र रोडको समस्या रहेको बताउँदै देउवाले गठबन्धनका उम्मेदवारले जिते त्यस विषयमा ध्यान दिने पनि बताए । बुटवलको विकासमा सरकारको पूर्ण साथ रहने पनि देउवाले बताए ।





  • प्रकाशित मिति : वैशाख २४, २०७९ शनिबार १७:५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया