छाङ्गरु र तिंकरमा हेलिकोप्टरबाट पठाइयो निर्वाचन सामग्री र कर्मचारी

दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकोप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि व्याँस गाउँपालिका–१ छाङ्गरु र तिंकरका मतदान केन्द्रमा सेनाको हेलिकोप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको हो ।

सो क्षेत्रमा नेपाली भूमिबाट जाने बाटो नभएकाले हेलिकोप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मी लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

सोमबार बिहान सेनाको हेलिकप्टरमार्फत छाङ्गरु र तिंकरका मतदान केन्द्रका लागि मतपत्र, मतदाता परिचयपत्रलगायत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीलाई पठाइएको छ ।

सातजना नेपाल प्रहरी र आठजना निर्वाचन कर्मचारी हेलिकोप्टरमार्फत त्यस क्षेत्र गएका छन् । हिउँदमा सदरमुकाम झरेको सीमा प्रहरी चौकी तिंकरका सुरक्षाकर्मी बन्दोबस्तीमा सामानसहित हेलिकोप्टरमार्फत गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हिक्मत थापाले बताए । 

छाङ्गरुको कैलाशपति आधारभूत विद्यालय केन्द्रमा ३७५ र तिंकरको आधारभूत विद्यालय मोति महिला संघ केन्द्रमा २३१ मतदाता छन् । सो क्षेत्रका बासिन्दा वैशाख तेस्रो सातादेखि सदरमुकामबाट व्याँस उक्लन थालेका छन् । जिल्लामा ८८ हजार २ सय १५ मतदाता रहेका छन् । 





  • प्रकाशित मिति : वैशाख २६, २०७९ साेमबार ९:३३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया