पार्टीको उपसभापति बागी भएर जितेका श्रेष्ठ वडाध्यक्षमा पनि बाजी मार्ने दौडमा

सञ्जीव श्रेष्ठ रंगेली–७ का लागि परिचित नाम हो । निरन्तर विभिन्न सामाजिक काममा सक्रिय रहँदै आएका श्रेष्ठको छवि समाजमा उच्च छ । निरन्तर समाजका लागि केही न केही गरिरहने श्रेष्ठप्रति आम रंगेलीवासीको सहानुभूति छ । उनै श्रेष्ठ आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवार बनेका छन् ।

निरन्तर जनता माझ घुलमिल भइरहने र समाजका लागि सामाजिक कार्यमा अग्रसर रहँदै आएकाले आम मतदाता माझ अरुको तुलनामा जनता माझ लोकप्रिय रहे पनि उनी आवद्ध पार्टी नेपाली कांग्रेसले अरूलाई नै टिकट दिएपछि वडावासी रुष्ट बनेका थिए ।

टिकट नपाएपछि श्रेष्ठ मौन बसेका थिए । जनताको पक्षमा काम गर्ने लोकप्रिय व्यक्तिलाई टिकट नदिएर अन्याय गरेपछि वडावासीकै आग्रहमा उनले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

‘जनलहर मेरो पक्षमा भएपनि पार्टीले टिकट दिएन । मत चुप लागेर बसेको थिएँ ।’ उनले भने, ‘वडावासीले नै आग्रह गरेपछि उम्मेदवारी दिएको हुँ ।’

कांग्रेसले जनताले चाहेको व्यक्तिलाई पाखा लगाएर अरुलाई नै आधिकारिक उम्मेदवार बनाएपछि साथीभाई शुभचिन्तक र वडावासीले स्वतन्त्र उम्मेदवार बन्न गरेको आग्रह श्रेष्ठले नकार्न सकेनन् ।

जसरी पनि जिताउने वडावासीले प्रतिवद्धतासहित उम्मेदवार बन्न आग्रह गरेपछि उनी वडाध्यक्षको उम्मेदवार बनेका हुन् । निरन्तर सामाजिक काममा सक्रिय रहँदै आएका श्रेष्ठको वडामा मात्र नभई सिंगो रंगेली क्षेत्रमा राम्रो प्रभाव छ ।



उसो त श्रेष्ठ मेयरकै बलियो दाबेदार थिए । तर, पार्टी जिल्ला सचिव मोदराज घिमिरेलाई अघि सारेपछि उनी पार्टीबाट वडाध्यक्षको सर्वसम्मत उम्मेदवार बन्नेमा ढुक्क थिए ।

सबैसँग समान व्यवहार गर्ने, जनतासँग घुलमिल हुने र सुख, दुःखमा साथ दिँदै आएर मतदाता माझ सर्वाधिक लोकप्रिय रहेका श्रेष्ठलाई कांग्रेसले पाखा लगाएर कार्यकर्ताले नै नरुचाएका व्यक्तिलाई अघि सारेपछि वडावासीकै आग्रहमा आफू स्वतन्त्र उम्मेदवार बनेको श्रेष्ठले बताए ।



आफ्नो पक्षमा जनसमर्थन भए पनि कांग्रेसले अर्कैलाई उम्मेदवारको टिकट दिएर अन्याय गरेपछि न्यायप्रेमी वडावासीको आग्रहमा उम्मेदवार भएकाले आफूलाई वडावासीले निर्वाचित गराउनेमा विश्वस्त छन् ।

२०२९ सालमा रंगेलीमा जन्मिएका युवा नेता श्रेष्ठ विद्यार्थी कालदेखि नै नेपाल विद्यार्थी संघमा आवद्ध भएका थिए । तत्कालिन कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा श्रेष्ठ नेविसंघको क्षेत्रीय सभापति थिए ।

रंगेली कोइरालाको निर्वाचन क्षेत्र हो । उनी सोही क्षेत्रबाट निर्वाचित हुँदै पटक–पटक प्रधानमन्त्री भएका थिए ।

त्यसपछि कांग्रेसको वडा सभापति भएका श्रेष्ठ उम्मेदवार अघिसम्म नगर उपसभापति थिए । उनी केही महिना पहिले सम्पन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नगर अधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए ।

अझै रोचक त के छ भने नगर अधिवेशनमा आफ्नो टिमबाट उम्मेदवार बन्न चाहेपनि नसमेटेपछि कार्यकर्ता माझ लोकप्रिय भएकै कारण बागी उम्मेदवार भएर पनि उनले उपसभापतिमा बाजि मारेका थिए ।

यसपटक स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षको बागी उम्मेदवार बनेका श्रेष्ठले नै जित्ने धेरैको अनुमान छ । ‘काम गर्नेलाई जिताउने हो’ रंगलीका स्थानीय इश्वर पोखरेल भन्छन, ‘सबैको चाहना उहाँले नै जित्नुपर्छ भन्ने छ ।’

विभिन्न संघ संस्थामा आवद्ध भएर निरन्तर सामाजिक कार्यहरु गर्दै आएका श्रेष्ठ रंगेलीस्थित प्रदेश १ कै चर्चित धार्मिक स्थल संसारी माई मन्दिर व्यवस्थापन समितिको अध्यक्षसमेत हुन् ।

संसारी माई मन्दिर व्यवस्थापन समितिमा आएपछि उनीसहित समितिको टिमबाट  मन्दिरको मुहार फेरिएको छ । सो मन्दिर हाल धार्मिक पर्यटकीय स्थलका रुपमा विकास भएको छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत चर्चित बनेको छ ।

मन्दिरमा दर्शन गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वासका कारण हाल सो मन्दिरमा नेपालका अधिकांश स्थान र भारतबाट समेत आउने भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ ।

श्रेष्ठकै नेतृत्व र पहलकदमीमा सो मन्दिरमा प्रत्येक दशैँको फूलपातीका दिन प्रदेशस्तरीय फुलपाती बढाई हुँदै आएको छ । तत्कालिन मुख्यमन्त्री शेरधन राईको पालादेखि संसारी माई मन्दिरमा प्रदेश स्तरीय फूलपाती बढाई हुनथालेको हो ।

अहिले सो मन्दिरमा राई नेतृत्वकै सरकारको लगानीमा श्रेष्ठले नेतृत्व गरेको व्यवस्थापन समिति मार्फत प्रयाप्त भौतिक संरचना निर्माणका कामहरु भइरहेका छन् ।

श्रेष्ठको नेतृत्व गर्ने कुशल क्षमता र केही गरौँ भन्ने इच्छाशक्ति भएका युवा नेता भनेर रंगेलीमा आम मतदाता माझ परिचित उनलाई यसपटक वडाध्यक्षमा जिताउने स्थानीयस्तरमा चर्चा छ ।

विभिन्न पार्टीका उम्मेदवार ठूलो रकम खर्च गरेर तामझामका साथ घरदैलो गरे पनि यतिबेला श्रेष्ठ जनताको घरदैलोमा ‘डोर टु डोर’ पुगेर मत माग्न व्यस्त छन् । वडालाई नमुना वडाको रुपमा विकास गर्ने अठोट लिएका श्रेष्ठ मतदातासँग आशीर्वाद लिँदै वडाका हरेक टोलका घर–घर पुगिरहेका छन् ।

स्वच्छ छविको पहिचान बनाएका उनलाई मतदाताले मत दिएर निर्वाचित गराउने आश्वासन दिएको बताउँछन् । रंगलीमा सवै समुदायको छासमिस बसोबास छ । उनी सवै माझ लोकप्रिय छन् । श्रेष्ठ उम्मेदवार बनेका कारण आफूहरू उनलाई मत दिएर जिताउन आतुर रहेको पोखरेलले बताए ।

आफू निर्वाचित भएको खण्डमा वडालाई सूचना प्रविधिमैत्री नमुना वडा बनाउने श्रेष्ठले अठोट लिएका छन् । श्रेष्ठले निर्वाचित भए आफूलाई दिएको मत खेर जान नदिने प्रतिवद्धतासहित जनता माझ पुगिरहेका छन् । 

उनले वडाको चौतर्फी विकासका लागि विभिन्न योजना अघि सारेका छन् । उनले वडा कार्यालयसम्म पुग्ने ज्येष्ठ नागरिकका लागि कर्मचारीहरु घरमै पठाएर निःशुल्क स्वास्थ्योपचारको बाचा गरेका छन् ।

उनले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्तासमेत घर घरमै पुर्याउने व्यवस्था गर्ने बताएका छन् । त्यस्तै श्रेष्ठले वडामा सडक, बिजुली बत्ती, खानेपानी, विभिन्न ठाउँमा निःशुल्क वाईफाई जडान, पार्क र चौतारा निर्माणलाई प्राथामिकतामा राखेर विकास निर्माणका कामहरु अघि बढाउने योजना बनाएको बताएका छन् ।

श्रेष्ठले आफू निर्वाचित भएको खण्डमा जनतालाई छिटो, छरितो र सहज सेवा दिने बताएका छन् । उनले युवाहरुका लागि पुस्तकालय निर्माणदेखि रंगेलीको धरोहरका रुपमा रहेका काली, संसारी माई मन्दिरका साथै मस्जिद एवम धार्मिकस्थलहरुको विकास र प्रवर्द्धनसमेत प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् ।  उनले ७ नम्बर वडाका रमणीय एवं पर्यटकीय स्थलहरुमा सवैलाई आकर्षित गराई वडाको चौतर्फी विकासमा आफ्नो ध्यान जाने बताए ।

श्रेष्ठ आफ्ना योजनाहरुसहित मतदाताको घरदैलोमा पुग्दा मतदाताहरु उत्साहित रहेको र आफूलाई मतदान गर्न आतुर रहेको दावी गरे । ‘मेरो उम्मेदवारीले मतदाता एकदमै उत्साहित हुनुहुन्छ । मतदान गर्न आतुर हुनुहुन्छ । मैले आफूले गर्ने कामको स्पष्ट र भिजनसहित योजनाहरु ल्याएको छु’ उनले भने, ‘आशा छ जनताले जिताउनु हुन्छ ।’

उनी राजनीति दलहरुले युवालाई राजनीतिक स्वार्थका लागि मात्र प्रयोग गर्ने तर, अवसरका बेला पाखा लगाउने परिपाटीको अन्त्यका लागि आफ्नो उम्मेदवारी भएको बताउँछन् । ‘पार्टीले काममा दलाउने तर, अवसर नदिने परिपाटी अन्त्य गर्न मेरो उम्मेदवारी हो’ उनले भने ।

  • प्रकाशित मिति : वैशाख २६, २०७९ साेमबार १८:१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया