स्थानीय तह निर्वाचन : कर्णालीका ३२ प्रतिशत मतदानस्थल अतिसंवेदनशील
फाइल तस्वीर

कर्णाली प्रदेशका १० जिल्लामा कुल नौ सय सात मतदानस्थल छन् । यी स्थानमा एक हजार तीन सय ८५ मतदान केन्द्र छन् । प्रदेशका कुल १० लाख एक हजार दुई सय ८२ मतदाता छन् ।

प्रदेशभर ३२ प्रतिशत मतदानस्थल अतिसंवेदनशीलका रूपमा लिइएको छ । कुल दुई सय ९८ मतदान स्थललाई अतिसंवेदनशीलका रूपमा वर्गीकरण गरिएको हो । भौगोलिक विकटता, सञ्चारको सुविधामा कमीलगायतका पक्षले यी मतदानस्थललाई अति संवेदनशीलका रूपमा राखिएको हो ।

यसैगरी चार सय ११ मतदानस्थल संवेदनशील र एक सय ९८ सामान्य रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
मतदानस्थलमा चारवटा सुरक्षा रेखा बनाई सुरक्षा दिने आयोगको तयारी छ । 

सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा म्यादी प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरी खटिने कर्णाली प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

यसैगरी सुरक्षाको चौथो घेरामा नेपाली सेना तैनाथ हुनेछ । कर्णालीका जिल्लाहरूमा जिल्ला निर्वाचन सुरक्षा समितिले विगतका निर्वाचनमा भएका हिंसात्मक क्रियाकलाप, भौगोलिक अवस्था, दलीय प्रतिस्पर्धा लगायतलाई आधार मानेर सुरक्षा रणनीति तय गरेर सुरक्षाकर्मी खटाएको अधिकारीले जानकारी दिए ।

प्रदेशभर ७९ वटै स्थानीय तहका मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी खटिसकेका छन् । भौगोलिक रूपमा विकट मानिने कर्णालीका दुर्गम क्षेत्रमा सोमबार र सुगम क्षेत्रमा रहेका मतदान केन्द्रमा मंगलबार नै मतदान अधिकृतसहितको टोली खटिसकेको निर्वाचन कार्यालयले जनाएको छ ।



जिल्लागत अवस्थाः

सुरक्षाका दृष्टिकोणले प्रदेशमा सबैभन्दा बढी अति संवेदनशील मतदानस्थलहरू कालिकोट जिल्लामा रहेका छन् । एकसय मतदानस्थल र एकसय १९ वटा मतदान केन्द्र रहेको कालिकोटमा ७३ मतदानस्थलहरू अति संवेदनशील क्षेत्रमा परेका छन् । यस्तै, संवेदनशील २६ र सामान्य एक मतदानस्थल रहेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।



सुर्खेतमा एकसय ३८ मतदानस्थल र दुई सय ९१ मतदान केन्द्र रहेका छन् । जसमा अति संवेदनशील २०, संवेदनशील ८५ र सामान्य ३३ वटा मतदान स्थल छन् । 

दैलेखमा एकसय ३६, मतदानस्थल र दुई सय सात मतदान केन्द्र तोकिएको छ । दैलखमा अति संवेदनशील ४६, संवेदनशील ५५ र सामान्य ३५ मतदानस्थल रहेका छन् ।

एकसय ४२ मतदान केन्द्र रहेको जाजरकोटमा ८५ वटा मतदानस्थल कायम गरिएकोमा सुरक्षाका दृष्टिकोणले एक मतदानस्थल अति संवेदनशील तोकिएको छ । यस्तै, ५४ संवेदनशील र ३० वटा मतदानस्थल सामान्य छन् । 

रुकुमपश्चिममा १९ वटा मतदानस्थल अति संवेदनशील पर्दा ४५ वटा सामान्य र १२ संवेदनशिल छन् । रुकुमपश्चिमा ७६ वटा मतदानस्थल र एकसय ३९ मतदान केन्द्र रेहका छन् । 

हिमाली जिल्ला डोल्पामा ६६ मतदानस्थल तोकिदा जम्मा मतदान केन्द्र पनि ६६ नै रहेका छन् । डोल्पामा २३ अति संवेदनशील, २६ संवेदनशील र १७ सामान्यमा केन्द्रका रूपमा रहेका छन् ।

अर्को हिमाली जिल्ला हुम्लामा नौवटा मतदानस्थल अति संवेदनशील क्षेत्रमा रुपमा रहेका छन्, ३० मतदान स्थल संवेदशिल र १३ वटा सामान्य छन् । हुम्लामा ५२ वटा मतदानस्थलमा ५४ वटा मतदान केन्द्र रहेका छन् ।

दुई सय एक मतदान केन्द्र र एकसय १४ मतदानस्थल रहेको सल्यानमा ४१ वटा अति संवेदनशील मतदानस्थलको रूपमा परेका छन् भने, ५७ संवेदनशील र १६वटा सामान्यमा परेका छन् ।

जुम्लामा ७९ मतदानस्थल तोकिदा एकसय दुई मतदान केन्द्र कायम भएका छन् । जसमा अति संवेदनशील ४०, संवेदनशील १४ र सामान्यमा २५ मतदानस्थल तोकिएका छन् । 

मुगुमा २६ अति संवेदनशील तोकिँदा ८५ संवेदनशील र ३३ वटा सामान्यमा परेका छन् । मुगुमा जम्मा ६१ मतदानस्थल र ६४ मतदान केन्द्र तोकिएका छन् ।

  • प्रकाशित मिति : वैशाख २८, २०७९ बुधबार १७:५८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया