महिनावारीमा लगाइने प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारको लक्ष्य : उपाध्यक्ष पौडेल
फाइल तस्वीर

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले महिनावारीमा लगाइने प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारले लक्ष्य लिएको बताएका छन् । 

बुधबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले महिनावारी महिलाहरुको समस्याको रुपमा देखापरेको उल्लेख गर्दै ती समस्या हल गर्नका लागि सरकारले विद्यालयहरुमा महिनावारीमा लगाइने प्याड निःशुल्क वितरण गरिरहेको र अव सबै महिलाहरुलाई निःशुल्क वितरण गर्ने गरी बजेट, नीति तथा कार्यक्रम ल्याउने बताए । उनले पहाडका विद्यालयहरुमा महिला छात्राबासको संख्या बढाउने विषयलाई पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने योजना प्रस्तुत गरे । 

विद्यालय तहका छात्राहरुलाई अध्ययनका लागि सहज बनाउन पनि सरकारले पहाडका विद्यालयहरुमा छात्राबासको आवश्यक व्यवस्था मिलाउनुको विकल्प नरहेको उपाध्यक्ष पौडेलले बताए । 

‘सबभन्दा ठूलो इस्यू चाँही मैले महिला छात्राबासहरुको देखिराखेको छु । बजेटमा पनि जजसको पावर छ, उसले मात्रै काम गर्ने÷गराउने गर्दाखेरी उल्टो रिजल्ट आएको देखिएको छ । सबभन्दा बढी पहाडका स्कुलहरुमा छात्राबासको आवश्यक्ता भएकाले त्यसमा बजेटलाई फोकस गर्न लागिएको छ' उनले भने  'त्यसैगरी महिनावारीमा लगाइने प्याडहरु देशभर निःशुल्क वितरण गर्ने सरकारको लक्ष्य छ । अहिले स्कुलहरुमा निःशुल्क वितरण भईरहेको छ । महिला सशक्तिकरणका लागि राष्ट्रिय महिला आयोगको भूमिकालाई प्रभावकारी बनाउने गरी बजेटको व्यवस्था हुन्छ ।’

उपाध्यक्ष पौडेलले महिला सशक्तीकरणका लागि राष्ट्रिय महिला आयोगको कामलाई प्रभावकारी बनाउने विषयमा पनि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिने बताए । उनले महिला सेल बनाएर आयोगले महिलाहरुको हितमा काम गरिरहेको र त्यसलाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

उपाध्यक्ष पौडेलले महिलाहरुको सुरक्षाका लागि सुरक्षा निकायहरुमा पनि महिलाहरुको सहभागिता बढाउन सरकार लागिरहेको बताए ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १४:४४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया