एन्फाका पूर्वअध्यक्ष थापालाई फिफाले दियो यस्तो चेतावनी
फाइल तस्वीर

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ ।

फिफाले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै प्रतिबन्ध खेपिरहेका थापालाई फुटबल गतिविधिमा सामेल नहुन भनेको एन्फाले जनाएको छ । एन्फाको अफिसियल वेबसाइटमा उल्लेख भएअनुसार पत्रमा पूर्वअध्यक्ष थापामाथि लगाइएको प्रतिबन्धबारे स्मरण गराइएको छ ।

'जबसम्म प्रतिबन्ध कायम रहन्छ, एन्फा र यसका सदस्यले गणेश थापालाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको (प्रशासनिक, खेलकूद वा अन्य) कुनै पनि प्रकारको फुटबल सम्बन्धी गतिविधिमा संलग्न हुन जानीजानी अनुमति नदिने अपेक्षा गर्दछौं,' पत्रलाई उद्धृत गर्दै एन्फाले लेखेको छ।

फिफाले थापालाई भ्रष्टाचारको आरोपमा कात्तिक २०७२ मा फुटबल गतिविधिबाट १० वर्षका लागि प्रतिबन्ध लगाएको थियो । तर, उनले गत बुधबार पत्रकार सम्मेलन गरी वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले आफ्नो चरित्रहत्या गर्न खोजेको आरोप लगाएका थिए ।

थापाले आफूविरुद्ध वर्तमान शेर्पाले लगाएका १४ आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिएका थिए । उनले आरोप प्रमाणित गर्न नसके वर्तमान अध्यक्ष शेर्पा एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागीदार बन्नुपर्ने चेतावनी दिएका थिए ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार २१:४४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया