नेपाल युगाण्डासँगको तेस्रो खेलमा पनि पराजित

लगातार तीन खेलमा पराजित भएसँगै नेपाली राष्ट्रिय महिला टिमले घरेलु मैदानमा जारी युगाण्डाविरुद्धको ट्वान्टी–२० शृंखला दुई खेलअगावै गुमाएको छ ।

शृंखला गुमाएपछि नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले खेलाडीको प्रदर्शन नै फितलो भएको प्रतिक्रिया दिइन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न पाँच ट्वान्टी–२० शृंखलाअन्तर्गत तेस्रो खेल युगाण्डासँग ६ विकेटले पराजित भएपछि कप्तान रुबिना क्षेत्रीले पराजयको जिम्मा आफूले लिने बताइन् । 

खेलपछिको पत्रकार सम्मेलनमा उनले अपेक्षाअनुसारको प्रदर्शन ब्याटिङ र बलिङ पक्षमा नहुँदा शृंखला गुमाउनु परेको स्वीकार गरिन् । कप्तान रुबिनाले नेपाली खेलाडीमा मुख्य फिटनेस र फिल्डिङमा चुकेको बताइन् । 

अघिल्ला दुई खेल गुमाइसकेको नेपाल बिहीबार जित्नैपर्ने दबाबसहित मैदानमा उत्रिए पनि नेपाल युगाण्डासँग ६ विकेटले पराजित भएको हो । जसका कारण पाँच ट्वान्टी–२० खेलको शृंखला भ्रमणकारी टोली युगाण्डाको पक्षमा पुगेको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले युगाण्डासामु १ सय रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको युगाण्डाले १८.२ ओभरमा मात्र तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । 

फितलो बलिङ गरेको नेपालविरुद्ध युगाण्डाका लागि ओपनर केभिन अविनोले सर्वाधिक ४२ रनको अविजित इनिङ खेलिन् भने अर्की ओपनर लियोना बाब्रिए ५ रन बनाइन् । यस्तै, यानेट एम्बाबाजीले २७ रनको पारी खेल्दा रिता मुसामालीले ९ रनको योगदान गरिन् । 



सामान्य लक्ष्य पछ्याएको युगाण्डाका लागि पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएकी रिता न्यान्गेन्डो १ रनमा पेभेलियन फर्किंदा फियोना कुलुमे ४ रनमा अविजित रहिन् । युगाण्डाको ४ विकेट निकाल्ने क्रममा तीव्र गतिकी बलर कविता कुँवरले २ तथा रुबिना क्षेत्री र इन्दु बर्माले समान १/१ विकेट लिए । 

यसअघि पहिला ब्याटिङ गरेको नेपालका लागि ज्योति पाण्डे अर्धशतक बनाउनबाट तीन रनले चुकिन् । उनले ५४ बलमा पाँच चौकासहित ४७ रनको महत्वपूर्ण इनिङ खेले पनि अन्य ब्याट्सवुमनले साथ दिन सकेनन् ।
लगातार विकेट गुमाएको नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन जोड्नुबाहेक अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।



किफायती बलिङ गरेको युगाण्डाका लागि फियोना कुलुमे, कोन्ची अवेको र साराह एकिटेङले २–२ तथा यानेट एम्बाबाजी र रिता मुसामालीले १–१ विकेट आफ्नो नाममा लेखाए । यससँगै नेपालले शृंखला गुमाउन पुगेको छ । यद्यपि, दुई खेल अझै बाँकी छन् । 

नेपालले पहिलो ट्वान्टी–२० मा १२ रनले पराजित भएको थियो भने दोस्रो ट्वान्टी–२० मा १ विकेटले स्तब्ध बनेको थियो । चौथो खेल अब नेपालले शुक्रबार खेल्नेछ भने अन्तिम खेल शनिबार हुनेछ । 

  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १८:५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया