ओलीको जन्मथलोमा एमालेले जोगाउन सकेन विरासत, गठबन्धनले कांग्रेसलाई फाइदा
माओवादी गाउँपालिका उपाध्यक्षमा सीमित

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो रहेको तेह्रथुममा एमालेलाई धक्का लागेको छ । ६ वटा स्थानीय तह रहेको यहाँ ०७४ को निर्वाचनमा एमालेले पाँच र कांग्रेसले एउटा पालिका जितेका थिए । ०७४ मा पहिलो बनेको एमाले यसपटकको निर्वाचनमा भने तेह्रथुममा दोस्रोमा खुम्चिएको छ । ​

एमालेविरुद्ध चुनावी तालमेल गरे पनि तेह्रथुममा पाँच दलीय सत्ता गठबन्धनको फाइदा कांग्रेसलाई मात्र भएको छ । सत्ता गठबन्धनका अन्य दलले चुनावी तालमेल गरेर एमालेलाई पराजित गर्नुबाहेक कुनै फाइदा लिन सकेनन् ।

मत परिणामअनुसार गठबन्धन गरेर कांग्रेसले सिट बढाउँदा गठबन्धनका अन्य दललाई भने निराशा मात्र हात परेको छ । ०७४ को निर्वाचनमा एमालेले एउटा नगरपालिकाको मेयर, चारवटा पालिका अध्यक्ष, एक उपमेयर र तीन पालिकाको उपाध्यक्ष जितेको थियो । त्यस्तै, कांग्रेसले एउटा नगरपालिकाको मेयर र एक पालिकाको उपाध्यक्ष जितेको थियो ।

यसपटक कांग्रेसले एमालेभन्दा बढी सिट जितेको छ । यसपालि एमाले एउटा नगरपालिकाको मेयर, दुई पालिका अध्यक्ष, एक उपमेयर र दुई पालिका उपाध्यक्षमा मात्र सीमित भएको छ ।  कांग्रेसले भने दुई पालिका अध्यक्ष, एउटा मेयर, एक उपमेयर र दुई पालिका उपाध्यक्ष जितेको छ । 

कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले आठराई गाउँपालिकाको उपाध्यक्ष मात्र जितेको छ । कांग्रेसले तेह्रथुमको आठराई, फेदाप गाउँपालिका अध्यक्ष, लालिगुराँस नगरपालिकाको मेयर, फेदाप, मेन्छेयाम गाउँपालिका उपाध्यक्ष र लालीगुराँस नगरपालिकाको उपमेयर जितेको छ । 

त्यस्तै, एमालेले छथर गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, मेन्छेयाम गाउँपालिका अध्यक्ष र म्याङलुङ नगरपालिकाको मेयर/उपमेयर जितेको छ । कांग्रेससँग गठबन्धन गरे पनि माओवादीले आठराई गाउँपालिकाको उपाध्यक्षबाहेक जिल्लाभरि एउटा पनि वडा जित्न सकेन । 



०७४ को निर्वाचनमा तेह्रथुमका कुल ४३ वडा मध्ये एमालेले २२ वटा वडाध्यक्ष  जित्दा कांग्रेस १९ वडामा विजयी भएको थियो । सो निर्वाचनमा एउटा मात्र वडाध्यक्ष जितेर माओवादी केन्द्रले अस्तित्व मात्र जोगाउन सफल भएको थियो । एकजना स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका थिए । 

यसपटकको निर्वाचनमा पनि आफुले जितेको वडाध्यक्ष संख्या एमालेले यथावत राखेको छ । कांग्रेसले एउटा  थपेर २० वटा वडाध्यक्ष पुर्‍याउँदा ०७४ मा जितेको एउटा वडाध्यक्ष पनि माओवादीले गुमाएको छ । 



यस्तो छ तेह्रथुम​को मत परिणाम 

आठराई गाउँपालिका 

एमाले अध्यक्ष ओलीको जन्मथलो रहेको आठराईमा गठबन्धन विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका दिलकुमार पाहिम ४६९२ मत ल्याएर निर्वाचित भए । एमालेका रामचन्द्र थपलियाले ४००८ मत प्राप्त गरे । उपाध्यक्षमा माओवादी केन्द्रका बलीराज इन्ङ्गनाम झिनो मतान्तरले विजयी भए । उनले उपाध्यक्षमा ४०८० मत प्राप्त गर्दा एमालेकी रुपादेवी कन्दङ्वा ४०७० ल्याइन् ।

आठराई गाउँपालिका–२, ३, ४ र ६ नम्बर वडा कांग्रेसले जित्दा १, ५ र ७ नम्बर वडा एमालेले जितेको छ । यो पालिकामा माओवादीले एउटा पनि वडा जितेन । 

०७४ को निर्वाचनमा एमालेले आठराई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित पाँच वटा वडा जितेको थियो । यद्यपि एमालेबाट गाउँपालिका अध्यक्ष जितेका मानबहादुर लिम्बू पार्टी विभाजन पछि नेकपा (एस) मा लागेका थिए । यसपटक नेकपा (एस) बाटै ७ नम्बर वडाको वडा सदस्यमा उठेका उनी फराकिलो मतान्तरसहित पराजित भए । सो निर्वाचनमा कांग्रेस र माओवादी केन्द्र एक/एक वडा मात्र जितेका थिए । 

छथर गाउँपालिका 

छथर गाउँपालिकामा भने एमालेले गठबन्धनलाई चुनौती दिँदै आफ्नो विरासत कायम राख्न सफल भयो । ०७४ मा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष/उपाध्यक्ष यसपटक पनि दोहरिएका छन् । अध्यक्षमा सन्तवीर लिम्बू ३९९५ मतसहित अध्यक्षमा दोहरिएका हुन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका इन्द्रबहादुर इम्सोङले ३३०६ मत प्राप्त गरे । 

उपाध्यक्षमा एमालेकै तारा खरेल दोहरिएकी छन् । उपाध्यक्षमा खरेलले ३७७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेकराज लिम्बूले ३६०२ मत मात्र प्राप्त गरे । सो गाउँपालिकाको वडा नम्बर २, र ६ नम्बर वडा कांग्रेसले जित्दा एमाले १, ३, ४, ५, नम्बर वडामा विजयी भयो । २०७४ मा अध्यक्ष/उपाध्यक्षसहित चार वटा वडा जितेको एमालेले यसपटक भने एउटा वडा गुमायो । 

फेदाप गाउँपालिका 

यसपटकको निर्वाचनमा नेपाली कांग्रेसले फेदाप गाउँपालिका एमालेसँग खोसेको छ । अझ रोचक त के छ भने २०७४ को निर्वाचनमा कांग्रेसका उम्मेदवार जोसँग पराजित भएका थिए अहिले तीनैलाई पराजित गरेर विजयी भएका छन् । 

गत निर्वाचनमा एमालेका हरिप्रसाद चोङवाङ लिम्बूसँग पराजित भएका कांग्रेसका केशवप्रसाद भेटवाल अहिले उनैलाई पराजित गरेर गाउँपालिका अध्यक्ष जितेका छन् । भेटवालले ४०४१ मत ल्याएर निर्वाचित हुँदा निवर्तमान गाउँपालिका अध्यक्षसमेत रहेका एमालेका चोङवाङले ३८७९ मत प्राप्त गरे । 

उपाध्यक्षमा पनि ०७४ मा हार/जित भएकाबीच भिडन्त भएको थियो । त्यतिबेला दोब्बर बढी मतले पराजित नेपाली कांग्रेसकी सुनीता पाहिम अहिले ३९८५ मतसहित विजयी भएकी छन् । निवर्तमान उपाध्यक्ष रहेकी एमालेकी गीतादेवी थापाले ३७२५ मत प्राप्त गरिन् । 

सो पालिकामा कांग्रेसले २, ३, ४ नम्बर वडा जित्दा एमाले १ र ५ नम्बर बडा जितेर चित्त बुझाउन बाध्य भएको छ ।   

मेन्छयायेम गाउँपालिका 

मेन्छयायेम गाउँपालिकाका भने एमालेले आफ्नो पुरानो विरासत कायम राख्दै थप शक्ति बढाएको छ । ०७४ मा गाउँपालिका अध्यक्ष र दुईवटा वडा जितेको एमालेले यसपल्ट कांग्रेससँग थप दुईवटा वडा खोस्न सफल भयो । 

यसपटक एमालेले अध्यक्षसहित चारवटा वडा आफ्नो पोल्टामा पार्न सफल भएको छ । अध्यक्षमा एमालेका यादवबहादुर खापुङ २०५५ मतसहित दोहरिएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका धनकुमार लिम्बूले २०२१ मत प्राप्त गरे । 

उपाध्यक्षमा कांग्रेसकी गीतादेवी तिम्सिना नै दोहरिएकी छन् । उनी यसपटक १२ मतको अन्तरले मात्र विजयी भइन् । तिम्सिनाले १९८६ मत ल्याउँदा एमालेकी प्रेमलता घिमिरेले १९७४ मत प्राप्त गरिन् । एमालेले वडा नम्बर १, ४, ५ र ६ नम्बर वडा जित्दा कांग्रेसले २ र ३ नम्बर वडा जित्यो ।  

म्याङलुङ नगरपालिका 

तेह्रथुम सदरमुकाम रहेको म्याङलुङ नगरपालिकामा पनि एमालेले आफ्नो पुरानो विरासत कायम राख्दै थप शक्ति आर्जन गरेको छ । ०७४ को निर्वाचनमा एमालेले मेयर/उपमेयरसहित पाँच वडा मात्र जितेको थियो । यसपटक भने उसले मेयर/उपमेयरसहित सात वडा जितेको छ । 

मेयरमा एमालेका सञ्जयकुमार तुम्बाहाङ्फे फेरि दोहरिएका छन् । मेयरमा तुम्बाहाङ्फेले ५११७ मत ल्याउँदा कांग्रेसका अर्जुनबहादुर तुम्बाहाङ्फेले ४४७८ मत प्राप्त गरे ।  

उपाध्यक्षमा भने रोचक भिडन्त भएको छ । ०७४ मा एमालेबाट निर्वाचित भएर उपमेयर बनेकी पार्वती सानु डाँगी यसपटकको निर्वाचनमा टिकट नपाएको भन्दै कांग्रेस प्रवेश गरेकी थिइन् । यसपटक कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी उनी एमालेकै उम्मेदवारसँग पराजित भइन् । 

उपमेयरमा एमालेकै जमुनादेवी सुवेदी ५२१० मतसहित निर्वाचित हुँदा निवर्तमान उपमेयर डाँगी ४४१४ पाएर पराजित भइन् । यसपटक एमालेले म्याङलुङ नगरपालिकाको वडा नम्बर ३, ४, ६, ७, ८, ९ र १० नम्बर वडा जित्दा कांग्रेस  १, २ र ५ नम्बर वडामा विजयी भयो । यस पालिकामा पनि माओवादी केन्द्रलाई निराशा नै हात लाग्यो । म्याङलुङमा पनि उसले एउटै वडा पनि जित्न सकेन । 

लालीगुराँस नगरपालिका 

गुराँसको राजधानी भनेरसमेत चिनिने तेह्रथुमको लागि गुराँस नगरपालिकामा भने कांग्रेसले आफ्नो एकलौटी बर्चस्व कायम राखेको छ । ०७४ को निर्वाचनमा मेयर/ उपमेयरसहित ६ वटा वडा जितेको कांग्रेसले आफ्नो विरासत यथावत राखेको हो । 

मेयरमा कांग्रेसका अर्जुन माबोहाङ ५१३९ मतसहित दोस्रोपटक दोहरिँदा एमालेका गाणेशकुमार लिम्बू ३३४४ मत ल्याई दोस्रोपटक पराजित भए । ०७४ मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनले ८२८ मत मात्र प्राप्त गरेका थिए । एमाले प्रवेश गरेका उनले यसपटक पनि बाजी मार्न सकेनन् । 

उपमेयर कांग्रेसकै जमुना मगर कार्की ३५९४ मतसहित विजयी भइन् । उनकी प्रतिद्वन्द्वी एमालेकी छविमाया तिम्सिनाले ३५९४ मत प्राप्त गरिन् । कांग्रेसले वडा नम्बर २, ३, ४, ७, ८ र ९ नम्बर वडा जित्दा एमालेले १, ६ र ५ नम्बर वडाको वडाध्यक्ष स्वतन्त्र उम्मेदवारले जिते ।

यो नगरपालिकामा पनि माओवादी केन्द्रले एउटा वडा पनि जित्न सकेन । यो परिणामलाई हेर्दा तेह्रथुममा गठबन्धनबाट कांग्रेसलाई अत्यधिक फाइदा पुगे पनि अन्य दल उसको जितमा सहयोगी मात्र बनेको देखिन्छ । 

  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १०:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया