दोलखामा कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी तेस्रो

दोलखा जिल्लामा स्थानीय तहका लागि भएको निर्वाचनमा प्राप्त नतिजाअनुसार नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो  हुन पुगेको छ । दुई नगरपालिका, सात गाउँपालिकाका ७४ वटा वडाबाट प्राप्त मत परिणमअनुसार कांग्रेस तीनपालिका प्रमुख, तीन उपप्रमुख र २५ वडाध्यक्षमा विजयी भएको छ ।

त्यसैगरी, दुई पालिकका प्रमुख, पाँच उपप्रमुख र २३ वडाध्यक्षमा एमाले तथा तीन पालिका प्रमुख, एक उपप्रमुख र २१ वडाध्यक्षमा माओवादी विजयी भएको हो । त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले एक गाउँपालिका प्रमुख र दुई वडाध्यक्ष जितेको छ भने दुई वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । 

जिरी र भीमेश्वर नगरपालिकामा मिश्रित परिणाम आएको छ । जिरी नगरपालिकाको प्रमुख–उपप्रमुख र दुई वडाध्यक्ष एमालेबाट निर्वाचित भएका छन् भने अन्य वडामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । उक्त नगरको कार्यपालिकामा भने गठबन्धनको बहुमत छ । त्यस्तै, भीमेश्वर नगरपालिकाको प्रमुखमा कांग्रेस र  उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।  

कांग्रेसले वैतेश्वर र कालिञ्चोक गाउँपालिका तथा भीमेश्वर नगरपलिकामा प्रमुखका साथै तामाकोशी र गौरीशंकर गाउँपालिकामा उपप्रमुख जितेको छ । एमालेले जिरी नगरपालिका र मेलुङ गाउँपालिकामा प्रमुख–उपप्रमुख जितेको छ भने भीमेश्वर नगरपालिका, बिगु गाउँपालिका र शैलुङ गाउँपालिकामा उपप्रमुख जितेको छ । 

माओवादी केन्द्रले शैलुङ, गौरीशंकर र बिगु गाउँपालिकामा प्रमुख जितेको छ भने कालिन्चोक गाउँपालिकामा उपप्रमुख जितेको छ । एकीकृत समाजवादीले तामाकोशी गाउँपालिकामा  प्रमुख जितेको छ ।

दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह रहेको दोलखामा गठबन्धनको स्पष्ट बहुमत छ । अठार पालिका प्रमुख–उपप्रमुखमध्ये सातजना मात्र एमालेका छन् भने ११ गठबन्धनको पक्षमा छन् । 



चौहत्तर वडामध्ये एमालेले २४ वडामा मात्र जितेको छ । गठबन्धनले ४८ र स्वतन्त्रले दुई वडामा जितेको छ । 

अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लामा बलियो देखिएको एमाले यसपटक कमजोर देखिएको छ । अघिल्लो निर्वाचनमा एमाले एक्लैले दोलखामा पाँच गाउँपालिका र दुई नगरपालिका गरी सात स्थानीय तह जितेकामा अहिले दुई स्थानीय तहमा मात्र जित्न सफल भएको छ । 



गत निर्वाचनमा जिल्लाको दुई पालिका उपप्रमुख जितेको नेकपा (माओवादी केन्द्र)ले यस निर्वाचनमा तीन गाउँपालिका प्रमुख र एक उपप्रमुखसहित २१ वडामा जित्न सफल भएको छ । 

  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार १९:१२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया