स्थानीय निर्वाचन : बैतडीका शीर्ष नेताहरूले आफ्नै पालिकामा साख जोगाउन सकेनन्
फाइल तस्वीर

बैतडीमा वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ । गएको स्थानीय तहको निर्वाचनको परिणामभन्दा यस पटक जिल्लामा फरक परिणाम आएको छ । यहाँका कतिपय शीर्ष नेताहरूले नै आफ्ना पालिका तथा वडामा साख जोगाउन सकेनन् ।

जिल्लाको पुर्चौडी नगरपालिकालाई माओवादीको आधार क्षेत्र मानिएको थियो । सो नगरपालिकामा माओवादी केन्द्रले एक वडाबाहेक अरूमा जित निकाल्न सकेन् ।

माओवादीका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य नरेन्द्र कुँवर (विजयसुन्दर) र माओवादी केन्द्रका प्रदेश कमिटी उपाध्यक्ष रणबहादुर कुँवरको गृहपालिका पुर्चौंडीमा माओवादी निकै कमजोर देखिएको हो । गएको स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर दुवै जितेको माओवादीले अहिले दुवै गुमाएको छ । त्यहाँ कांग्रेसको वर्चस्व देखिएको छ ।

यस्तै, दशरथचन्द नगरपालिकालाई कांग्रेसको गढ क्षेत्र मानिन्थ्यो । कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, नेपाली कांग्रेसका पूर्वसचेतक विनयध्वज चन्द, पूर्वराज्य मन्त्री नरबहादुर चन्द र पूर्वसभापति शिवराज भट्टको गृहपालिका दशरथचन्दमा कांग्रेस चार वडामा खुम्चिएको छ । गएको स्थानीय तहको निर्वाचनमा मेयर, उपमेयरसहित ८ वटा वडामा कांग्रेसले जित निकालेको थियो ।

जिल्लाको पाटन नगरपालिकामा एमाले कमजोर देखिएको छ । प्रतिनिधि सभा सदस्य एवं एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीको गृहपालिकामा एमाले कमजोर देखिएको हो । भण्डारीको गृहवडामा कांग्रेसले जित निकालेको छ । यस्तै, मेयर र उपमेयर क्रमशः कांग्रेस र माओवादी केन्द्रले हात पारेका छन् ।

यस्तै, एमाले जिल्ला अध्यक्ष सुरेन्द्र पालको गृह पालिका डिलाशैनीमा पनि एमाले कमजोर देखिएको छ । गएको स्थानीय तहको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र अधिकांश वडामा जित हात पारेको एमाले यो पाली दुई वडामा खुम्चिएको छ । सो पालिकामा एमालेबाटै विद्रोह गरेका स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी पालिका अध्यक्षमा निर्वाचित भएका छन् ।



एमालेका जिल्ला सह-इन्चार्ज एवं केन्द्रीय सदस्य लिलाधर भट्टको पालिका दोगडाकेदारमा भने एमाले बलियो देखिएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित एमालेले ८ वडासमेत आफ्नो पक्षमा पारेको छ ।

यस्तै, कांग्रेसका सुदूरपश्चिम प्रदेश उपसभापति लोकराज अवस्थी र कांग्रेस बैतडीका उपसभापति खगेन्द्र धामीको गृहपालिका सिगासमा भने नेपाली कांग्रेस बलियो देखिएको छ । पालिका अध्यक्षसहित ६  वडामा कांग्रेसले जित हात पारेको छ ।



यस्तै एकीकृत समाजवादी पोलिटब्युरो सदस्य परमानन्द भट्ट, केन्द्रीय सदस्य नरेन्द्र विष्ट र माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज एवं प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य)को गृहपालिका सुर्नयामा दुवै दल कमजोर देखिएका छन् ।

वैशाख ३० गते सम्पन्न पालिका चुनावमा यी दुई दलले चुनावी तालमेल गरे पनि नतिजा हात पार्न सकेन । यस्तै, कांग्रेस उपसभापति वीरबहादुर विष्ट र कांग्रेस सहसचिव दिपेन्द्रबहादुर चन्दको गृह पालिका पनि सुर्नया नै हो । त्यो पालिकामा कांग्रेसले पनि अपेक्षित परिणाम निकाल्न सकेन् ।

यस्तै, सुर्नया गाउँपालिका राप्रपाका पूर्वमहामन्त्री एवं पूर्वमन्त्री जयन्तबहादुर चन्दको गृहपालिका पनि हो । सुर्नयामा राप्रपाले एक वडामा जित हासिल गर्नबाहेक अन्य पदमा जित हासिल गर्न सकेन् । एमालेसँग चुनावी तालमेल गरेको राप्रपाले उपाध्यक्ष पदमा हार व्यहोरेको छ ।

  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार १९:३९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया