धनगढी सुपर लिग : महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर विजयी

कञ्चनपुरको महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर क्रिकेट क्लब धनगढी विजयी भएका छन् ।धनगढी क्रिकेट एकेडेमीलाई २९ रनले पराजित गर्दै महेन्द्रनगरले पहिलो खेलमै जित निकालेको हो । 

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले १६.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो । एक सय १४ रनको सामान्य विजयी लक्ष्यसहित मैदानमा उत्रिएको धनगढी क्रिकेट एकेडेमीले महेन्द्रनगरका बलर सामु २० ओभर पूरै खेल्दा ८४ रन मात्रै बनाउन सक्यो । 

उसका लागि राजु रिजालले ३१ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन । डिसिएलाई सस्तैमा समेट्न महेन्द्रनगरका राहुल भण्डारीले चार ओभर बलिङ गर्दै २६ रन खर्चिएर चार विकेट लिए । हेमन्त धामीले दुई विकेट लिए ।

त्यसअघि धनगढी क्रिकेट एकेडेमीका बलर हिक्मत महराले कसिलो बलिङ गर्दा महेन्द्रनगर ११३ रनमै समेटिएको थियो । उसका लागि आयुष्मान बमले २५ र हेमन्त धामीले २२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक बनेन । 

बलिङतर्फ हेमन्तले चार ओभर बलिङ गर्दै एक मेडन ओभरसहित १८ रन खर्चिएर महत्वपूर्ण छ विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ राहुल भण्डारी चुनिए । आजै भएको दोस्रो खेलमा लिटल फ्लावर क्रिकेट क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई १५ रनले पराजित गर्यो । 

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लिटल फ्लावर क्रिकेट क्लबले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १७९ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । एक सय ८० रन पछ्याउँदै जवाफी ब्याटिङ थालेको कैलाली जिल्ला क्रिकेट क्लबले नौ विकेट गुमाएर १६४ रन मात्रै बनाउन सक्यो । उसका लागि दीपक टमाटाले ४१ र दिनेश ओडले २७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।



बलिङतर्फ लिटल फ्लावरका दीपक बोहराले चार ओभर बलिङ गर्दै २० रन खर्चेर सर्वाधिक चार विकेट लिए । उसका कौशल रुपाखेतीले दुई विकेट लिए । त्यसअघि लिटल फ्लावरका लागि प्रकाश जैशीले चार छक्का र तीन चौकाको मद्दतले २८ बलमा ४८ र कृष्ण कार्कीले छ चौका तथा एक छक्काको मद्दतले २४ बलमा ४२ रनको अविजितपारी खेले । ६ विकेट गुमिसकेको अवस्थामा उनीहरूले अन्तिम ४१ बलमा ८६ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए । 

उसका मनीष थापाले २६ र दीपक बोहराले २२ रन बनाए । बलिङतर्फ कैलाली जिल्ला क्रिकेट क्लबका वीरेन्द्र नाथले दुई विकेट लिए । खेलको ‘प्लेयर अफ दी म्याच’ प्रकाश जैसी चुनिए । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीको आयोजनामा प्रतियोगिता यही जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । 



प्रतियोगिताको विजेताले नगद रु दुई लाख उपविजेताले रु एक लाख तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार, उत्कृष्ट बलर, ब्याट्स म्यान तथा उदीयमान खेलाडीले रु सात हजार ५०० पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतियोगितामा देशका विभिन्न ६ क्लब बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहेको बताइएको छ ।

  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार २१:१४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया