रञ्जन कोइरालाको सजाय घटाउने फैसला सर्वोच्चले गर्‍यो बदर, अब २० वर्ष नै जेल बस्नुपर्ने
फाइल तस्वीर

आफ्नै श्रीमतीको हत्या अभियोगमा जेल परेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने आफ्नै फैसला सर्वोच्च अदालतले उल्टाएको छ ।

कोइरालाको सजाय घटाउने गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले गरेको फैसला सर्वोच्चले उल्टाएको हो ।

जबरा र केसीको पूर्ण इजलासले कोइरालाको जन्मकैदलाई घटाएर ८ वर्ष कायम गरिदिएको थियो । सजाय घटाइदिने फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालयले पुनरावलोकनको निवेदन दिएको थियो ।

पुनरावलोकनको निवेदनमाथि सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीशहरू टंक मोक्तान, कुमार चुडालको इजलासले कैद सजाय घटाउने फैसला उल्टाउँदै २० वर्ष नै सजाय कायम गरिदिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

सर्वोच्चले सजाय घटाएपछि कोइराला जेलबाट छुटिसकेका छन् । कोइरालाले करिब ९ वर्ष पहिले पत्नी गीता ढकालको हत्या गरी मकवानपुरको टिस्टुङको जंगलमा लगेर आगो लगाएका थिए ।

यसअघि गत साउनमा सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाको मुद्दामा पुनरावलोकनको लागि अनुमति दिएको थियो । 



न्यायाधीशहरु बमकुमार श्रेष्ठ, कुमार रेग्मी र प्रकाशकुमार ढुंगानाको इजलासले पूर्वडिआइजी कोइरालाको सजाय मिनाहा गर्ने सर्वोच्चकै फैसलामाथि पुनरावलोकन गर्न अनुमति दिएको हो ।

पत्नी गीता ढकालको हत्यामा दोषी ठहर भएका कोइरालालाई जिल्ला अदालत र पुनरावेदनले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए । तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गराएका थिए ।



सर्वोच्चको फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका थिए ।

  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार १८:९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया