उपेन्द्रको प्रश्‍न : राज्यले नागरिकता नदिने, सजाय नागरिकले भोग्नुपर्ने ?

जनता समाजवादी पार्टी (जसपा) का सांसद उपेन्द्र यादवले नेपाल सरकारका कारण नेपालीले नागरिकता पाउन नसकेको आरोप लगाएका छन् ।

शनिबार प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने सरकारको दायित्व पूरा हुन नसक्दा नेपाली नागरिकले समस्या भोग्नुपरेको बताए । 

सांसद यादवले सरकारले नागरिकलाई नागरिकता दिन नसक्दा नेपाली नागरिकका सन्तान, राष्ट्रिय अधिकारविहीन भएर बाच्न विवश रहेको बताए । उनले सरकारले नागरिकता विधेयक तत्काल पास गरेर नेपाली नागरिकलाई नागरिकताको समस्याबाट मुक्ति दिनुपर्ने बताए । 
 
'राज्यले आफ्नो दायित्व पूरा नगर्दा ती नेपाली नागरिक, नागरिकका सन्तानहरू, राष्ट्रिय र अधिकारविहीन भएको अवस्थामा बाच्न विवश छन् । गल्ती राज्यले गर्ने, राज्यले नागरिकता नदिने, त्यसको सजाय नागरिकले भोग्नुपर्ने ? यसलाई अन्त्य गर्न तत्कालै नागरिकता ऐन, जुन झन्डै ४ वर्षदेखि अलमलमा छ । यसलाई पारित गरेर नागरिकता यथाशीघ्र प्रदान गर्ने व्यवस्था गर्नुपर्छ' उनले भने ।

सांसद यादवले संघीय निजामति ऐनलाई पारित गरेर संघीयतालाई कार्यान्वयनतर्फ अघि बढाउनु पर्ने बताए । 'संघीय निजामति ऐन, अत्यन्त महत्वपूर्ण छ । जसले संघीयतालाई कार्यान्वयन गर्नेछ । पहिला संसदमा दर्ता पनि भइसकेको हो । समितिमा छलफल पनि भइसकेको हो । अहिले कता अलपत्र परेको छ, तिनलाई पारित गरेर संघीयतालाई कार्यान्वयनतर्फ अघि बढाउनुपर्छ’ उनले भने ।

सांसद यादवले मधेसमा निर्वाचन क्षेत्रहरूको पुनर्निर्धा‍रण गर्नुपर्ने माग राखे । उनले निर्वाचन क्षेत्रहरू तय गरिएको बेलामा भन्दा अहिले जनघनत्व बढेकोले त्यसको पुनर्निर्धारण हुन आवश्यक रहेको बताए । 

उनले समानुपातिक समावेशिताको कुरालाई शासक वर्गले विशेष महत्व नदिएको बरु त्यसमा नै आफ्ना मान्छेहरू घुसाउने गरेको आरोप लगाए ।



सांसद यादवले सबै क्षेत्रमा आवश्यक मात्रामा बजेट छुट्याएर विकासलाई सन्तुलित ढंगले अघि बढाउनु पर्ने नीति लिन आवश्यक रहेको स्पष्ट पारे ।



  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार १४:५८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया