दलहरूको विश्वास जित्न शीर्ष नेताहरूसँग बालेन भेट

मंगलबार नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले भेट गरेको तस्बिर बाहिरियो । 

३० वैशाखमा सम्पन्न स्थानीय तहअन्तर्गत काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको समयमा बालेनले ओलीलाई भेटेका थिए । बालकोट पुगेर भेटेको तस्बिर भने उनले कार्यभार सम्हालेको भोलिपल्ट मात्र सार्वजनिक भयो । प्राय: भेटवार्ता हुँदा यसबारे जानकारी र सूचना दिने बालकोट र बालेन दुवै पक्षबाट यसलाई गुपचुप राखिएको भन्दै सामाजिक सञ्जालमा चर्चा पनि भयो । 

आफ्नै दलका उम्मेदवार केशव स्थापितलाई तेस्रो बनाएर चुनाव जितेका बालेनलाई शुभकामना नदिएका एमालेका कतिपय नेता/कार्यकर्ताले बालेनको बालकोट यात्रालाई 'शुभ संकेत' को रूपमा अर्थ लगाउँदै बधाई एवं शुभकामना दिए ।

स्थापितलाई बलियो र बालेनलाई तेस्रो स्थानमा राखेका कतिपय एमाले नेता/कार्यकर्ता उनको फराकिलो जितबाट महानगरमा पार्टीको अवस्थालाई लिएर निराश बनिरहेको बेला ओलीसँग बालेनको भेटको फोटो सार्वजनिक हुँदा खुसी देखिए । 

उनै बालेन बुधबार नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे । काठमाडौं महानगरको कार्यपालिकामा बहुमत रहेको दलका सभापतिसँग बालेनले काम गर्न सहयोगको मागे ।

देउवाले पनि पूर्णरूपमा सहयोग हुने वचन दिए । यसले बालेनका समर्थकलाई केही राहत मिलेको छ । महानगरको प्रत्यक्ष प्रशारण भएको पहिलो कार्यपालिका बैठकमा कांग्रेसबाट विजयी वडा अध्यक्षले 'बबाल' गरेको र बालेनको काममा भाँजो हाल्नसक्ने उनका समर्थकको आक्रोशका बीच देउवाले राम्रो काममा सहयोग हुने वचन दिए । 



बालेनले कुनै दल विशेषलाई नभएर स्वतन्त्र रूपमा विजयी भएका कारण सबैको हुन खोजेको र सबैलाई साथमा लिएर जान खोजेको सन्देश यी भेटवार्ताबाट दिन खोजेका छन् । 

महानगरमा अनुभवी राजनीतिज्ञ र विश्लेषकलाई चक्मा दिँदै जित निकालेका उनले कच्चा राजनीतिक व्यवहार नगर्ने संकेत पछिल्ला 'मुभ'ले देखाएका छन् । उनले नेतासँग भेट गर्ने र सहयोगको वचन लिने क्रम अझै चल्ने देखिन्छ । स्वतन्त्र रूपमा चुनाव जितेका उनले महानगरको नेतृत्वमा सहजसँग रहन र विकासका लागि दलहरूलाई समेत विश्वासमा लिन खोजिरहेका छन् ।



  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार ७:१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया