ठेकेदारले टेरेनन् मेयरको निर्देशन, एक साता बित्दा पनि सुरु भएन सडक ढलान

सडक ढलानको जिम्मा लिएको ठेकेदारले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको सात दिने ‘अल्टिमेटम’को अवज्ञा गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित बजारको सडक ढलानको काम सुचारु गर्न दिइएको ‘अल्टिमेटम’लाई सूर्य विकास जेभीले पूरा गर्न नसकेको हो । 

मेयर तीर्थराज भट्टराईले सडक ढलानको काम अलपत्र पार्ने निर्माण कम्पनीलाई हप्ता दिनभित्र काम सुचारु गर्न १६ जेठमा पत्राचार गर्दै समय सीमा दिएका थिए । तर, निर्माण कम्पनीले बजारको सडक ढलानको कामसमेत सुरु गरेको छैन । दिइएको समय सीमाभित्र सडक ढलानको काम सुचारु नगर्ने निर्माण कम्पनीविरुद्ध कारबाही प्रकृया अघि बढाइने मेयर भट्टराईले बताए । 

नगरपालिकाले अवरुद्ध काम ७ दिनभित्र निर्माण कार्य पुन: सुचारु गर्नका लागि आवश्यक पहल गर्न सघन शहरी तथा भवन निर्माण योजना, ओखलढुंगालाई पनि निर्देशन दिएको थियो । 

दिक्तेलबजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको निर्माण कम्पनीले हाल बेस क्याम्प क्षेत्रमा पुगेर सडक ढलानको काम अलपत्र पारेको छ । आलटालको शैलीमा काम गर्दै आएको निर्माण कम्पनीले गत वैशाख दोस्रो साता यता काम ठप्प पारेको छ ।

लामो समयदेखि दिक्तेलबजारको सडक ढलान कार्य स्थगित हुँदा बजार क्षेत्रमा यातायात अवरुद्ध भएको, स्थानीयलाई हिँडडुल गर्न समस्या भएको, दुर्घटनाको जोखिम निम्तिएको तथा बजारबासीबाट व्यापक जनगुनासो आएको मेयर भट्टराईले बताए । 

निर्माण कम्पनीले सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख बजेटमा २० मंसिर २०७८ सम्ममा बजार सडक ढलानको काम पूरा गर्नेगरी १० असार २०७८ मा सम्झौता गरेको थियो । तर कोभिड–१९ को महामारीका कारण देखाएर सडक ढलानको काम गत ८ माघसम्म थप गरिएको थियो । सूर्य विकास जेभीले करिब ३८ प्रतिशत कम रेटमा सडक ढलानको ठेक्का लिएको हो । 



बेस क्याम्पदेखि त्रिवेणीचोकसम्मको सडक ढलानको काम अव्यवस्थित र अपारदर्शी भएको तथा भएका काममा ढिलासुस्ती हुँदा व्यापार व्यवसाय, विद्यार्थी र सर्वसाधारणलाई हिँडडुल गर्न समेत असहज भएको व्यवसायी बताउँछन् ।

ठेक्का लागेको ५८० मिटरमध्ये हालसम्म १३२ मिटर ढलान भएको सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाले जनाएको छ । पूर्वी पहाडका सबैजसो जिल्लाका सदरमुकाम ढलान भइसक्दा बल्ल दिक्तेल बजार ढलानको काम सुरु गरिएको हो ।  



  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार ७:३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया