आगामी तीन साता श्रीलंकामा इन्धन पाउन कठिन : प्रधानमन्त्री विक्रमासिंघे

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आगामी तीन साता इन्धन र ग्यास पाउन कठिन समय हुने चेतावनी दिएका छन् । उनले ग्यास र इन्धनको भण्डारण नगर्न सर्वसाधारणलाई अपिल गर्दै अहिलेको अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यकबाहेकको यात्रामा प्रतिबन्ध लगाउने कदम चाल्नुपर्ने बताए । संसदलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघले यस्तो धारणा राखेका हुन् । 

प्रधानमन्त्रीले देशलाई इन्धनका लागि प्रतिमहिना ५०० मिलियन अमेरिकी डलर र आगामी ६ महिनाको लागि इन्धन जोहो गर्न ३३०० मिलियन डलर आवश्यक पर्ने बताए । उनले हालको विश्वव्यापी संकटले तेलको मूल्य बढ्ने खतरा रहेको भन्दै बढ्दो मागका कारण यो वर्षको अन्त्यसम्ममा विश्वमा तेलको मूल्य ४० प्रतिशतसम्म बढ्ने अनुमान गरेका छन् । 

उनले ग्यास आयात गर्न मासिक ४० मिलियन डलर खर्च हुने र आगामी ६ महिनामा ग्यासका लागि २५० मिलियन अमेरिकी डलर आवश्यक पर्ने बताए । प्रधानमन्त्रीले आर्थिक सुधारले मात्रै मुलुकको पुनर्निर्माण पर्याप्त नहुने बताए । सामाजिक–राजनीतिक र सार्वजनिक सेवामा पनि सुधार आवश्यकता रहेको उनले औँल्याए ।

उनले देशले परम्परागत राजनीतिक विचारधारालाई त्यागेर देशको पुनर्निर्माणका लागि एकजुट भएर लाग्नुपर्ने बताए । देशको वर्तमान अवस्थालाई समाधान गर्ने जिम्मेवारी सदनका जनप्रतिनिधिको काँधमा रहेको प्रधानमन्त्रीले बताए ।

‘मलाई आशा छ कि तपाइँ सबैले हामी र हाम्रो देशले सामना गरेको अवस्था बुझ्नुहुन्छ । देशलाई यो स्थितिबाट माथि उठाउने हो भने परम्परागत बाटोको विकल्पका रूपमा नयाँ बाटो खोज्नुपर्छ’, प्रधानमन्त्रीले भने, ‘हामीले हाम्रा परम्परागत राजनीतिक विचारधारालाई छोटो समयका लागि त्यागेर देशको पुनर्निर्माणका लागि एकजुट हुनुपर्छ । यो प्रयासमा सिंगो देशका जनताले भूमिका खेल्नुपर्छ । देशको लागि हामी सबैको भूमिका आवश्यक छ ।’

उनले अगाडि थपे, ‘हाम्रो मुख्य जोड यहाँ आर्थिक स्थायित्वमा हो । तर, आर्थिक स्थायित्व कायम गरेर मात्रै यसबाट बाहिर आउन सक्दैन । हामीले हाम्रो देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्न आवश्यक छ । ’



तर, एक दुई दिनमै आर्थिक स्थायित्व सम्भव नहुने उनले  बताए । उनले अगाडि भने, ‘ यो दुई तीन दिनमा गर्न सकिने कुरा होइन । यो चुनौती चमत्कारले गर्न सकिँदैन । नारा, जादू वा भावनाले होइन । बुद्धिमानीपूर्वक सोचेका परियोजनाहरू कार्यान्वयन गर्न कडा परिश्रम र समर्पण चाहिन्छ ।’

श्रीलंकाको केन्द्रिय बैंकका अनुसार सन् २०२२ मा श्रीलंकाको कुल ग्राहस्थ उत्पादन माइनस ३ दशमलब ५ रहनेछ । त्यस्तै, अन्तर्राष्ट्रिय मौद्रिक कोषले त झनै डरलाग्दो प्रक्षेपण गरेको छ । आईएमएफले श्रीलंकाको उत्पादन माइनस ६ दशमलव ५ प्रतिशत हुनेछ । युक्रेन युद्धको प्रभावका कारण अर्को वर्ष विश्वव्यापी अर्थतन्त्रको औसत राष्ट्रिय उत्पादन घट्नेछ ।



  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार १२:३०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया