जिल्ला समन्वय समिति मोरङमा एमालेको एकल नेतृत्व

जिल्ला समन्वय समिति मोरङमा नेकपा (एमाले)को एकल नेतृत्व हुने भएको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट ९ जना प्रमुख/अध्यक्ष र १२ जना उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका थिए ।
 
त्यस्तै, नेपाली कांग्रेसले ८ वटा स्थानीय तहको प्रमुख/अध्यक्ष, चारवटा पालिकामा उपप्रमुख/उपाध्यक्ष, र माओवादी केन्द्रले एउटा पालिका उपाध्यक्ष जितेको छ ।
 
जिल्ला समन्वय समितिको निर्वाचनमा प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षले मात्रै मतदान गर्न पाउँछन् । १७ वटा पालिका रहेको मोरङमा जिल्ला समन्वय समितिको निर्वाचनमा ३४ जना मतदाता छन् । 

जिल्ला समन्वय समितिमा निर्वाचित हुन १८ मत चाहिन्छ । एमाले एक्लैसँग २१ मत छ । सोही कारण प्रदेश १ को राजधानी समेत रहेको मोरङमा एमालेको एकल नेतृत्वमा जिल्ला समन्वय समिति बन्ने निश्चित देखिएको हो । 

सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेससँग १२ र माओवादी केन्द्रको एक मत छ । जिल्ला समन्वय समितिको निर्वाचन आगामी ३१ जेठमा हुँदै छ । 

सो निर्वाचनका लागि एमालेले सबै उम्मेदवार टुंगो लगाइसकेको छ । बुधबार एमाले मोरङका पदाधिकारीको सम्पन्न बैठकले जिल्ला समन्वय समितिको प्रमुखमा सुन्दर हरैँचाका अजम्मर राई र उपप्रमुखमा रंगेलीकी उषा झा ठाकुरलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
 
त्यस्तै, महिला सदस्यमा मिक्लाजुङकी उमा नेपाली, लेटाङकी हरिमाया विश्वकर्मा र ग्रामथानकी उर्वशी थारु, दलित सदस्यमा धनपालथानका चन्द्र सरदार, अन्य सदस्यमा उर्लाबारीका मित्रप्रसाद ढकाल, विराटनगरका तुलसी घिमिरे र रंगेलीका देवमणी कटुवाललाई उम्मेद्वार छनोट गरिएको एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार २२:६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया