मकवानपुरको परेवा भीर : बर्खा लागेपछि सधैँ पीर

नेपालमा मनसुन सुरु भइसकेको छ । यसको प्रभाव नेपालमा पनि परिरहेको छ । दैनिकजसो पानी परिरहँदा दुर्गम भेगमा बसोबास गर्नेलाई पीर त छ नै । त्यसमा पनि मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका स्थानीयहरुलाई अझै पीर थपिन थालिसकेको छ । सबैलाई पीर दिने परेवा भीरको बाटो नबन्दा उनीहरुको पीर सुरु भएको हो । 

मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका हुँदै राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको बाटोको अधिकांश स्थान मनहरी खोलाको किनारमा पर्छ, ‘परेवा भीर’, । त्यही किनारमा पर्ने ‘परेवा भीर’ स्थानीयको लागि सधैँका लागि पीर बन्ने गरेको छ । 

अघिल्लो आर्थिक वर्षमा संघीय सरकारले परेवा भीरको बाटो बनाउनको लागि तीन करोड रुपैयाँ छुट्याएको थियो । गत वर्ष ०७८ मा सक्नुपर्ने काम ०७९ ज्येष्ठ लाग्दा सम्म पनि ठेक्का लिएको जेभी कन्ट्रक्सनले काम सकाउन नसकेको हो ।

वर्षात्को समयमा खोला तर्न सक्दा चट्टानी पहाड रहेको ‘परेवा भीर’ पार गर्दा लडेर र बाढीले बगाएर बर्सेनि स्थानीयको ज्यान जाने गरेको छ । ज्यानमारा भीरका रूपमा चिनिएको परेवा भीरको अवस्था अझै उस्तै छ । परेवा भीरमा सडक नहुँदा भीर र खोलाबाट यात्रा गर्नुपर्दा बर्सेनि कम्तीमा तीनजनाको मृत्यु हुँदै आएको छ । 

मकवानपुरको दुर्गम राक्सिराङ–४ र ९ नम्बर वडा तथा कैलाश गाउँपालिकाको वडा नम्बर–१, २, ७, ८ का बासिन्दा त्यही बाटो भएर दैनिक उपभोग्य सामग्री खरिद तथा अन्य प्रशासनिक कामका लागि परेवा भीरमा ज्यानको बाजी लगाएर राक्सिराङ गाउँपालिका केन्द्र चैनपुर तथा मनहरी बजार पुग्नुपर्ने बाध्यता छ ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार परेवा भीरका कारण एक दशकको बीचमा १२ जना स्थानीयको ज्यान गइसकेको छ । मनहरी खोलामा पर्ने ‘परेवा भीर’ स्थानीयका लागि हैरानको विषय बनेको छ । 



‘परेवा भीर’मा बाटो निर्माणका लागि प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, प्रदेशसभा सदस्य इन्द्र बानियाँ र राक्सिराङ गाउँपालिकाले गरी डेढ करोड रुपैयाँ बजेट विनियोजन गरेर काम सुरु गरे पनि समयमा काम नसकाउँदा यो वर्षको बर्खामा पनि राक्सिराङ र कैलाशका बासिन्दालाई पीरलो सुरु भइसकेको छ । 

सबै काम लगभग सकिए पनि ६० मिटर सेरवाल उठाउन बाँकी रहेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । ‘ठेकेदार कम्पनीले लिएको ठेक्का समयमै पूरा नगर्दा समस्या उत्पन्न भएको हो ।’ तर, हामीले पटक–पटक दबाब दिइरहेका छौँ । लगभग बाटो बनिसकेको छ । अघिल्लो वर्ष पनि बर्खाको समयमा निर्माण गर्दा ८० मिटर बाटो भत्कियो । फेरि त्यसैलाई मर्मत गर्नुपर्दा पनि समस्या उत्पन्न भएको छ । समग्रमा भन्नुपर्दा निर्माण कम्पनीकै लापरबाही हो’, मल्लले भने ।
 



  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार १८:२५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया