गेटामा तत्काल तीन सय शय्याको अस्पताल बन्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजलाई कसरी अगाडी बढाउने भन्ने विषय छलफल भइरहेको भन्दै तत्काल ३ सय बेडको अस्पताल सञ्चालन गरिने बताएका छन् । 

गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित अत्तरिया संघर्ष समितिले शुक्रबार धनगढीमा ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री देउवाले तत्कालका लागि ३ सय बेडको अस्पताल सञ्चालन गरी आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने बारेमा छलफल हुने बताए । आफू सुदूरपश्चिमकै नागरिक भएको बताउँदै प्रधानमन्त्री देउवाले गेटामा सेवा सुचारु गरेरै छोड्ने प्रतिबद्धतासमेत जनाएका छन् । 

‘मेडिकल विश्व विद्यालय बनाउनेकी प्रतिष्ठान बनाउने भन्ने विषयमा पछि निर्णय गरौँला,’ ज्ञापन पत्र बुझ्दै देउवाले भने, ‘तत्कालका लागि तीन सय बेडको अस्पताल सञ्चालनको प्रक्रिया अघि बढिसकेको छ ।’ 

९० प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भइसकेको गेटामा तत्काल सेवा सञ्चालन हुनुपर्ने भन्दै अत्तरिया संघर्ष समितिले ज्ञापन पत्र बुझाएको थियो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार धनगढी आएका हुन् । 

सुदूरपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेको देउवा विद्यार्थीलाई दीक्षित प्रमाण पत्र वितरण गरेर धनगढीस्थित आफ्नै निवासमा बसेका छन् । प्रधानमन्त्री देउवाले शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ ।





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार २०:५५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया