सुशील कोइरालाले अगाडि बढाएको एसपिपीको च्याप्टर आफूले रोकेको ओलीको दाबी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सैन्य सम्झौता स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) तत्कालीन नेपाली कांग्रेस सरकारले अगाडि बढाएको तर आफूले त्यसलाई रोकेको दाबी गरेका छन् । 

कांग्रेसका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यो सम्झौता अगाडि बढाएको र आफू सजग भएर त्यसको च्याप्टर क्लोज गरेको दाबी गरेका हुन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई काठमाडौंमा आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले आफू प्रधानमन्त्री हुँदा नै तत्कालीन सेना प्रमुख राजेन्द्र क्षेत्रीले एसपिपीमा सहभागी हुन चिठी लेखेको भन्दै गलत भ्रम सिर्जना गरिएको पनि उनले बताएका छन् । ‘म दिनसहित भन्न सक्छु,’ उनले भनेका छन्, ‘नेकपा एमाले यस्तो कुरामा सधैं सजग छ । २०७२ साल असोज ६ गते सुशील कोइरालाले यसलाई अगाडि बढाएका हुन् । संविधान जारी भएको ३ दिनपछि आफू सरकारबाट हट्ने तय भएका बेला उनले यो सम्झौता अगाडि बढाएका थिए ।’

एमालेलाई सत्ता हस्तान्तरण गर्ने सम्झौता भइसकेको र त्यही अवस्थामा सुशील कोइरालाले यसलाई अगाडि बढाएको ओलीको दाबी थियो । 

उनले भनेका छन्, ‘असोज ६ गते प्रधानमन्त्री र रक्षामन्त्री एकै जना सुशील कोइराला थिए। कोइरालाले रक्षामन्त्रीको हैसियतमा उक्त निर्णय गर्नु भएछ। स्टेट पार्टनरसिप प्रोग्राममा असोज ६ गते नेपाल पनि पक्ष राष्ट्र होस् भनेर निर्णय गर्नु भएछ ।’



उनले त्यही ६ गतेको निर्णय १३ असोजमा सैनिक हेडक्वार्टरलाई पठाइएको पनि दाबी गरेका छन् । अनि आफू २०७२ असोज २४ मा प्रधानमन्त्री भएको उनले बताउँदै आफू प्रधानमन्त्री भएपछि यस विषयमा अगाडि बढ्ने निर्णय नभएको दाबी गरेका छन् ।

उनले आफूलाई थाहा नै नदिइ सेनापतिले अमेरिकी राजदूतलाई पत्र लेखेको पनि बताएका छन् । एसपिपीमा सहभागी हुनका लागि पहिलो पटक राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूत एलाइना बी टेप्लिजलाई पत्र लेखेका थिए ।



पछि २०७४ वैशाख २४ गते पनि क्षेत्रीले त्यही पत्र लेखेको तर त्यति बेला पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको ओलीले बताएका छन् ।

उनले १ जुन २०१९ मा आफ्नो नेतृत्वको सरकार भएका बेला डोनाल्ड ट्रम्पले इन्डो प्यासिफिक स्ट्राटेजी ल्याएको बताए ।

ओलीले पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि आफूहरुले अमेरिकाले ल्याएको इन्डो प्यासिफिक स्ट्राटेजीमा नेपाल नजाने र गएको पनि छैन भन्ने उल्लेख  गरेको बताएका छन् ।

आफूहरु कहिल्यै सैन्य गठबन्धनमा सहभागी नहुने भन्ने नीतिमा अगाडि बढिरहेको पनि उनले बताएका छन् । उनले सुशील कोइरालाले सुरु गरेको यो विषयमा आफूहरुले च्याप्टर क्लोज गरे पनि अहिले भ्रम छरिएको बताएका छन् ।

  • प्रकाशित मिति : असार ४, २०७९ शनिबार ०:१२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया