टी–२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको हो । 

नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७  विकेट गुमाएर ८२  रन मात्र बनाउन सक्यो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक ३१ रनको पारी खेल्दा मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन जोडिन् । कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सीता राना मगरले दुई विकेट निकाल्दा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले समान एक–एक विकेट लिए ।

जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । समूह बी मा रहेको नेपाल तालिकाको शीर्ष स्थानमा यथावत् रहेको छ  । पराजित कुवेतको तालिकामा १ अंक छ ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक अविजित ३४ रनको योगदान गरिन् । २७ बलको सामना गरेकी रुबिनाले चार चौका प्रहार गरिन् ।  

त्यस्तै, इन्दु बर्माले २८ रन जोड्ने क्रममा ३३ बलको सामना गर्दा २ चौका चट्काइन । यस्तै, ज्योति पाण्डेले १५ रन जोड्दा विन्दु रावलले ११ रनको स्कोर गर्ने क्रममा क्याच आउट भइन् । 

यस्तै, सीता राना मगर र काजल श्रेष्ठले समान ५–५ रनको पारी खेल्दै पवेलियन फर्किए । बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई विकेट लिइन् । मारियम ओमार र खादिला खाजिलले एकएक विकेट लिए । 



यसअघि च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गर्दै विजयी सुरुआत गरको थियो । उता कुवेतले भने बर्षाका कारण बहराइनसँग अंक बाँडेको थियो । 

च्याम्पियनसिपअन्तर्गत नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ । १० टोलीले सहभागिता जनाएको प्रतियोगितामा सहभागी टोलीलाई आयोजक दुई समूहमा विभाजन गरको छ । 



समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् भने फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

  • प्रकाशित मिति : असार ४, २०७९ शनिबार १७:३९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया