प्रमुख निर्वाचन आयुक्त भन्छन्- विदेशमा हुने नेपालीको दूतावासबाटै मतदाता नामावली संकलन गर्छौँ

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मताधिकार सम्बन्धी उठाएको मुद्दालाई छिट्टै सम्बोधन गर्ने बताएका छन् । काठमाडौंमा आयोजना गरिएको नागरिकता मताधिकार लगानी तथा वैदेशिक रोजगार सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन् । 

उनले भने, ‘बोल्न त धेरै सजिलो छ कार्यान्वयन गर्न निकै कठिन छ । म यस विषयलाई गम्भीरताका साथ हेरिदिन सरकार समक्ष प्रस्ताव राख्ने छु। कानुनले दिएको अधिकारभित्र रहेर काम गर्न निर्वाचन आयोग सधैँ तत्पर छ । जहिले पनि जहाँ गएर पनि नागरिकलाई मतदान गराएर मतगणनाको नतिजा प्रकाशन गर्न निर्वाचन आयोग सधैँ तयार छ ।’

साथै उनले कानुनमा आयोगले समावेश गरेर पठाउन सम्भव नभएको र कहाँ कसलाई कसरी मतदान गर्न दिइने भन्ने कुरा पनि अत्यन्तै महत्वपूर्ण रहेको बताए । थपलिया भन्छन्, ‘समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई विदेशमै बसेर मतदान गर्ने अधिकारबाट यो अधिकार प्रारम्भ गरिने उपयुक्त हुन्छ। त्यसकै तयारीमा आयोग लागेको छ ।’

आउँदो  वर्षबाट विदेशमा भएकाहरुको दूतावासबाटै अनलाइनबाट मतदाता नामावली संकलन गर्ने योजना रहेको पनि उनले बताए । ‘आउँदो आर्थिक वर्षबाट केही दूतावासहरुमा अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्न सकिने अनलाइन रजिस्ट्रेसन सिस्टम प्रारम्भ गरेर मतदाता नामावलीमा नाम दर्ता गराउने काम आयोगले गर्दै छ । तयारी दूतावासबाट प्रारम्भ हुन्छ,’ उनले भने ।





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार ७:४०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया