प्याजसमेत उत्पादन गर्दैन कर्णाली, १० महिनामा भित्रियो साढे २८ हजार क्विन्टल

कर्णाली प्रदेशमा आयात हुने तरकारी उपज वस्तुहरूमा सबैभन्दा बढी प्याज रहेको छ । यसका साथै टमाटर, आलु, तितेकरेला, केरा, स्याउ, सुन्तला, काँक्रो, खुर्सानी र लसुन कर्णालीमा सबैभन्दा धेरै आयात गरिने कृषि उत्पादन हुन् ।

चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कर्णालीमा भारतबाट मात्रै २८ हजार ६ सय ३० क्विन्टल प्याज आयात भएको तथ्यांक छ । यो वर्ष कर्णाली आफैंले प्याज उत्पादन गर्न सकेन । कुल खपतको शतप्रतिशत नै भारतबाट प्याज आयात भएको हो ।

त्यस्तै, २३ हजार ३ सय ९२ क्विन्टल आलु भारतबाट मात्रै आयात भएको छ । ३ हजार आठ सय ९७ क्विन्टल आँप नेपालका अन्य जिल्लाबाट आयात गरिएको छ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कर्णालीमा ४३ हजार ४८ क्विन्टल आलु खपत भएको थियो । खपतको तुलनामा ६३ प्रतिशतभन्दा बढी आलु आयात भएको छ ।

फलफूलतर्फ भने कर्णालीमा सबैभन्दा धेरै केरा आयात भएको छ । भारतबाट मात्रै ३७ हजार सात सय ९७ क्विन्टल केरा कर्णालीका लागी आयात गरिएको छ । बाह्य जिल्लाबाट भने ५ हजार ४ सय ७५ क्विन्टल केरा आयात भएको छ । कूल खपतको ९९ प्रतिशत प्रदेश बाहिरबाट केरा आयात भइरहेको छ । यसैगरी हरियो खुर्सानी र लसुनको आयात पनि उच्च छ ।

कर्णाली उत्पादनका रूपमा आफैंमा सक्षम प्रदेश बन्न सकेको छै । यहाँको मुख्य बजार नै छिमेकी मुलुक भारत हुँदै आएको छ । पटकपटक उत्पादन वृद्धिका विषयमा कर्णालीमा बहसहरू हुन्छन् । तर, कार्यान्वयन भने भएको देखिँदैन । प्रदेशमा खपत हुने तरकारी, फलफूल तथा मसलाजन्य उपज उत्पादनमा कर्णालीले अझै ध्यान दिन नसकेको छैन ।

प्रदेशभर करिव २ लाख ९९ हजार ३ सय ३९ हेक्टर खेतीयोग्य जमिनमा छ । सबै जमिन खेतीका लागि कर्णालीले प्रयोगमा ल्याउन सकेको छैन । कूल खेतीयोग्य जमिनको ७३ प्रतिशत जमिन मात्र खेतीका लागि प्रयोग भएको छ । 



अर्को विडम्बना खेती गर्ने गरिएका सबै जमिनमा सिँचाइको समेत सुविधा पुगेको छैन । खेती भइरहेको कूल जमिनमध्ये ३१ प्रतिशत हाराहारी जमिनमा मात्र प्रयाप्त सिँचाई सुविधा पुगेको छ । ३८ हजार ३३ हेक्टर क्षेत्रफल जमिनमा मात्र वर्षभरि सिँचाई सुविधा उपलब्ध हुन्छ । यस तथ्यांकले कर्णाली प्रदेशमा आधाभन्दा धरै खेतीयोग्य जमिनमा कृषि उपज उत्पादनको क्षमता रहे पनि खास प्रयोगमा आउन सकेका छैनन् ।

यसको प्रत्यक्ष असर कर्णालीको अर्थतन्त्रमा देखिन थालेको छ । प्रदेशमा उत्पादन नभए पनि आयात मात्र गरिरहँदा कर्णालको अर्थतन्त्र कमजोर बनिरहेको छ । प्रदेशका लागि आवश्यक तरकारी, फलफूल र मसलाजन्य उपजको करिब एक तिहाइ भाग मात्र कर्णाली आफैँले उत्पादन गर्ने गरेको तथ्यांक देखिन्छ ।



चालू आर्थिक वर्षको १० महिनामा सुर्खेतमा रहेको कृषि बजारमा भएको कृषि उपजको काराेबार तथ्यांक हेर्दा खपतमा आधारमा कर्णाली बाहिरबाट अत्यधिक आयात भएको छ । कर्णालीमा मुख्यगरी भारतबाट कृषि उपज आयात आइरहेको छ । बाँके, महेन्द्रनगर, चितवन, बर्दियालगायतबाट कर्णालीमा कृषि उत्पादन आयात भइरहेको छ । प्रदेशमा बाहिरबाट आयात गरी खरिदबिक्री गर्ने कृषि उत्पादनको मुख्य बजार नै वीरेन्द्रनगरस्थित सुर्खेतको कृषि बजार हो । 

चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म कर्णालीमा १४ हजार ८ सय ५८ मेट्रिकटन तरकारीको कारोबार भएको छ । कारोबारको ३२ प्रतिशत तरकारी मात्र कर्णालीका जिल्लामा उत्पादन भएको हो । ६८ प्रतिशत कर्णालीको लागि तरकारी आयात भएको छ । कूल खपत तरकारीको परिमाणमा ५१ प्रतिशत तरकारी भारतबाट मात्रै आयात भएको देखिन्छ ।

यसैगरी चालू आर्थिक वर्षको वैशाखसम्ममा कर्णालीको कृषि उपज बजारमा ९ हजार ९ सय ६२ मेट्रिकटन फलफूलको कारोबार भएको छ । यसमध्ये ३१ प्रतिशत फलफूल कर्णालीमा उत्पादन भएको हो ।

कर्णालीमा ६९ प्रतिशत फलफूल आयात गरिएको देखिन्छ । भारतबाट मात्रै ४८ र चीनबाट १२ प्रतिशत फलफूल आयात भएको छ । कर्णालीको बजारमा चीनबाट स्याउ र लसुन मात्र आयात हुने गर्छ ।

त्यस्तै, मसलाजन्य कृषि उपजतर्फ कर्णालीमा १ हजार १३ मेट्रिकटन बजारमा पुगेको छ । जसमध्ये ५८ प्रतिशत उत्पादन कर्णालीको आफ्नै हो । ४२ प्रतिशत मसला आयातमा कर्णालीमा भारतबाट ४२ प्रतिशत र चीनबाट २ प्रतिशत मसलामा प्रयोग हुने कृषि उपज आयात भएको छ । 

बाँकी नेपालका अन्य जिल्लाबाट आयात हुने गरेको कृषि बजार सुर्खेतका व्यवस्थापक केशर रास्कोटीले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको तुलनामा २०७८/०७९ मा कर्णालीमा कृषि उपज उत्पादन केही बढेको छ । गत आर्थिक वर्षको तुलनामा कर्णालीमा २ प्रतिशतले कृषि उत्पादन बढेका छन् ।

चालू आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीमा कूल ९७ हजार ९ सय ३२ क्विन्टल तरकारीजन्य कृषि उत्पादन भएको छ । विगत आर्थिक वर्षको तुलनामा यो संख्या २ प्रतिशतले भने बढेको हो ।
 

  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार ९:२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया