logo-img

रामायण सर्किटको अवधारणाले रामायणकालीन स्थलमा पर्यटकको आवागमन हुने विश्वास

रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुगेको छ । मंगलवार साँझ ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको सो रेल रामायण सर्किट हुँदै बिहीबार दिउँसो पौने २ बजे जनकपुरधामा आइपुगेको हो । 

धार्मिक सांस्कृतिक प्रवद्र्धनका लागि झन्डै ५ सय यात्रुसहित सो रेल जनकपुरमा पहिलोपटक आइपुगेको हो । जनकपुरधाम आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेसनमा मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोलगायत विभिन्न संघसंस्थाले स्वागत गरेका थिए । 

रेल जनकपुरधाम आइपुगेपछि रेल्वे स्टेसनमा तीर्थालुहरुले ‘जय श्री राम’को भजन गाएका थिए । रेल्वे स्टेसनमा स्वागत गर्दै मुख्यमन्त्री लालबाबु राउतले नेपाल–भारतको सम्बन्धमा यस प्रकारको गतिविधिले कोसेढुंगा सावित हुने बताए । आफूहरु सुरुदेखि नै नेपालको भू–भाग रामायण सर्किटमा जोड्नुपर्ने पक्षमा रहेको र आज रेल्वेको आगमनसँगै यसले एउटा उत्साहपूर्ण वातावरणको निर्माण गरेको उनले बताए । 



मुख्यमन्त्री राउतले दुवै देशको पर्यटकीय गतिविधिलाई जोड्नको लागि यो महत्वपूर्ण दिनको रुपमा रहेको र यसले दुवै देशको सम्बन्धसमेत बढ्ने तथा प्रदेशको पर्यटकीय सम्भावनामा समेत वृद्धि हुने विश्वास व्यक्त गरे । मुख्यमन्त्री राउतले यसलाई निरन्तरता दिएको खण्डमा प्रदेशको मात्रै नभई नेपाल–भारतको पर्यटकीय गतिवधिको समृद्धिको आधार खडा हुनसक्ने बताए । 

जनकपुरधाम आइपुगेका तीर्थालुहरु रामजानकी मन्दिर, गंगा सागरमा हुने गंगा आरती लगायतका ठाउँहरु घुमफिर गरेर भोलि (शुक्रबार) सितामढी प्रस्थान गर्ने जनाइएको छ । 

तीर्थालुलाई हेर्न र स्वागत गर्न सयौँको संख्यामा स्थानीयवासी रेल्वे स्टेसन पुगेका थिए । रेल्वे स्टेसनमा पर्यटकहरुको स्वागत गर्नका लागि उल्लेख्य रुपमा भीड लागेको थियो । वैदिक स्वस्ति वाचनदेखि परम्परागत बाजाहरुबाट समेत पर्यटकलाई स्वागत गरिएको थियो । जनकपुर आएका भारतीय पर्यटकहरु समेत अत्याधिक प्रसन्न देखिएका थिए ।



रेल्वेको बोकीहरुमा भारतको विभिन्न ऐतिहासिक स्थलहरुको साथसाथै भेषभुषा, पहिरन, खानासहित तस्बिर लगाइएको छ । यसले रेल्वेको बोगीलाई आकर्षक बनाएको छ ।

८ हजार किलोमिटर लामो यात्रा गर्न १८ दिनको समय निर्धारण गरिएको छ । रेलको सर्वाधिक महत्वपूर्ण तीर्थस्थल जनकपुरधाम र अयोध्या रहेको छ । 



तीर्थयात्रुले सीता र रामको जन्मस्थललाई जोड्दै रामायणकालीन सीताराम सम्बद्ध प्रसिद्ध स्थलहरुको दर्शन गर्न पाउनेछन् । भारत सरकारले ल्याएको रामायण सर्किटको अवधारणाले रामायणकालीन विभिन्न स्थलमा पर्यटकको सहज आवागमन हुने विश्वास गरिएको छ । 


 

  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार १८:३५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया