दूध र कोदो उत्पादनमा अनुदान दिँदै राइनास नगरपालिका

लमजुङको राइनास नगरपालिकाले कृषि क्षेत्रलाई विकासको प्राथमिक क्षेत्रको रुपमा अगाडि बढाउने भएको छ । नगरपालिकाले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरपालिकाको विकासका लागि आधुनिक कृषि प्रणाली तथा आन्तरिक कृषि उत्पादनलाई प्राथमिकता दिने जनाएको छ ।

आर्थिक विकासका लागि कृषिलाई पहिलो प्राथामिकतामा राखेको नगरपालिकाले उत्पादनमा आधारित अनुदान, यान्त्रिकरण, सामूहिक खेती प्रणाली, कृषि एवं पशु विमा कार्यक्रम, कृषि उपज संकलन केन्द्र, रैथाने बाली संरक्षण कार्यक्रम नश्ल सुधार कार्यक्रम, एक वडा एक कृषि प्राविधिक, एक गाउँ एक उत्पादनको अवधारणा कार्यान्वयनमा ल्याउने भएको छ ।

नगरपालिकाले कृषि अनुदानलाई प्रत्यक्ष उत्पादनसँग आवद्ध गराउन आगामि आर्थिक वर्षदेखि दुध र कोदोमा अनुदान उपलव्ध गराउने भएको छ । नगरपालिकाको दशौ नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख खड्गबहादुर गुरुङले दुध उत्पादनमा प्रति लिटर ३ रुपैयाँ र कोदो उत्पादनमा परिणामको न्युनतम बजार मुल्यमा २५ प्रतिशतसम्म नगद अनुदान दिइने बताए ।

पशुपालन कृषकलाई लक्षित गरी दशैंतिहार हाट बजार कार्यक्रम आयोजना गरिने र हाटबजारमा खसी, बोका तथा भेडा बिक्री गर्दा नगरपालिकाले प्रति किलो २० रुपैयाँसम्म अनुदान दिने भएको छ ।

एक वडा एक प्रमुख बाली र पशुपालनलाई अभियानकै रुपमा सञ्चालन गर्ने नीति अनुसार वडा नम्बर १, २, ३ र ४ को राइनासटार नहर माथिको क्षेत्रलाई मकै बाली र बाख्रापालन क्षेत्रको रुपमा विकास गर्ने र तल्लो क्षेत्रमा दूध र धानबाली उत्पादन क्षेत्रको रुपमा लिइने भएको छ । वडा नम्बर ५ लाई दुध, धानबाली र मसलाबाली, ६, ७ र ८ नम्बर वडालाई धानबाली, दुध उत्पादन, बंगुर र मत्स्यपालन क्षेत्रको रुपमा विकास गरिने भएको छ भने वडा नम्बर ८ को उपल्लो क्षेत्र, वडा नम्बर ९ र १० लाई बाख्रा, मौरी र फलफूल पकेट क्षेत्रको रुपमा विकास गर्ने नीति ल्याइएको नगरप्रमुख गुरुङले वताए ।

नगरपालिकाले आधुनिक कृषि प्रणाली तथा बाँझो रहेको जग्गामा कृषि उत्पादनलाई प्राथमिकता दिइने, भूमि बैंक स्थापना गर्ने तथा खाली जग्गा भाडामा दिन तथा सामुहिक खेतीका लागि प्रोत्साहन गर्ने नीति ल्याएको छ । यान्त्रिककरणमा तथा व्यावसायीकरण गरी कृषि उत्पादनमा वृद्धि गरिने, भूउपयोग नीति कार्यान्वयनमा ल्याइने, वडा नम्बर ५ मा नमुनाको रुपमा खेतीयोग्य जमिनको वैज्ञानिक चक्लाबन्दी कार्यक्रम सञ्चालन गरिने भएको छ । 





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार ८:९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया