माओवादीको केन्द्रीय समिति बैठक जारी, पदाधिकारी चयन हुनेमा नेता-कार्यकर्ता आशावादी
अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तुत गरे नौवटा एजेण्डा

माओवादी केन्द्रको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ ।

बैठकले ९ वटा एजेण्डामा छलफल गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा जानकारी गराएका छन् । उनले बैठकको एजेण्डामा सहिदहरुप्रति श्रद्धाञ्जली, नयाँ केन्द्रिय कमिटी सदस्यहरुको शपथग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे पार्टी अध्यक्षबाट जानकारी र प्रदेशहरुको तर्फबाट संक्षिप्त रिपोर्टिङ गर्ने रहेको बताए ।

प्रदेशको तर्फबाट प्रदेशका अध्यक्षहरुले रिपोर्टिङ गर्ने र मधेस प्रदेशको हकमा भने प्रदेश इन्चार्जले रिपोर्टिङ गर्ने उनले जानकारी दिए । त्यसैगरी बैठकको कार्यसूचीमा अध्यक्ष दाहालबाट वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा रिपोर्टिङ हुने पनि राखिएको छ ।

माओवादी केन्द्रको यस केन्द्रिय कमिटी बैठकको अन्य एजेण्डाहरुमा पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको चयन गर्ने, कार्यविभाजन गर्ने, स्थानीय तहको निर्वाचनको समीक्षा गर्ने, आगामी प्रदेश र संघीय निर्वाचनको तयारी तथा विविध विषयमा छलफल हुने अध्यक्ष दाहालले बताए ।

महाधिवेशनदेखि नै रिक्त रहेको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने कार्यसूची अध्यक्ष दाहालले पेस गरेसँगै सबै समितिहरु बन्नेमा बैठकमा सहभागी हुन आएका नेताहरु आशावादी देखिएका छन् । अर्कोतर्फ एजेण्डामा राखेर अन्तिममा निर्णय नहुने हो कि भन्ने आशंका पनि नेताहरुले गरेका छन् ।

बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रीय सदस्य लेखनाथ दाहालले यसपटक पार्टीको सबै समितिहरु बन्नुपर्नेमा केन्द्रीय सदस्यहरु एकमत भएको बताए । उनले पार्टीको संगठनात्मक संरचना चुस्त, दुरुस्त नबनाइकन पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न नसकिने भएकाले पदाधिकारी लगायतका समिति चयन गर्नु आवश्यक रहेको बताए ।



उनले भने, – ‘यो पटक हाम्रो केन्द्रिय समितिको बैठकले कार्यसूची अनुरुप नै सबै निर्णय गर्नेछ । र हामीलाई आवश्यक पनि छ, पोलिटब्युरो, स्थायी समिति र संगठनात्मक संरचनाको बारेमा नयाँ निर्णय लिनुपर्ने आवश्यकता महशुस भइसकेको छ । त्यसकारणले यो बैठकले सबै निर्णय लिनेछ । चयन हुनैपर्छ ।'

उनले माओवादी पार्टीलाई मजबुद बनाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र आगामी निर्वाचनको तयारी गर्न पनि संगठनात्मक संरचनामा केही हेरफेर गर्नुपर्ने र नेतृत्वको कार्यविभाजन गर्नुपर्ने केन्द्रीय समितिका सबै सदस्यहरुको माग रहेको बताए ।



उनले पार्टी अध्यक्षलाई पार्टीका सबै संरचना चलाउनुपर्ने र राष्ट्रिय राजनीतिमा पनि भूमिका खेल्नुपर्ने भएको हुँदा धेरै बोझ भएको भन्दै अध्यक्षको सहयोगको लागि पनि छिटोभन्दा छिटो पार्टीका समितिहरु बन्नुपर्नेमा जोड दिए ।

  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार १४:३२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया