सुदूरपश्चिममा अझै ४० प्रतिशत पाठ्यपुस्तक अभाव

शैक्षिक सत्र सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिमका धेरै विद्यार्थीको हातमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । यस प्रदेशका लागि आवश्यक पर्ने २० लाख पाठ्यपुस्तकको ४० प्रतिशत अझै अभाव रहेको पुस्तक व्यवसायीले बताएका छन् । 

जनक शिक्षा सामग्रीको क्षेत्रीय कार्यालय धनगढीले समयमै पाठ्यपुस्तक ल्याउन नसक्दा प्रदेशका विद्यार्थीको पढाइमा समेत असर परेको छ । जनक शिक्षाले सुदूरपश्चिमलाई सौतेलो व्यवहार गर्ने गरेको व्यवसायीहरुले आरोप समेत लगाए । 

सुदूरपश्चिमको लागि लोड गर्नुपर्ने पाठ्यपुस्तक जनक शिक्षाले अन्यत्रै पठाउने गरेको उनीहरूको भनाइ थियो । उनीहरूले सुदूरपश्चिममा समयमै पाठ्यपुस्तकको व्यवस्थापन गर्नुपर्ने माग गर्दै बुधबार जनक शिक्षा सामग्रीको क्षेत्रीय कार्यालय धनगढीमा तालाबन्दी समेत गरेका छन् ।

कैलालीको लम्कीका व्यापारी टुर्जबहादुर बोगटीले जनक शिक्षाले सुदूरपश्चिमलाई सौतेलो व्यवहार गर्ने गरेको बताए । उनले किताब नगएको क्षेत्रमा कालोबजारीमा पुस्तक बिक्री हुने गरेको बताए ।

‘जनक शिक्षा सामग्रीले सुदूरपश्चिमलाई सौतेनी व्यवहार गरेको छ’, उनले भने, ‘वितरण प्रणाली पनि चुस्त छैन । मेरो लम्की क्षेत्रमा कक्षा ९ को अंग्रेजीको मूल्य एक सय ३९ थियो, त्यो २ सयमा बिक्री भएको हुँदै छ। हामी व्यापारीले किताब पाएका छैनौँ । तर, किताब नगएको क्षेत्रमा कालोबजारीमा पुस्तक बिक्री हुने गरेको छ ।’ 

यस्तै, अछामका पुस्तक व्यापारी टेकबहादुर शाहले पनि जिल्लामा प्रत्येक वर्ष पाठ्यक्रमको अभाव हुने गरेको बताए । ‘जनक शिक्षा सामग्रीको लापरबाहीले जिल्लामा अहिले पनि ४० प्रतिशत पाठ्यपुस्तक अभाव छ’, उनले भने,‘गत वर्ष पनि यो अवस्था सिर्जना भएको थियो । असार मसान्तसम्म पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । हामी व्यापारी र विद्यालयका प्रधानाध्यापकबीच समेत तिक्तता बढेको छ ।’ 



कञ्चनपुरको पुनर्वासका पुस्तक व्यापारी भूपेन्द्र अधिकारीले  जिल्लामा पुस्तकको कालोबजारी बढेको बताए । ४० हजार पुस्तकको डिमाण्ड भए पनि जिल्लामा एक–दुई हजार आउने गरेको गुनासो गरे । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष मेखराज दाहालले भने आफूहरूले माग गरेको भन्दा निकै कम पठाउने गरेको बताए । विद्यार्थीलाई पुग्ने पाठ्यपुस्तक नभएसम्म जनक शिक्षा सामाग्रीबाट पुस्तक नउठाउने उनको भनाइ छ । 

‘हामीलाई अब प्रदेशमा ४० प्रतिशत पाठ्यपुस्तक आवश्यक हो । हामीले माग गरेको भन्दा निकै कम पाठ्यपुस्तकहरू पठाउने गरेका छन् । जसका कारण हामीले समयमै  विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगाउन नसकेको अवस्था हो’, उनले भने,‘अब हामीले विद्यार्थीहरुलाई चाहिने पाठ्यपुस्तक नभएसम्म हामीले यहाँबाट पाठ्यपुस्तक नउठाउने निर्णय गरेका छौँ ।’



जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता चित्रकुमार आचार्यले सुदूरपश्चिममा मागको आधारमा पाठ्यक्रम पठाउने गरिएको दाबी गरे । उनले आइतबारसम्म यहाँको माग पूरा गर्ने आश्वासन दिएका छन् ।

  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार २०:१९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया