मानवीय क्रूरताले नाङ्गिएको वन र बस्ती [फोटो फिचर]

प्रकृतिमाथि जति आक्रमण गर्छौं, त्यति नै असर मानव जगतलाई पनि पर्छ । त्यसको नतिजा पटकपटक देख्दै–भोग्दै आएका छौं । जब मानवता हराउँछ, तब प्रकृतिको स्वरूप पनि बदलिन्छ । प्राकृतिक श्रोतमाथिका दोहनले प्रकृति त कुरूप बन्छ नै साथमा हाम्रो समाज र समाजमा रहेका प्राणीहरूको पनि अस्तित्व सकिन्छ । तर, मानव समुदायले चुरे, नदीनाला, वन, वातावरणको दोहन गर्न छाडेका छैनन् । देशका मुख्य सहरको त कुरै छोडौं गाउँका वन, जंगलहरू पनि उजाड हुन थालेका छन् । प्राकृतिक स्रोतको दोहनका कारण नै देशले अहिले जलवायु परिवर्तनजन्य विपद्को सामना गरिरहेको छ ।

समग्रभन्दा प्राकृतिक स्रोत मासिँदै छन् । काठमाडौं उपत्यकाको त कुरा नै गर्नु पर्दैन । हराभरा त छैन नै टाढा डाँडाकाँडार वनजंगलको समेत दोहन भइरहेको छ । ललितपुरको टिकाभैरव, नल्लु, देविचौर र लेले क्षेत्रलाई यसको नमूनाका रूपमा लिन सकिन्छ । यहाँस्थित वनजंगलभित्र पनि ढुंगा खानी र क्रसर उद्योगले वन फँडानी हुँदा उजाड छन् । यहाँबाट उभिएर हेर्दा डाँडापाखा पहिरोले बगाएझैँ विरक्त देखिन्छन् । बस्ती बाढीले बगाएको बगरजस्तो छ । वर्षौं अघिदेखि चल्दै आएका ढुंगा खानी र क्रसर उद्योगले यहाँको यस्तो हालत भएको हो । नीजि जग्गामा सञ्चालित खानी र क्रसरले पछिल्लो समय सीमा मिचेर खोला र जंगल मासेका छन् । ढुंगा खानी निजी जग्गा छोडेर जंगल पसेपछि अवस्था विकराल बनेको छ ।





खानीले खोतलेको पहाडमा पछिल्लो समय अनगिन्ती पहिरो जाँदा जंगल मासिएको छ । तरपनि स्थानीय सरकार भने मौन छ । सरकारको मौनताले नै बुझ्न सकिन्छ, कि देशका विभिन्न स्थानमा प्रकृतिमाथि कस्तो हस्तक्षेप भइरहेको होला? सरकार, समाज र सरोकारवाला निकाय सबै मिलेर प्रकृतिको संरक्षण नगर्ने हो भने भावी दिनमा हराभरा भूमि बाँझो र कंक्रिट बन्ने अवस्था सिर्जना नहोला भन्न सकिँदैन । त्यसैले प्रकृति केवल मानव जातीको लागि बनेको हो भन्ने भ्रम छोडेर जगतका सबै प्राणीको लागि यसको संरक्षण गर्नेतर्फ लाग्नुपर्छ । 

  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार १२:४२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया