जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।
अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधि गरेको आरोप लगाएका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित केन्द्रीय कार्यसमितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संख्यात्मक रुपमा पनि आफ्नो पक्षमा नै बहुमत रहको दाबीसमेत गरे ।
अध्यक्ष भट्टराईले अर्का अध्यक्ष यादव पक्षले बैठक अवैध भनेकोप्रति लक्षित गर्दै यादव पक्षले इतिहासलाई भुलेर गरेको कुराको कुनै सत्यता नरहेको जिकिर गरे ।
अध्यक्ष भट्टराईले तत्कालीन कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर अलग्गिएपछि खाली रहेको पदमा समेत जनजातिलाई राख्ने आफ्नो प्रस्तावलाई अध्यक्ष यादवले नमानेको बताए ।
उनले पार्टी दर्ता गराउँदा देखेको आफ्नो सपनामा कुठाराघात भइरहेको बताए । अध्यक्ष भट्टराईले पार्टीमाथि ठूलो संकटको बादल मडारिएको उल्लेख गर्दै पार्टीलाई रुपान्तरण गरेर अघि बढ्न नसके झनै ठूलो दुर्घटना निम्तिने बताए ।
उनले अर्का अध्यक्ष यादवलाई नतर्सिन चुनौती दिँदै अवैध ढंगबाट गलत मनसायका साथ बोलाएको गुटको बैठकलाई मान्यता नदिने स्पष्ट पारे ।
अध्यक्ष भट्टराईले भने, ‘म मेरा मित्र उपेन्द्र यादवजीलाई अहिले पनि नतर्सिन, नडराउन, हिम्मतका साथ फेस गर्न वैधानिक ढंगले बैठक राख्न चुनौती दिन्छु । तपाईंले अवैध ढंगले, जुन गलत मनसायका साथ गुटको मात्रै बैठक अपायकमा राख्नुभएको बैठक तत्काल स्थगित गर्नुहोस् । यहाँ आउनुस् ।’
अध्यक्ष भट्टराईले नेपालका दल र सरकार नसच्चिए श्रीलंकाकै बाटोमा देश पुग्ने दाबी गरे । उनले नेपालमा पनि सरकार र राजनीतिक दलहरुमा आसेपासे र अहंकारी प्रवृत्तिको विकास भइरहेको उल्लेख गरे ।
अध्यक्ष भट्टराईले राज्यसत्तामा गएकोले राज्य सत्ताको दुरुपयोग गरिरहेको उल्लेख गर्दै सत्तामा जाने भनेकै देश लुट्नका लागि भएको दाबी गरे ।
अध्यक्ष भट्टराईले धन प्रयोग गरेर चुनाव जित्ने र फेरि राज्य सत्तामा पुगेर राज्यसत्ताको दुरुपयोग गर्ने यो दुष्चक्रमा नेपाल फसेको दाबी गरे । उनले नेपाल पनि श्रीलंका जस्तै गम्भीर संकटमा रहेको उल्लेख गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।