फेरि ब्याटिङ नचल्दा नामिबियासँग नेपालको अर्को फराकिलो हार

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नामिबियासँग नेपाल ६३ रनले पराजित भएको छ । गएराति सम्पन्न खेलमा नामिबियाले दिएको २ सय रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा मात्र १ सय ३७ रनमै समेटियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन जोडे ।  ओपनर आसिफ शेखले ३२, मोहम्मद आदिल आलमले २०, रोहितकुमार पौडेलले १७ र पवन सर्राफले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नामिबियाका लागि बर्नार्ड स्कोलाड्जले पाँच, जन फ्राइलिंकले तीन र गेहार्ड इरास्मशले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङका लागि आएका नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ९९ रन बनायो । उसका लागि कप्तान हेहार्ड इरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले । उनले ७० बलमा चार चौका र एक छक्का प्रहार गरे ।

यसबाहेक डेविड भिसेले ३४, डिभान ला कक र जेजे स्मिथले २७/२७ रन बनाए । यस्तै, जन निकोल लोफ्टी इटोन र रुबेन ट्रम्पेलम्यानले १९/१९ रनको योगदान दिए । नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । किफायती बलिङ गरेका उनले १० ओभरमा ३ भन्दा तलको इकोनोमीसहित २९ रन मात्र खर्चिए ।

सोमपाल कामीले र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिँदा बसिर अहमेद एक विकेट हात पारे ।  जारी शृंखलामा नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यो जितसँगै नामिबिया अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । उसले १८ म्याच खेल्दा नौमा जित र नौ खेलमा हार बेहोरेको छ । 

छैटौं स्थानमा झरेको नेपालले १९ म्याचमध्ये १० मा हार र आठ खेलमा जित हात पारेको छ । नेपालले एक खेल बराबरी खेलेको छ ।  





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार ६:३५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया