जनार्दनमाथि छानबिन : निश्कर्ष नजिक समिति

करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्नेतिर केन्द्रित हुने समिति सदस्यहरूले बताएका छन् । 

अनाधिकृत व्यक्तिमार्फत करको दर हेरफेर गराएको भनी पश्न उठेपछि २२ असारमा प्रतिनिधिसभाले विशेष समिति गठन गरेको थियो ।  समितिलाई कार्य प्रारम्भ गरेको १० दिन भित्र प्रतिवेदन दिने कार्यादेश सभामुखले दिएका थिए । समितिले गत मंगलबारबाट मात्रै कार्य प्रारम्भ गरेको थियो । ६ दिनसम्म समितिले अर्थमन्त्रालयका बिभिन्न तहका कर्मचारीहरूसँग छलफल गरेको छ ।

छानबिन समितिमा समितिमा सांसदहरू खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन् । मानबहादुर विश्वकर्मा समितिमा पछि मिसिएका सदस्य हुन् । सांसद पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि उनको ठाउँमा विश्वकर्मा गएका हुन् ।   

छानबिन समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार आइतबार अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरूसँग पनि सोधपुछ भयो । आइतबार नै सीसीटीभीसँग सम्बन्धित काम गर्ने आईटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ भयो ।

उनका अनुसार भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशकहरू र अर्थ मन्त्रालयमा राजश्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरूसँग सोधपुछ भएको थियो ।

आइतबार त्यसैको निरन्तरताको रूपमा अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख र अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित काम गर्ने आईटीको इन्जिनियरसँग छलफल गरिएको हा । त्यसपछि बजेट महाशाखा प्रमुखसँग पनि छलफल भयो । राजश्व सचिवसँगको सोधपुछपछि अर्थमन्त्रालयका सचिवसँग छलफल गरेर अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग छलफल सकाएको हो । 



अब समितिले आन्तरिक छलफल गर्ने तयारी गरेको छ । यसका लागि सोमबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको छ । समिति सदस्यहरूका अनुसार निवर्तमान अर्थमन्त्री शर्मालाई नै बोलाएर छलफल गर्ने कार्यसूची पनि छ ।



  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार ९:४०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया