प्रदीप ज्ञवाली भन्छन्– कालो धनलाई सेतो बनाउन गभर्नरमाथि हमला भयो

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन् । सोमबार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको ‘उपभोक्ताको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । 

उपमहासचिव ज्ञवालीले कालो धनलाई सेतो बनाउनका लागि नै अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएको बताए । उनले अहिले गभर्नरमाथि बनाइएका बहाना भन्ने कुरा मात्रै रहेको उल्लेख गरे ।  

‘अर्को खतरनाक स्थिति कालो धनलाई सेतो बनाउने जुन ढंगका प्रयासहरू भए अहिले गभर्नरमाथिको हमला त्यही त हो । हिजो उहाँहरूले हटाउने प्रयास गर्नुभएकै हो । जम्माजम्मी कारण के? कसैले ल्यायो ४० करोड रुपैयाँ बाहिरबाट, श्रोत देखाउनुस् भन्यो श्रोत देखाउन सक्दैन । १७/१८ वटा फेक कम्पनीहरू छन्,’ ज्ञवालीले भने, ‘अमेरिकामा सोध्दा ती कम्पनीहरू कुनै पनि महत्व छैन । यो श्रोत गलत हो भन्छ, मन्त्रीजीले तोक लगाउनुहुन्छ, त्यो धनलाई तुरुन्त फुकुवा गर्नु । त्यो गर्न नमाने बापत राष्ट्र बैंकमाथि हमला भएको हो । अहिले बनाइएका सबै बहाना भन्ने कुरा मात्रै हुन् ।’

उनले राज्य डरलाग्दो रूपमा विचौलियाहरूको नियन्त्रणमा जान थालेको बताए । ज्ञवालीले अहिलेको गठबन्धन सरकारलाई राजनीतिक गठबन्धनको रुपमा व्याख्या गर्दै राजनीतिक गठबन्धनको आवरणमा रहेको वित्तिय गठबन्धनले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको आरोप लगाए । उनले हातहतियार सम्बन्धी सामाजिक सञ्जालमा भाइरल बनिरहेको भिडियोमा उल्लेखित वाक्य र व्यक्तिको दुस्साहसले नै अहिलेको गठबन्धनको तस्बिर देखाउने बताए ।  

‘राज्य एकदमै डरलाग्दो गरेर विचौलियाहरूको नियन्त्रणमा जान थालेको छ । राजनीतिक गठबन्धनप्रति हामीलाई कुनै आपत्ति छैन,माओवादीको कांग्रेसीकरण होस् वा काँग्रेसको माओवादीकरण हाम्रो आपत्तिको कुरा भएन, हामी आफ्नो ढंगले त्यसको सामना गर्नेछौँ । यो राजनीतिक विषय हो,’ ज्ञवालीले भने, ‘जनता सार्वभौम हुन्, जनताले जे फैसला गर्छन् त्यो हाम्रो निम्ति मञ्जुर छ । तर आज राजनीतिक गठबन्धनको आवरणमा जुन खतरनाक वित्तिय गठबन्धन छ । भ्रष्टाचारलाई, कालाबजारीयालाई, कमिसनतन्त्रलाई संरक्षण गर्ने, जुन एउटा खतरनाक वित्तिय गठबन्धन भइरहेको छ, मुलुकका निम्ति असाध्यै डरलाग्दो कुरा हो । अहिले एउटा भिडियो भाइरल छ, ८ वर्ष पुरानो होला तर त्यसले नेपालको अवस्थालाई दर्साउँछ ।’ 
 
उनले सरकार विद्युतीय सवारीसाधन मुख्य शहरमा चलाउने कुरामा गैर जिम्मेवार भएर बसिरहेको आरोप लगाए । उनले पछिल्लो समय बजारको अनुगमनमा पनि ध्यान नदिएको बताए । ज्ञवालीले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा पूर्व अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गर्न दिइ करका दर हेरफेर गरेको र सिसिटिभी फुटेज मेटाएको विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानबिन गर्ने र घटनालाई तोडमोड गर्न नदिने स्पष्ट पारे ।





  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार १३:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया