वडाध्यक्षले बैठकमै औषधि पाए एकैपटक २५ सय कुकुर मार्छु भनेपछि...

काठमाडौं महानगरपालिकाको आइतबारको छैटौं कार्यपालिका बैठकमा एक वडाध्यक्षले भुस्याहा कुकुर नियन्त्रणको बारेमा विवादास्पद अभिव्यक्ति दिए । उनको उक्त अभिव्यक्तिको अहिले पशु अधिकारकर्मी आलोचना गरिरहेका छन् । 

काठमाडौं महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्कीले बोर्ड बैठकमा भनेका थिए, ‘मैले त बजारमा औषधि खोजी रहेको थिएँ, बजारमा । बजारमा औषधि छैन, बजारमा औषधि पाएको भए २५ सय कुकुर एकै पटक मार्ने थिए । म पहिला पनि कुकुर मारेको मान्छे पनि हो ।’  

२०३९ सालतिर तत्कालिन काठमाडौं नगरपालिकाले नै कुकुर मार्न कर्मचारी खटाउने गरेको कुरा उनले सुनाए । कार्कीले त्यति बेला आफू वडा सदस्य भएको हुनाले कुकुर मार्ने कर्मचारीलाई कुकुर मार्न सहयोग गरेको पनि बताए । ‘नगरपालिकाले विगतमा बीस हालेर वा गोली हानेर कुकुर माथ्र्याे । हामीले त त्यतिबेला समूह नै बनाएर मारेको हो । म २०३९ देखि २०५९ सम्मको वडा सदस्य त्यतिबेला नगरपालिकाबाट कर्मचारी कुकुर मार्न औषधि लिएर आउँथे, त्यति बेला कति मारियो कति मारियो त्यसको कुनै हिसाब नै छैन । सरकारले कुकुर नियन्त्रण गर्दै भने मार्नुको विकल्प हुँदैन,’ उनले भने । 

वडाध्यक्ष कार्कीले कुकुरले लखेटेर गौचरणमा मान्छे मारेको अनुभव पनि सुनाए । ‘केही समय पहिले रातिको बेला एक जनाको बुढाबुढी अस्पतालबाट उपचार गरेर आएका रहेछन् । उनीहरूलाई कुकुरले लखेट्दा बुढाको चाहिँ बिजुलीको पोलमा ठोक्किएर ज्यान गयो,’ उनले भने ।

वडाध्यक्ष कार्कीेको अभिव्यक्तिलाई लिएर पशु अधिकारकर्मीले विरोध जनाएका छन् । कुकुर मार्ने कुरा न्यायसंगत नभएको उनीहरूको भनाइ छ । वडाध्यक्षको उक्त अभिव्यक्तिलाई लिएर पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले खेद प्रकट गरिन् । 

वडाध्यक्ष कार्कीले विगतमा कुकुर मारेको र कुकुर मार्ने औषधि खोजी रहेको भन्ने अभिव्यक्ति कानुनविपरीत भएकाले उनीविरुद्ध जाहेरी दिने तयारी रहेको श्रेष्ठको भनाइ छ । 



‘उहाँको विरुद्धमा मुद्दा दर्ता गर्ने तयारी गर्दैछौँ । कुकुर मार्नु हुँदैन भन्ने बारेमा उहाँलाई चेतना छैन । वडाध्यक्ष भएर त्यस्तो अभिव्यक्ति दिन मिल्दैन । कुकुर मार्नेलाई सजाय हुने कानुनी व्यवस्था छ । उनीविरुद्ध भोलि जाहेरी दिने तयारी छ,’ श्रेष्ठले भनिन्, ‘कुकुरको व्यवस्थापन भनेर महानगरपालिकाले करोडौँ रकम छुट्याएको छ । वडाध्यक्षले कुकुर मार्नु पर्छ कसरी भन्नुभयो । एउटा कुकुर र एउटा मानिसको महत्व उस्तै हो । थुप्रै एनिमल्स लभरहरूले मलाई म्यासेज गरिराख्नु भएको छ । हामी यसको विरुद्ध प्रदर्शन पनि गर्नेछौँ ।’



  • प्रकाशित मिति : साउन २, २०७९ साेमबार १४:१८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया