राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको माग भएको पुस्तक प्रकाशन गर्दै रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पाँचौं पुस्तक ‘विचारभन्दा माथि देश’ प्रकाशन गर्ने भएका छन् । पुस्तक छिट्टै बजारमा उपलब्ध हुने मिश्रले विज्ञप्तिमार्फत जनाएका छन् । पुस्तक नेपाल र विदेशबाट अनलाइन बुकिङ गर्न मिल्ने उल्लेख गरेका छन् । 

‘विचारभन्दा माथि देश’मा मिश्रले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भू–राजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन् ।

उनले नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना तथा सङ्घीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्नुपर्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘कुनै विषय सैद्धान्तिक रूपमा राम्रो भएर मात्र हुँदैन, त्यसले धरातलीय यथार्थसँग तादम्यता राख्नुपर्छ ।’ 

नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ र बिपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अङ्गीकार गर्नुको विकल्प नभएको उनको निष्कर्ष छ ।

‘हामीभन्दा माथिको पुस्ताले स्वार्थकेन्द्रित नभई राष्ट्र–केन्द्रित राजनीति गरिदिएको भए आज देशको अर्थतन्त्र, सहर/बजार र स्वाभिमानको स्थिति यति नाजुक हुने थिएन । ६०/७० लाख युवा बिदेसिन बाध्य हुने थिएनन् । आफ्नो सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो । आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम छन्, राजनीति गर्न पर्दैन । राजनीति भनेको देशकै लागि गर्ने हो । त्यसैले, कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर यी विषय उठाएको हुँ,’ मिश्रले पुस्तकमा लेखेका छन् ।

मिश्रले गत वर्ष विवेकशील साझा पार्टीको अध्यक्ष हुँदा सङ्घीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत सङ्ग्रह नेपालका लागि अत्यावश्यक रहेको बताउँदै ‘बहस र छलफल’का लागि एउटा दस्तावेज सार्वजनिक गरेका थिए । 



उक्त दस्तावेजमाथि देशभरबाट आम रूपमा प्राप्त प्रतिक्रिया, भएका छलफल र बहस तथा बढ्दै गएको देशको भू–राजनीतिक र आन्तरिक संवेदनशीलतालाई मनन गरेर त्यसलाई परिमार्जन र विस्तार गरी पुस्तकको रूप दिएको मिश्रले बताएका छन् ।



  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १३:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया